|
तस्विर– नयाँ पत्रिका

बाँके : भेरी अञ्चल अस्पतालका स्वास्थ्यकर्मीको लापरबाहीले बर्दिया बढैयाताल गाउँपालिका–३ सोरहवाकी २२ वर्षीया रुमा थारूको दुवै मिर्गौलाले काम गर्न छाडेको छ। रक्तस्राव भएपछि उपचार गर्न आएकी उनलाई अर्कै समूहको रगत चढाइएपछि जीवनमरणको दोसाँधमा पुगेकी छिन्।

महिनावारी हुँदा अत्यधिक रक्तस्राव भएपछि परिवारले रुमालाई गत पुस २१ गते अस्पताल भर्ना गरेको थियो। ‘ओ’ पोजेटिभ रगत समूह भएकी उनलाई अस्पतालका स्वास्थ्यकर्मीले ‘बी’ पोजेटिभ चढाएका थिए। जसले उनको दुवै मिर्गौलाले काम गर्न छाडेको छ।

रुमाको अहिले भेरी अञ्चल अस्पतालको आइसियूमा राखेर उपचार भइरहको छ। अस्पतालले आइसियू, डाइग्नोसिस र औषधिमा लाग्ने सबै खर्च बेहोरिरहेको छ। तर, यहाँ उपचार सम्भव नभएको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण आचार्यले बताए।

शुक्रबारदेखि उनको स्वास्थ्य अवस्था झनै नाजुक बनेको छ। मुख सुन्निएको छ, सहन नसक्ने गरी पेट दुख्न थालेको डा. आचार्यले बताए। उनलाई दुखाइ कम गर्ने कडा खालको औषधि दिइएको उनले बताए। ‘बिरामीको स्वास्थ्य अवस्थाको प्रकृति हेर्दा दिनप्रतिदिन जटिल बन्दै गएको छ,’ डा. आचार्यले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.