|

काठमाडौं : निर्वाचन आयोगले प्रदेशसभाका लागि समानुपातिकबाट निर्वाचित सांसदहरूलाई प्रमाणपत्र प्रदान गरेको छ।

आयोगको कार्यालय परिसरमा शुक्रबार एक कार्यक्रम आयोजना गरेर प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले प्रमाणपत्र प्रदान गरेका हुन्।

समानुपातिकतर्फ सातवटै प्रदेशमा १७२ महिला र ४८ पुरुष गरी २२० जना निर्वाचित भएका छन्। यो परिणाम गत मंसिर १० र २१ गते गरी दुई चरणमा भएको प्रदेशसभा निर्वाचनको हो। उक्त निर्वाचनमा प्रदेशतर्फ ४१ राजनीतिक दलले भाग लिएका थिए।

प्रदेशसभा सदस्यमा विभिन्न राजनीतिक दलका ६९ आदिवासी जनजाति, ६६ खस आर्य, १२ थारु, २९ दलित, ३७ मधेसी र सात मुसलमान उम्मेदवार विजयी भएको समानुपातिक निर्वाचन प्रणालीको निर्वाचन अधिकृत एवं आयोगका सचिव बेगेन्द्र शर्मा पौड्यालले जानकारी दिए।

सातवटै प्रदेशमा ५५० सांसद रहन्छन्। जसमध्ये पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट ३३० र समानुपातिक निर्वाचन प्रणालीबाट २२० जना निर्वाचित हुने संवैधानिक व्यवस्था रहेको छ।

प्रदेशसभा सदस्यमा सबैभन्दा कम उमेरकी २७ वर्षीया नेपाल मजदुर किसान पार्टीकी सिर्जना सैँजू छन् भने सबैभन्दा बढी वर्षका नेपाली कांग्रेसबाट ७८ वर्षीय बलदेव शर्मा पोखरेल निर्वाचित भएका छन्।

समानुपातिकतर्फबाट प्रदेशसभा सदस्यमा प्रदेश नम्बर १ बाट ३७, प्रदेश नम्बर २ बाट ४३, प्रदेश नम्बर ३ बाट ४४, प्रदेश नम्बर ४ बाट २४, प्रदेश नम्बर ५ बाट ३५, प्रदेश नम्बर ६ बाट १६ र प्रदेश नम्बर ७ बाट २१ जना निर्वाचित भएका छन्।

यी पनि पढ्नुहोस् : सातवटा प्रदेशसभामा कुन पार्टीबाट को को भए सांसद, हेर्नुस् सूची

                          कुन प्रदेशमा कुन पार्टीबाट को को बने समानुपातिक सांसद? सूचीसहित

सबैभन्दा कम उमेरकी समानुपातिक तर्फबाट प्रदेशसभा सदस्य निर्वाचित नेपाल मजदुर किसान पार्टीकी सिर्जना सैँजू प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवबाट प्रमाणपत्र बुझ्दै।

प्रदेशसभा सदस्यमा सबैभन्दा कम उमेरकी २७ वर्षीया नेमकिपाकी सिर्जना सैँजू र सबैभन्दा बढी उमेरका नेपाली कांग्रेसकाट ७८ वर्षीय बलदेव शर्मा पोखरेल। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.