|

चितवन : केआई नेपालले चितवनको रत्ननगरमा सुरु गरेको ‘मानव वेचविखन तथा लौंगिक हिंसाविरुद्धको हस्ताक्षर अभियान’मा सहभागि हुनेको संख्या बढ्दो छ। रत्ननगर महोत्सवको अवसर पारेर सुरु गरिएको अभियानमा चितवनका अधिवक्ता राजकुमार श्रेष्ठ र उद्योग वाणिज्य संघ चितवनका पूर्व अध्यक्ष गोपाल कर्माचार्यले पनि ऐक्यबद्धता जनाए। अभियानमा ऐक्यबद्धता जनाउँदै अधिवक्ता श्रेष्ठले भने, ‘यो अभियानले साँच्चै नै सकारात्मक सन्देश दिन्छ, अझ मेला महोत्सवमा हस्ताक्षर अभियान चलाउँदा गाउँगाउँमासमेत चेतना पुग्छ।’

चितवनको रत्ननगर महोत्सव स्थलको गेटमा ‘मानव वेचविखन तथा लैंगिक हिंसा विरुद्धको अभियान, हामी सदैब अग्रसर रहने प्रतिबद्धता जनाऔं’ भनेर लेखिएको ठुलो बोर्ड राखिएको छ। महोत्सव हेरेर फर्कन लागेकालाई बोलाएर अभियानबारे जानकारी दिने र हस्ताक्षर गर्न आग्रह गर्ने काममा पूर्णिमा श्रेष्ठ र जमुना न्यौपाने खटिएका छन्।

सचेतनामुलक पर्चा वितरण अभियान पनि एक साथ छ। एकै छिनमा एक हुल युवायुवती आएर हस्ताक्षर गर्न थाले। ‘यस्तो राम्रो अभियानमा हामी छुट्नु हुन्न’, एकजनाले भने। त्यसपछि सबैले हस्ताक्षर गर्न थाले। ‘खास गरी महोत्सवमा धेरै क्षेत्रका मानिस आउँछन् भनेर नै हामीले चेतना फैलाउन हस्ताक्षर अभियान सुरु गरेका हौं।’ केआई नेपाल चितवनका प्रमुख केमिका घिमिरेले अभियानबारे स्पष्ट पारिन।

हिंसा प्रभावितले बनाएको सामाग्रीमा आकर्षण

रत्ननगर महोत्सवको ९ नम्बर स्टलमा केआई नेपालले हिंसा प्रभावित किशोरीहरुको शीप प्रदर्शन गरेको छ। कुशन, खेलौना, बच्चाका कपडा, खादा, व्याग, चप्पललगायत सामग्रीहरु प्रदर्शन र विक्रिका लागि राखिएको छ। यहाँबाट भएको आम्दानी हिंसा प्रभावितहरुको उद्धारमा खर्च गर्ने पूर्णिमा श्रेष्ठ बताउँछिन्।

स्टलबाट दैनिक १५ हजारसम्मको विक्रि हुने गरेको छ। संस्थाका अनुसार अहिले पुर्नस्थापन गृहमा रहेका २४ जना मध्ये कतिपय सिलाई कटाई, फेसन डिजाईन, खेलौना तथा कुशन बनाउने काम सिकिरहेका छन् भने कतिपय अध्ययनरत छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.