|

काठमाडौंः 'बिकिनी किलर'का रूपमा कुख्यात फ्रान्सेली नागरिक चार्ल्स शोभराज, साउदी नागरिक बाबरी, टर्कीका नागरिक एकराम ‌ओराम, अमेरिकी नागरिक केन्नेथ जोसेफ कोम्स, भारतीय नागरिक शेषनाथ प्रसादसम्मले अहिले काठमाडौं उपत्काका विभिन्न जेलमा कैदी जीवन भुक्तान गर्दै छन्।

६८ वर्षका फ्रान्सेली नागरिक चार्ल्स शोभराजमाथि विभिन्न मुलुकमा विभिन्न प्रकारका अपराध गरेको अभियोग छ। नेपालमा भने कर्तव्य ज्यान मुद्दामा उनी काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागारमा २५ वर्षका लागि जेल जीवन भुक्तान गर्दै छन्।

यसरी नै साउदी नागरिक ६५ वर्षका बाबरी नेपाल घुम्न आएकै बेला ठमेलस्थित एक होटलमा नेपाली महिलालाई जबर्जस्ती करणी गरेको मुद्दामा ७ वर्षका लागि सुन्धारास्थित केन्द्रीय कारागारमै जेल जीवन बिताउँदै छन्।

टर्कीका नागरिक ४२ वर्षका एकराम ‌ओरम बैंकिङ कसुरसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा छन्। उनलाई ठमेलस्थित रोयल पेन्गुइन होटलबाट पक्राउ गरी हाल ललितपुरस्थित नख्खु कारागारमा राखिएको छ।

अमेरिकी नागरिक केन्नेथ जोसेफ कोम्स मानव बेचबिखन तथा बालयौन दूराचार मुद्दामा काठमाडौं जिल्ला अदालतको १० बैसाख २०७४ को फैसलाअनुसार नख्खु जेलमा ९ वर्षका लागि जेल जीवन भुक्तान गर्दै छन्।

भारतीय नागरिक शेषनाथ प्रसादमाथि अमेरिकी डलरको अवैध कारोबार गरेको अभियोग छ। उनले विदेशी विनियम ऐनअनुसार धरौटी बुझाउन नसक्दा नख्खु जेलमै कैदी जीवन भुक्तान गर्नुपरेको हो।

उनीहरू नेपाली कारागारमा कैद भुक्तान गरिरहेका केही प्रतिनिधि विदेशी पात्र मात्र हुन्। कारागार व्यवस्थापन विभागको तथ्यांकअनुसार अहिले उपत्यकाका विभिन्न कारागारमा २६० र देशभरका विभिन्न कारागारमा साना ठूला अपराध गरेर जेल जीवन बिताउने विदेशीको संख्या एक हजार ७० रहेको छ। उनीहरूले नेपाली भूमिमा विभिन्न खालका अपराध गरेका कारण जेल जीवन बिताउनुपरेको हो।

'जेल जीवन बिताउनेमध्ये अधिकांश कैदीबन्दीहरू जाली नोट, कीर्ते राहदानी, हत्या, बलात्कार तथा लागूऔषध ओसारपसार जस्ता जघन्य अपराधमा सजाय भुक्तान गरिरहेका हुन्', कारागार व्यवस्थापन विभागका निर्देशक कृष्णप्रसाद आचार्यले भने। यसमा कतिपयले भने अदालतले तोकेको धरौटी रकम तिर्न नसक्दा जेल जीवन बिताउनुपरेको उनको भनाइ छ।

कारागार व्यवस्थापन विभागको तथ्यांकअनुसार सबैभन्दा बढी विदेशी कैदी पर्सा जिल्ला कारागारमा रहेका छन्। पर्सामा २२४ जना विदेशी कैदी रहेको विभागको तथ्यांक छ। 'यसमध्ये पनि सबैभन्दा बढी कैदी भारतीय छन्', उनले भने। सीमावर्ती र छिमेकी मुलुक भएकाले आवतजावतमा सजिलो हुने हुँदा भारतीय नागरिक बढी भएको उनले बताए।

प्रहरीका अनुसार नेपालमा आएर गैरकानुनी गतिविधि गर्ने विदेशी नागरिकले नेपालकै कानुनअनुसार सजायको भागिदार हुनुपर्छ। कैद भुक्तानपछि भने राहदानी लाग्ने मुलुकका कैदीलाई नेपालस्थित सम्बन्धित देशका दूतावासमार्फत र दूतावास नभएका देशका नागरिकको हकमा कुनै न कुनै सम्बन्धित मानिसको रोहवरमा आफ्नो देश फिर्ता पठाउने गरेको विभागका निर्देशक आचार्यले बताए।

उपत्यकाका कुन कारागारमा कति छन् विदेशी कैदी?

उपत्यकामा सबैभन्दा बढी विदेशी कैदी केन्द्रीय कारागार सुन्धारामा रहेका छन्। यसमा साना ठूला अपराध गरी कैद जीवन भुक्तान गर्नेको संख्या १७३ रहेको छ। यसपछि उपत्यकाको ललितपुर जिल्लास्थित नख्खु कारागारामा ६५ जना विदेशी नागरिकले कैद जीवन भुक्तान गर्दै छन् भने उपत्यकाको डिल्लीबजार कारागारमा २२ जना विदेशी नागरिकले कैदी जीवन बिताइरहेका छन्।

कति हुन्छ खर्च?

कारागार व्यवस्थापन विभागका अनुसार सरकारले विदेशी कैदीलाई दैनिक ७०० ग्राम चामल र ४५ रुपैयाँ भत्ता दिने गरको छ। यसबाहेक विभिन्न चाडवाडको समयमा प्रति व्यक्ति ३०० रुपैयाँका दरले पैसा दिने र बिरामी हुँदा औषधि उपचारसमेत सरकारले गर्ने गरेको छ। एक वर्षभन्दा बढी कैद भुक्तान गर्नेको हकमा भने वार्षिक दुई जोर कपडा पनि दिने गरेको विभागका निर्देशक आचार्यले बताए। विदेशी कैदीकै लागि वार्षीक करोडौँ रुपैयाँ खर्च हुने गरेको उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.