|

कालीकोट : राष्ट्रिय सडक संजालले नछोएको डोल्पाको सदरमुकाम दुनै सडक जोडिन अब ३ किलोमिटर मात्रै बाँकी रहेको छ। नेपाली सेनाद्वारा निर्माण भइरहेको जाजरकोट–डोल्पा सडक खण्डअन्तर्गत श्रीविण्डे–त्रिपुराकोट खण्डको निर्माण कार्य ३ किलोमिटर मात्र बाँकी रहेको हो। 

जाजरकोट–डोल्पा सडक खण्डको कुल लम्बाइ ११७.७ किलोमिटरमध्ये ११४.७ किमी सडक सेनाले निर्माण कार्य पूरा गरिसकेको छ।

डोल्पाको दुनैसम्म सडक जोड्नका लागि श्रीविण्डे–त्रिपुराकोट खण्डको तीन किलोमिटर मात्रै निर्माण कार्य बाँकी रहेको जाजरकोट–डोल्पा सडक निर्माण कार्यदलका प्रमुख कर्णेल विश्वबन्धु पहाडीले बताए। ‘अहिले जाजरकोट–डोल्पा सडक खण्डको श्रीविण्डे–त्रिपुराकोट खण्डमा सडक निर्माण कार्य भइरहेको छ, उक्त खण्ड भिर पहरायुक्त भएकाले निर्माण कार्यमा चुनौती भए पनि सेनाले ज्यानको बाजी लगाउँदै काम गरिरहेको छ।’

उनले उक्त खण्डका श्रीविण्डे, सिउरेनी, चिप्ले, चुँगाडलगायतका दर्जनौँ स्थानमा कम्प्रेसर मेसिन राखेर काम तीव्र पारिएको छ। उक्त खण्डकै धाउनेमा निर्माण बेस खडा गरेर सेनाले युद्धस्तरमा काम गरिहेको जानकारी पनि दिए।

अब माघ दोस्रो साताभित्रै रुकुम–डोल्पा सिमानामा पर्ने त्रिवेणी बजारदेखि त्रिपुरासुन्दरी नगरपालिकाको श्रीविण्डेसम्मको सडकखण्ड उद्घाटन गर्ने तयारी  नेपाली सेनाले गरेको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.