|

  • रामचन्द्र न्यौपाने

डोल्पा : 'सिंहदरबारको अधिकार घरदैलोमा' भन्ने कुरा डोल्पाली जनताको हकमा भने लागू हुन सकेको छैन। विकट हिमाली जिल्ला डोल्पामा काम परेका बेला जनप्रतिनिधि र कर्मचारी नभेटिने गरेपछि यहाँका नागरिकले विगतदेखि खेपिरहेको सास्ती पहिलेको भन्दा भिन्न छैन।  

जिल्लाका आठ स्थानीय तहमध्ये अधिकांश स्थानीय तहमा सचिव र अध्यक्ष कार्यालयमा नभेटिने गरेपछि नागरिकलाई पञ्जिकरण, सिफारिसलगायत सुविधा लिन समस्या भएको छ।  

दुई नगरपालिका र छ गाउँपालिकाका ६५ वटा वडा रहेको डोल्पामा १८ वडा सचिवले सबै वडा धानेका छन्। बाँकी ४७ वटा वडा सचिवविहीन छन् । ‘एघार वडा रहेको ठूलीभेरी नगरपालिकामा एक जना मात्र वडा सचिव छन्, कोही नभएपछि दिनमा सेवा लिन आउने २० देखि ३० जनाको काम म गरिदिन्छु”, ठूलीभेरी नगरपालिकाका सहजकर्ता दिलु केसीले बताइन्।

शे–फोक्सुण्डो गाउँपालिकाका नागरिक सात दिन लगाएर नागरिकता र नाबालक परिचयपत्र बनाउन सदरमुकाम दुनै पुग्दा सचिव नभेट्दा काम नभएको शे–फोक्सुण्डो– २ का कुञ्जाङ गुरुङले बताए। वडा सचिव र अध्यक्ष नभएपछि सिफारिशका लागि दिनभर जिल्ला समन्वय समितिका सहसंयोजकको घरमा बसेर सिफारिश ल्याएको गुनासो छ छिरिक फुँञ्जो गुरुङको। जनप्रतिनिधि र कर्मचारी नभेटिँदा उनीहरुको घरघर धाउँदै हप्तौं बितेको उनीहरुले बताए। गाउँगाउँमा सिंहदरबार पुगेको बताइए पनि उपल्लो डोल्पावासीलाई सचिव र अध्यक्ष खोज्दै हप्तौँ हिँडेर सदरमुकाम पुग्नुपर्ने बाध्यता कायमै रहेको उपल्लो डोल्पावासीको गुनासो छ । 

वडाध्यक्षलाई सिफारिश गराउन जाँदा पनि दिनभर हिँड्नुपर्ने समस्या कायमै रहेको उपल्लो डोल्पालीले बताए। ‘वडाका अध्यक्षबाट हुने काम सबै काम सदरमुकाम दुनै पुगेर समन्वय समितिका कर्मचारीबाट गराउनुपर्ने बाध्यता छ, कहाँबाट भयो घरघरमा सिंहदरबार?’ छार्काकी कुङापुटी लामाले प्रश्न गरिन्, ‘नौ महिनाअघि जस्तो थियो अहिले पनि उस्तै छ। डोल्पाली नागरिककाकाम छोडेर काठमाडौं बस्ने जनप्रतिनिधिलाई भोट दिएर बेकार भयो।’ 

डोल्पामा छ वडा सचिव जिल्लाका विभिन्न स्थानीय तहको निमित्त कार्यकारी अधिकृतको जिम्मेवारी लिएर काम गरिरहेका छन्। हिउँदका समयमा जनप्रतिनिधि र कर्मचारी काम छाडेर तराईतिर झरेपछि नागरिकलाई सास्ती भएको नागरिक अगुवा सुरेन्द्र ढकालले बताए। नागरिकको काम अघिल्लो संरचनाभन्दा पनि जनप्रतिनिधि आइसकेपछि झनै ओझेलमा परेको उनको भनाइ छ। कर्मचारी र जनप्रतिनिधिको जाडो छल्न जाने प्रवृत्तिबाट डोल्पालीको सेवा प्रवाह रोकिएको ढकाल बताउँछन्।

स्थानीय सरकार गठन भएको नौ महिना बितिसक्दा समेत नागरिकले स्थानीय सरकारको अनुभूति गर्न नपाएको नेपाल पत्रकार महासंघ डोल्पाका अध्यक्ष तथा युवा बबीकिशोर गुरुङले बताए। ‘जिल्लाका ४७ वडा अझै सचिवविहीन छन्, भएका सचिव पनि विभिन्न बहानामा जिल्लाबाहिर गएका छन्, जसले नागरिकको दैनिक काम प्रभावित भएको छ’, त्रिपुरासुन्दरी नगरपालिकाका बासिन्दाले सुमन थापाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.