|

दमक (झापा) : २०६२ सालसम्म झापाको गौरादह– १ का महेन्द्र मुर्मुको परिवार सुकुम्वासी थियो। जग्गावालाको घरमा परिवार नै कामदार बसेर गुजारा चलिरहेको थियो। अभिभावकले उनलाई कक्षा १२ सम्मको शिक्षा पनि यसरी नै दिए। उनका दाजु र दिदी पनि सानैदेखि कृषि मजदुरको रूपमा काम गर्थे। 

दुई बहिनीहरूको विद्यालय तह पार नभई विवाह भयो, घरजम भयो। यो परिवार अल्पसंख्यक सन्थाल जातिको एउटा प्रतिनिधिमूलक परिवार हो। 

सन्थाल झापा र मोरङमा बसोवास रहेको अल्पसंख्यक आदिवासीमा सूचीकृत समुदाय हो। यो जातिको परम्परागत पेसा माछा मार्ने, सिकार खेल्ने हो भने जीवन निर्वाहको आधार मजदुरी नै हो। त्यसैले यस जातिका अधिकांश घर झुप्रा, परालले छाएका र साँघुरा हुन्छन्। तर महेन्द्रको घर र स्वरूप भने फरक छ। उनको गाउँमा पक्का ढलान गरिएको सन्थाल जातिको घर नै उनको पहिलो हो। तर कतै चिट्ठा परेर वा दान अनुदान पाएर उनले यो घर बनाएका भने होइनन्। 

दुई पाठाबाट बंगुर पालन
०६६ सालमा एसएलसी उत्तीर्ण गरेका २९ वर्षका महेन्द्रले कक्षा ११ र १२ खर्च अभावका कारण अध्ययन गर्ने अवस्था थिएन। तर विद्यालयमा पुगेर आग्रह गरेपछि उनले छात्रवृत्ति पाए। छात्रवृत्ति पाए पनि उनले पढाइ छिचोल्न सकेनन्। विद्यालयबाहेक घरमा पढ्ने फुर्सदै हुँदैनथ्यो। पढाइ छाडेपछि उनले दुईवटा बंगुरका पाठा ऋण गरेर किने। घरैमा पाल्न थाले। 

उनको जीवन बदल्ने मोड यही बन्यो। ती बंगुर हुर्काएर बेचेपछि अरू थपे। ‘दुइटा पाठा त आफैँले खाएको जुठो खाएर पनि हुर्किए’, उनले भने, ‘ती बेचेर अरू दुइटा थपेपछि चाहिँ खोर बनाउन र दाना खुवाउन झनै समस्या भयो।’ त्यसपछि केही रकम ऋण खोजेर दुई बोरा दाना ल्याए र बाँस किनेर खोर बनाए। सँगै ब्रोइलर कुखुरा पनि घरैमा पाल्न थाले। ‘ब्रोइलर कुखुरा चाँडै हुर्किने भएकाले त्यसको बिक्रीबाट बंगुरका लागि दाना किन्न सजिलो भयो’, उनले अनुभव सुनाए, ‘खोई, मिहिनेतले काम गरेको भनौँ कि भाग्यले साथ दिएको भनौँ, सबै ऋण बेलैमा तिर्न सकियो र बंगुरका पाठा पनि थप्दै लान सजिलो भयो। अहिले त भ्याई नभ्याई छ।’

उनको खोरमा ४० वटासम्म बंगुर हुन्छन्। अहिलेचाहिँ पुरानो छिमल हटाएर नयाँ हाल्ने तयारीमा छन्। अहिले खोरमा १५ वटा मात्र छन्। गत वर्षदेखि उनले थप व्यावसायिक रूप दिँदै मुर्मु बंगुर फर्म दर्ता गराएका छन्। उनलाई बंगुर व्यववसाय प्रवद्र्धन राष्ट्रिय अभियानले पनि सघाएको छ। कार्यक्रमबाट पाएको एक लाख रुपैयाँ अनुदानबाट थप बंगुर थप्ने उनको तयारी छ। 

भारतसम्म निर्यात, अरूलाई रोजगारी
डेढ दशकसम्म बाबुआमाले पाखुरा नचलाएका दिन छाक नै कसरी टार्ने भन्ने पीर हुन्थ्यो। तर अहिले अवस्था फेरिएको छ उनको। उनले दुई जनालाई रोजगारीसमेत दिन सफल भएका छन्। उनी आफैँले घर नजिकैको बजार कमल गाउँपालिका– ७ को गेउरिया बजारमा मुर्मु फ्रेस हाउस सञ्चालन गरेका छन्। 

बंगुर पालनमा एक र फ्रेस हाउसमा एक गरी दुई जनालाई उनले रोजगारी दिएका छन्। ‘सबैतिर आफैँ भ्याइँदैन, त्यसैले दुई जना काम गर्ने सहयोगी पनि छन्’, उनले भने, ‘आफूले पालेका कुखुरा आफैँले काटेर बेच्ने भएकाले फाइदा पनि राम्रै हुन्छ।’

बंगुर पालनमा उनले मासुमा भन्दा पाठा बिक्रीमा जोड दिएका छन्। मासुका लागि पाल्दा धेरै समय पाल्नुपर्ने तर पाठा बेच्दा छिट्टै पैसा चलाइरहन पाइने उनी बताउँछन्। उनले उत्पादन गरेका बंगुरका पाठा भारतका विभिन्न बजारसम्म पुग्छन् भने धेरैचाहिँ स्थानीय र धरानमा खपत हुन्छ। 

६ वर्षमा थप जग्गा र घर
०६८ सालदेखि व्यावसायिक बंगुर पालन थालेका उनले यसबीचमा डेढ कट्ठा जग्गा किनेका छन्। करिव ४० लाखको लागतमा पक्की घर पनि बनाएका छन्। परिवारको साथ पाएको र व्यवसायले पनि गति लिएकाले छिट्टै लाभ लिन सकेको उनी बताउँछन्। ‘सगोलमा बसेपछि घरायसी खर्च पनि गर्नै पर्छ, सबै पैसा त बचाउन सकिँदैन। तर सबैको साथ पाएकाले घडेरी किन्न र घर बनाउनचाहिँ सकियो’, उनले खुसी व्यक्त गर्दा श्याम वर्णका महेन्द्रका अनुहारमा उज्यालो चमक छायो। 

यहीबीच उनको परिवारमा चारवटा विवाह भए। दिदी र दुई बहिनीको विवाह उतार्ने जिम्मा उनैको थियो। दाजुले केही वर्षअघि नै विवाह गरिसकेका थिए। उनको छुट्टै कारोवार। घरमा उनको पनि विवाहको आवश्यकता महसुस भयो। त्यसैले तीनवटा विवाह उतारेका उनले पनि गत वर्ष विवाह गरे।

‘चारवटा विहे खुरुखुरु गर्नुपर्‍यो, कम्तिमा चार लाख त यसैमा सकियो’, आम्दानीको हिसाब सुनाउँदा चमक छाएको उनको मुहारमा केही खिन्नता पोखियो, ‘तर पनि केही छैन, व्यवसायले साथ दिएकै छ। पैसा त अझै पनि कमाउन सकिहालिन्छ नि!’

परिवारको भर उनैमाथि
परिवारको कान्छो छोरो भए पनि भर उनैको हो। दाजु भाउजु अझै पनि अर्कैको घरमा मजदुरी गर्छन्। उनीहरूका एक छोरा र एक छोरीका अभिभावक पनि उनै हुन्। 

खर्च अभावका कारण चाहेजति पढ्न नपाए पनि उनले दाजुका छोराछोरीलाई बोर्डिङ स्कुलमा पढाएका छन्। ‘आफूले पनि धेरै पढ्न सकिएन, दाजुले पनि खासै पढेन। त्यसैले नानीहरूलाई चाहिँ सकेजति पढाउने विचार छ’, उनले थपे, ‘भतिजो राहुल एलकेजीमा पढ्दै छ, भतिजी अप्सरा ४ कक्षा पुगी। उनीहरूले चाहेजति पढाउनेछु।’

समुदायप्रतिको चिन्ता
व्यावसायिकतासँगै उनले सामाजिक जिम्मेवारी पनि बढाएका छन्। सन्थाल युवा संघका उनी केन्द्रीय सदस्य हुन्। आफ्नो समुदायमा सबैभन्दा ठूलो आवश्यकता शिक्षाको देख्छन् उनी। ‘पहिला सन्थालहरूको पनि दशौँ विगाहासम्म जग्गा थियो तर सबै अहिले सकियो, धेरै सुकुम्वासी छन्’, समुदायप्रतिको चिन्ता व्यक्त गर्दै उनले भने, ‘कयौँ जग्गाधनी सन्थालहरूले जाँडरक्सी खाएर अनि रमाइलो गरेर जग्गा सके, केहीचाहिँ टाठाबाठा जातिका तमसुकमा फसे।’ 

यदि सबै सन्थाल बालबालिकाहरूलाई सहज ढंगबाट उच्च शिक्षा दिन सके आउँदो पुस्ताको यही हविगत नहुने उनको ठम्याइ छ। अहिले हुर्किएको पुस्तामध्ये धेरै युवाहरू भारतमा मजदुरीका लागि जाने गरेका छन्। तेस्रो देश जाने खर्चसमेत नभएकाले धेरै सन्थाल युवाको रोजगारीको गन्तव्य भारत हुने गरेको छ। तर यहीँ गरी खान सक्ने गरी सीप र सहज ऋणको व्यवस्था सरकारले गर्न सके अरू सन्थालहरूको पनि अवस्था फेरिने उनको धारणा छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.