|

सुनसरी : सीएफएल बल्ब सेट खरिदमा त्रुटि भएको इटहरी उपमहानगरपालिकाका जनप्रतिनिधिहरूले स्वीकार गरेका छन्। 

शुक्रबार बिहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपमहानगर प्रमुख द्वारिकालाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले कर्मचारीबाट त्रुटि भएको बताए। जिन्सी तथा लेखा शाखाबाट त्रुटि भएको प्रतिवेदनले समेत औँल्याएको थियो। 

अघिल्ला कार्यकारी अधिकृत सागर मिश्रले दुई महिना कार्यरत रहेको समयमा अघिल्लो वर्षको समेत गरेर ९७ लाख रुपैयाँ निकासा गरेका थिए। कर्मचारीहरूको गल्ती भए पनि उनीहरूलाई कारवाही गर्ने अधिकार भने आफूहरूसँग नरहेको उपप्रमुख गौतमको भनाइ थियो। उनले उपमहानगरपालिका कार्यपालिकाले बनाएको छानविन समितिबाट आफूहरूले पाएको प्रतिवेदन अख्तियारलाई बुझाएको समेत बताइन्। 

प्रमुख चौधरीले भने कारवाहीको पहिलो कदम स्वरूप गल्ती गर्ने शाखाका कर्मचारीहरूलाई स्पष्टीकरण सोधिएको बताए। उनले भ्रष्टाचारको पक्षमा आफूहरू नरहेको बताउँदै प्रक्रियासम्मत तरिकाले काम गरिरहेकाले सहयोग गर्न आग्रह गरे। उनले आफूलाई भ्रष्टाचारीझैँ मिडिया र सामाजिक संजालमा चित्रित गरिएको भन्दै दुखेसोसमेत गरे। 

चौधरीले बजेटको सीमा हुँदा र टेण्डर प्रक्रिया चलिरहँदा सीएफएलका लागि हतार गर्ने वडा अध्यक्षसमेत जिम्मेवार रहेको बताए। उनले अघिल्ला कार्यकारी अधिकृत सागर मिश्रले आफूलाई नसोधी नै प्रक्रिया मिचेर भुक्तानी दिएको आरोप लगाए। कार्यक्रममा उपस्थित वरिष्ठ इन्जिनियर अर्जुन दाहालले प्रतिवेदन नै अपूरो आएको बताए।

कार्यक्रममा उपस्थित छानविन समितिका सदस्य चन्द्र भट्टराईले छानविन समितिले गहिराइमा गएर छानविन गर्न नपाएको जानकारी दिए। उनले समय र जनशक्ति अभावले दोषीसम्म किटान गर्ने अवस्था नरहेको स्पष्ट पार्दै खरिद प्रक्रिया भने मिचिएको स्वीकार गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.