देउवा : तपाईहरूले भन्नुभयो तर म छोड्दिनँ, पौडेल : ज्यानभन्दा पार्टी प्यारो छ

|

काठमाडौं : प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा भोगेको पराजयपछि नेपाली कांग्रेसभित्र शीर्ष नेता र यूवा नेताबीचको तिक्तता झन बढेको छ।

राष्ट्रियसभा निर्वाचनको विषयमा छलफल गर्ने भनेर बिहीबारदेखि सुरु पार्टी केन्द्रीय कार्य समिति बैठकमा शीर्ष नेताहरुले जस्तोसुकै हालतमा पनि पद नछाड्ने अड्डी कसेका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार सम्पन्न बैठकमा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्वाचनमा भोगेको पराजयको जिम्मेवालरी लिँदै पार्टीको पदबाट हट्न नसकिने अड्डी कसेका हुन्।

'निर्वाचनमा कांग्रेस पराजय हुनुको कारण पार्टीको शीर्ष तहको कमजोरी हो भनेर अधिकांश केन्द्रीय सदस्यले धारणा राखेका थिए’, केन्द्रीय सदस्य उमाकान्त चौधरीले थाहाखबरसँग भने, ‘तर सभापतिज्यूले त तपाईंहरु भन्दै गर्नुस् ठीकै छ, तर म पद छोड्नेवाला छैन भनेर सारा नेतालाई डाइलग दिनु भयो।’

बैठकमा सभापति देउवाले पार्टीको नेतृत्व तहलाई नालायक भनेर आलोचना गर्ने युवा नेताहरुलाई पनि राष्ट्रिय सभाको आगामी निर्वाचनमा कांग्रेसलाई जिताएर देखाउन चेतावनी दिएका थिए। सभापति देउवाले यूवा नेता गगन थापाको अभिव्यक्तिप्रति संकेत गर्दै भनेका थिए ‘ए हामी नालायक नैं भयौं अरे, अब लायकहरुले राष्ट्रिय सभामा हाम्रा साथीलाई जिताएर देखाए भो नी, तर म पद छोड्ने छैन।’

पार्टीका पूर्व कार्यवाहक सभापति समेत रहेका नेता पौडेलले पनि पार्टी आफूलाई ज्यान भन्दा प्यारो भएको धारणा व्यक्त गरेका थिए। पौडेलको भनाई उधृत गर्दै एक नेताले भने, ‘मलाई मेरो ज्यानभन्दा प्यारो नेपाली कांग्रेस र लोकतन्त्र नैं छ, त्यसैले मैले नमरुञ्जेल छाड्न (पद) सक्दिनँ।’ 

यूवा नेता गगन थापा, केन्द्रीय सदस्य प्रदीप पौडेल र उमाकान्त चौधरीले भनाई राख्दा सभापति देउवाले बारम्बार प्रतिकार गरेका थिए। नेता चौधरीले भनाइ राख्दा देउवाले 'राष्ट्रिय सभाको चुनावमा तिमीले भनेको उम्मेदवार बनाउ अनि चुनाव जितेर देखाए हुन्छ’ भनेर जवाफ फर्काएका थिए। 

देउवाको जवाफपछि चौधरीले जवाफ दिएका थिए, 'प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकमा जित्ने ठाउँमा आफ्नो गोजीबाट मान्छे छान्ने नि अब राष्ट्रियसभामा चाहीँ हामीलाई जिताउ भन्ने?' भन्दै प्रतिकार गरेका थिए। 'देउवाले हिजो आइजीपी प्रकरणमा मलाई आलोचना गर्नेहरुले आज नवराज सिलवाल कस्तो रहेछ भन्ने चिन्ने बेला आएको' समेत भनेका थिए। 

देउवाले राजदूत नियुक्ति, प्रधानन्यायधीश महाभियोग प्रकरण र लोकमान प्रकरणमा पार्टीले लिएको अडान ठीक भएको जिकिर गर्दै 'शुसीला कार्की महाभियोग प्रकरणमा महाभियोग फिर्ता लिनुको कारण बताउन चाहँदिन' भनेका थिए।

कुन नेताले केन्द्रीय समितिमा के भने?

कृष्णप्रसाद सिटौला : प्रतिनिधसभा समानुपातिकतर्फको उम्मेदवारको नाम छनोट गर्दा संसदीय बोर्डका सबै साथीहरुसँग राय सल्लाह नगरिएकै हो। कुन व्यक्ति उम्मेदवार भए भनेर हामीले भन्दै हिँडेको भए निर्वाचनमा यो भन्दा खराब हालत हुन्थ्यो। हामीले त्यो बेला नबोलेरै सहेरै बसेका हौँ। त्यसबेला प्रतिकार गर्न नसकेकै हो। निर्वाचनलाई असर गर्छ र पार्टीलाई क्षति हुन्छ भनेर बाहिर मात्र नबोलेका हौँ।

अर्जुनजी (अर्जुननरसिंह केसी)ले  संसदीय बोर्डमा आफू भएपनि समानुपातिक उम्मेदवारको नाम हेर्न नपाएको भन्नु सत्य हो। मैले पनि हेर्न पाईनँ। सभापतिजीले त देखाउनु भएन भएन, रामचन्द्रजीले त देखाएको भए हुन्थ्यो नी! उहाँले पनि मलाई देखाउनु भएन। समानुपातिकमा क-कसलाई राख्ने भन्ने कुराको जानकारी शेरबहादुरजी र रामचन्द्रजीलाई मात्र थाहा थियो।

हामीले नै विधान बमोजिम कार्य सम्पादन समिति र संसदीय बोर्ड गठन गर्न नसकेको भनेपछि अब यसलाई राखिराख्नु हुँदैन। 

गगन थापा : हाम्रो पार्टी नेतृत्व तहले र पुराना नेताले देश र जनता अनि पार्टीको लागि धेरै योगदान दिनुभयो। तपाईंहरुले योगदान मात्र होइन, धेरै अवसरको पनि अनुभव गर्नु भएकै छ। एउटै कार्यशैली र सोच व्यवहार भएका नेतृत्वबाट अब कांग्रेस चल्दैन। तपाईंहरु अब पार्टीको अभिभावक बन्नुस र नेतृत्व दोश्रो पुस्तालाई हस्तान्तरण गर्नुस।

हालको नेतृत्व डेट एक्पाएर भइसक्यो। यस्तो ढर्राले अब पार्टीलाई गतिशील र जीवन्त बनाउन सकिदैन। हामीले नेतृत्व नैं परिवर्तन गर्नु पर्ने उदेश्यले महासमिति बैठक बोलाउँदै गर्दा महासमिति बैठकलाई केबल पदाधिकारीको सख्या थप्ने सिंढी बनाउन पाइँदैन। पदाधिकारी थप्ने आदेश दिनको लागि महासमिति बैठक बोलाउने हो भने त्यो प्रत्युत्पादक हुनेछ। 

पूर्णबहादुर खड्का : पार्टी सभापति शेरबहादुर देउवाले प्रदेश सभा  र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरेर ऐतिहासिक कार्य सम्पन्न गरेको भन्दै उनको बचाउ गरेका थिए। खड्काले लोकतन्त्रको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान कार्यान्वयन गर्न देउवाले चुनाव गराउनु उपलब्धीमूलक घटना भएको बताएका थिए।

'कार्य सम्पादन समिति र संसदीय समिति गठन गर्दा रामचन्द्रजीहरुको पनि सल्लाह र समर्थनमा गरिएको हो। सभापतिलाई मात्र दोष दिन पाइदैन। सभापतिले हरेक निर्णय वरिष्ठ नेता पौडेल र पदाधिकारीलाई राखेरै गर्नु भएको हो।'

उमाकान्त चौधरी : कार्यसम्पादन समिति र संसदीय समितिमा बसेर उम्मेदवार छनोटदेखि महत्वपूर्ण निर्णय गर्दा केही नबोल्ने, अहिले आएर ति दुवै निकाय अवैधानिक भयो भन्न पाइदैन। अवैधानिक थियो भने हिजो रामचन्द्रजीहरुले किन बोल्नु भएन?

संसदीय बोर्डका सदस्यलाई समानुपातिक उम्मेदवारको नाम पनि नदेखाउनु भनेको नेतृत्वको तानाशाही प्रवृति हो। यस्तो अपारदर्शी नेतृत्वबाट पार्टी चल्दैन। पार्टीलाई सस्थागत ढंगले चलाउन मूल्याङ्कन गर्ने प्रवृति हुनुपर्छ। समानुपातिक र प्रत्यक्षतर्फ उम्मेदवार छनोट गर्दा पैसावाला, आफु निकटको र नातागोतालाई प्राथमिकता दिँदा निर्वाचन परिणाम पार्टीको पक्षमा नआएको हो।

सरकारले राजधानी तोक्दा, विगतमा प्रदेश छुट्उँदा नेतालाई दाईजो दिए जस्तै प्रदेशको राजधानी पनि पार्टी नेतालाई दाइजो दिइएको छ। त्यसको उदाहरण आज राजधानी तोक्दा देखियो। प्रत्यक्षतर्फ पार्टी तेश्रो स्थानमा झर्दा समेत पार्टीले चुनावमा पराजय भोगेको छैन भन्नु लाजमर्दो विषय हो।

किशोरसिंह राठौर : कांग्रेस पार्टीले समानुपातिकमा एमालेको झण्डै समान हैसियतमा मत ल्याउँदा समेत पार्टीलाई आइसीयूमा छ भनेर बताउने व्यक्ति कसरी प्रवक्ता बनाइयो? सभापति र नेतृत्वको आलोचना गरेर हुँदैन। सभापतिले निर्वाचनमा यति कठोर भएर निर्णय नगरेको भए संविधान कार्यन्वयन नै हुदैन थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.