|

बाँके : नेपालगंजलाई प्रदेश नम्बर– ५ को राजधानी घोषणा गर्नुपर्ने माग गर्दै शुक्रबार नेपालगंजमा पनि प्रदर्शन भएको छ। 

नेपाल बार एसोसिएसनको प्रांगणबाट निस्किएको र्‍याली सदरलाइन, त्रिभुनव चोक, घरबारी टोल, धम्बोझी चोक हुँदै वीपी चोकमा पुगेर कोणसभामा परिणत भएको थियो। 

कोणसभालाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य मोहम्मद इस्तियाक राईले नेपालगंजलाई प्रदेश नम्बर– ५ को राजधानी घोषणा नगरिए आठौँ प्रदेशको जन्म हुने चेतावनी दिए।

राज्यको अवैज्ञानिक निर्णय अस्वीकार गर्दै असहयोग आन्दोलन गर्न बाध्य भएको उनले बताए। ‘समयमै राज्य सचेत नभए जस्तोसुकै मूल्य चुकाउन तयार छौँ’, उनले भने। 

दुई दिनअघि मन्त्रिपरिषद्ले गरेको प्रदेशको अस्थायी राजधानीसम्बन्धी निर्णयको विरोधमा घरघरमा कालो झण्डा राख्न बाँकेवासीलाई सांसद राईले आग्रह पनि गरे। प्रदेशसभा सदस्यद्वय सुरेन्द्र हमाल र आईपी खरेलले नेपालगंजलाई प्रदेश राजधानी कायम नगरे ५ नम्बर प्रदेशबाट बाँके जिल्ला अलग हुने चेतावनी दिए।

उक्त क्रममा नेपाल बार एसोसिएसनका केन्द्रीय उपाध्यक्ष शालिकराम सापकोटा, नेपालगंज उपमहानगरपालिकाका प्रमुख डा. धवलशमशेर राणा, एमाले बाँकेका उपाध्यक्ष निरक गुरुङ, इन्जिनियर्स एसोसिएसन बाँकेका निमेश शर्मा, पापड बाँके एवम् उच्च अदालत बार एसोसिएसन नेपालगंजका अध्यक्ष बलबहादुर चन्दलगायतले सम्बोधन गरेका थिए। 

शान्ति र लोकतन्त्रका लागि पेसागत संजाल (पापड) बाँकेको अगुवाइमा भएको प्रदर्शनमा राजनीतिक दल, नागरिक समाजका अगुवा, व्यापारी, उद्योगीलगायतको सहभागिता रहेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.