|

पछिल्लो समय स्पेनिस ला लिगामा खराब प्रदर्शन गरिरहेका क्रिस्टियानो रोनाल्डोले रियल म्याड्रिडसमक्ष नयाँ माग राखेका छन्। सन् २०२१ सम्म रियलमै रहन रोनाल्डोले प्रतिसाता ३ लाख ६० हजार पाउण्ड पारिश्रमिक हुनुपर्ने माग व्यवस्थापकसँग राखेको स्पेनिस मिडियाले जनाएका छन्।

उनले मेसीको बराबर पारिश्रमिक नभए क्लब छोड्न सक्ने चेतावनी पनि क्लब अध्यक्षलाई दिएको स्पेनिस मिडियाहरुले जनाएका छन्।

यसै साता भिल्लारियलसँग १–० ले स्तब्ध भएपछि रियलका अध्यक्ष फलोरेन्ट परेजले स्टार खेलाडीको बहिर्गमन हुन सक्ने चेतावनी दिएपछि रोनाल्डोले पनि अध्यक्षलाई भेटेरै बाहिरिने धम्की दिएका हुन्।

पछिल्लो समय लियोनल मेसीप्रेरित बार्सिलोनाले यस सिजनमा लिगमा दमदार प्रदर्शन जारी राखेको छ। साबिक विजेता रियलमाथि स्पष्ट १९ अंकको अग्रता लिँदै बार्सिलोना उपाधि होडमा एक्लै अगाडि बढिरहेको छ। बार्सिलोनाले आफ्ना प्रमुख स्टार खेलाडी मेसीको प्रतिसाता पारिश्रमिक ३ लाख ५५ हजार पाउण्ड तोकेको छ।

स्पेनिस लिगको पछिल्ला १२ खेलमा ४ गोल मात्र गरेका रोनाल्डोले मेसीबराबर नै सुविधा हुनुपर्ने माग राखेपछि रियल दुविधामा परेको छ। मेसीले समग्रमा बार्सिलोनाबाट वार्षिक १ करोड ८६ लाख पाउण्ड  थाप्ने गरेका छन्।

वाचा पूरा नभएपछि रोनाल्डोको आक्रोश

गत वर्ष रियलले प्रमुख पाँच उपाधि जित्दा रोनाल्डो नै नायक बनेका थिए। पाँच वर्षपछि स्पेनिस लिग तथा च्याम्पियन्स लिगको उपाधि रक्षा गर्दा रोनाल्डोले ‘म्याच विनिङ’ प्रदर्शन गरेका थिए। त्यसै प्रदर्शनका आधारमा रियलका अध्यक्ष परेजले रोनाल्डोको पारिश्रमिक र सुविधा बढाउने वाचा गरेका थिए।

तर, यो सिजनको लिगमा अन्यन्तै खराब प्रदर्शन गरेपछि रोनाल्डोसँग गत वर्ष गरेको सम्झौता परेजले पूरा गरेका छैनन्। ‘रोनाल्डोलाई खुसी पार्न परेजले गोप्य रूपमा सम्झौता गरेका थिए तर उनले अहिलेको नतिजाअनुसार सम्झौता पूरा गर्ने छाँटकाँट देखाएका छैनन्’ एल मार्काले जनाएको छ।

नयाँ गन्तव्य खोज्दै रोनाल्डो

रियलमा विस्तारै साख गुमाउँदै गएका रोनाल्डोले अब नयाँ गन्तव्यका रूपमा इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेड प्रुमख लक्ष्यका रुपमा राखेका छन्। पुरानो क्लब नभए अन्य इंग्लिस क्लब पनि उनको रोजाइमा पर्नेछन्। आर्सनलले पनि रोनाल्डोलाई भित्र्याउने प्रयास गरिरहेको जनाइएको छ। सन् २००९ मा आठ करोड पाउण्डमा रोनाल्डो युनाइटेडबाटै रियलमा अनुबन्धित भएका थिए।

रियलमा पाँच वर्षको सम्झौता बाँकी रहँदा रोनाल्डो ‘लोन’ वा फ्री ट्रान्सफरका रूपमा युनाइटेड जानसक्ने अनुमान गरएको छ। तर युनाइटेडले आर्सनल स्टार एलेक्स सान्चेजलाई टिममा भित्र्याउने अन्तिम तयारी गरेपछि रोनाल्डोको युनाइटेड सपना पूरा नहुने संकेत देखिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.