बैतडीका ३३ हजार घरधुरी अझै अँध्यारोमा

|

बैतडी : ०४२ मै विद्युत् पुगे पनि अझै बैतडीका ३३ हजारभन्दा बढी परिवार अँध्यारोमा बस्न बाध्य छन्। स्थानीय स्तरमा उत्पादित विद्युत्, भारतबाट ल्याइएको बिजुलीकासाथै अपी हाइड्रो पावर र चमेलिया जलविद्युत् आयोजना सम्पन्न हुँदासमेत बैतडीका अधिकांश परिवार विद्युत् सेवाको पहुँचमा छैनन्। त्यसो त बैतडी राष्ट्रिय प्रसारण लाइनमा समेत जोडिएको छ।

०४२ मै भारतबाट ११ केभी प्रसारण लाईनबाट बैतडी सदरमुकाममा बिजुली पुगेको थियो। त्यसपछि  ०४७ सालमा बैतडीको पाटनमा सुर्नयागाड साना जलविद्युतबाट दुई सय किलोवाट विद्युत उत्पादन भयो। ०५६ मा ३३ केभी राष्ट्रिय प्रसारणलाइन जोडियो। हाल ८ मेगावाटको अपी हाईड्रो पावर र ३० मेगावाटको चमेलिया जलविद्युत आयोजना बनिसक्दा पनि बैतडीका ३३ हजार भन्दा बढी परिवार अँध्यारोमा गुजरा चलाइरहेका छन्।

बैतडीका ४५ हजार १ सय ९१ घरधुरीमध्ये हालसम्म करिब १२ हजार घरधुरी मात्र विद्युत् सेवाको पहुँचमा छन्। विद्युत् वितरण केन्द्र बैतडीका प्राविधिक महानन्द जोशी ५ अर्व रुपैयाँ बजेट भए बैतडीका बाँकी ३३ हजार घरधुरीमा तीन वर्षभित्र बिजुली पुर्‍याउन सकिने बताउँछन्। विद्युत् भए पनि बजेट नहुँदा गाउँबस्तीमा लाइन विस्तार गर्न नसकिएको उनको भनाइ छ।

बैतडी र दार्चुलाको सीमा क्षेत्र बलाँचमा १० वर्षअघि निर्माण सुरु गरिएको चमेलिया जलविद्युत आयोजना सम्पन्न भइसकेको छ। आयोजनाबाट उत्पादित विद्युत मध्ये १५ मेगावाट बिजुली नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। आयोजनाले उत्पादित बिजुलीको १० प्रतिशत विद्युत स्थानीयलाई दिए पनि प्रभावित क्षेत्र बैतडी र दार्चुलाका बस्तीमा भने विद्युतीकरण हुनसकेको छैन।

ग्रामीण विद्युतीकरण सुस्त गतिमा

जिल्लाको च्वाँगढ, पुरचौडी, तल्लोस्वराड र डिलासैनी क्षेत्रका गाउँपालिकामा विद्युत पुगेको छैन। विद्युत नहुँदा अधिकाशं गाउँपालिकाको कामसमेत प्रभावित भएको छ। गाउँपालिकाको कामका लागि सोलार जडान गरिए पनि बादल लागेको दिन काम नै प्रभावित हुन्छ।

प्रत्येक वर्ष ग्रामिण विद्युतीकरणका लागि दुई करोडसम्म बजेट निकासा भइरहे पनि विद्युत् विस्तार भने हुन सकेको छैन। केही ठाउँमा वर्षौंदेखि पोल गाडिएको छ। तर विद्युत् पुगेको छैन।

जिल्लामै निर्माण भएका लघु जलविद्युत् आयोजनामध्ये पनि अधिकांश सञ्चालनमा आउन नसक्दा झण्डै ७० प्रतिशत नागरिक विद्युतको पहुँच बाहिर छन्। नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय र क्षेत्रीय कार्यालयले चासो नदेखाउँदा विद्युत विस्तारमा ढिलाई भएको विद्युत प्राधिकरण वितरण केन्द्र शाखा बैतडीले बताउँदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.