|

बाँके : चिट्ठा परेको भनी झुक्याएर ठगी गर्ने गिरोहलाई शुक्रबार बाँके प्रहरीले पक्राउ गरेको छ। 

विभिन्न जिल्लाका सर्वसाधारणलाई पाकिस्तानी नम्बरबाट फोन गर्ने, भाइबर, ह्वाट एपमा म्यासेज पठाउने, भ्वाइस कल गरी २५ लाख रुपैयाँ चिठ्ठा परेको छ भनी झुक्याएर ठगी गर्ने, कार, गाडी पुरस्कार परेको भन्दै रकम माग्नेको पहिचान गरी पक्राउ गरिएको बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अर्यालले जानकारी दिए। 

उनले झुक्याएर रकम ठगी गर्ने भारत लखनऊका २२ वर्षका अब्बु सैयफ खान, नेपालगंज उपमहानगरपालिका– ५ का २२ वर्षका अकिव इद्रिसी, नेपालगंज उपमहानगरपालिका– ६ का १९ वर्षका मोहम्मद फाहद हलुवाई र नेपालगंज उपमहानगरपालिका– ५ का २१ वर्षका अमीरबाबु कसगरलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको बताए। 

उनले अन्यत्रबाट पनि उजुरी आउने क्रम जारी रहेकाले थप अनुसन्धान भइरहेको जानकारी दिए। ‘पक्राउ परेकाहरूको सम्बन्ध, सम्पर्क कतै छ कि भनेर खोजी भइरहेको छ’, उनले भने। 

पक्राउ परेकाहरूले विगत एक महिनादेखि मुगु घर भई  काठमाडौं बस्दै आएका सुमन सुनार र कपिलवस्तु वाणगंगाका गणेश घिमिरेसँग पाँच लाख १० हजार रुपैयाँ लिइसकेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ। 

यीबाहेक उनीहरूले अन्य व्यक्तिलाई पनि ठगी गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.