सात नम्बर प्रदेशका सात पहाडी जिल्लाको यातायात असहज

|

डोटी : प्रदेशको राजधानी माग गर्दै सात नम्बर प्रदेशको पहाडी जिल्ला डोटी बन्द छ। एक जिल्ला बन्द हुदाँ सात जिल्लाको यातायात असहज बनेको छ।

सात नम्बर प्रदेशको पहाडी जिल्ला प्रवेशद्धारको रुपमा रहेको  डोटीको जोरायल गाउँपालिकाको छतिवन बुडर बजारमा बन्द छ। बुडर बजार बन्द हुँदा सात नम्बर प्रदेशका सात पहाडी जिल्ला (दार्चुला, बैतडी, डढेलधुरा, बझाङ, बाजुरा, अछाम र डोटी) यातायात अवरुद्ध छन्। आन्दोलन नभएका जिल्लामा यातायात संचालनमा रहे तापनि अर्को तराई वा अर्को प्रदेश पुग्न छतिवन बुडर नपुगी सुखै छैन।

प्रदेश राजधानीको माग गर्दै साविकको क्षेत्रीय सदरमुकाम दिपायल र जिल्ला सदरमुकाम सिलगढीमा आन्दोलनकारीले बन्द जारी राखेका छन्। पहाडी जिल्लाबाट बाहिर जाने र बाहिरबाट पहाडी जिल्लामा आउने यातायातका साधन बीचबाटोमा छन्। गाडी संचालन हुन नसकेपछि यात्रु अलपत्र परेका छन्। शनिबार दिउँसोसम्म डेढ सय गाडी बाटोमा रोकिएका छन्।

शुक्रबार बिहानदेखि बुडरबजार बन्द छ। बीचबटोमा धेरै यात्रु अलपत्र परेपछि शुक्रबार बेलुका  ७ बजदेखि ९ बजेसम्म २ घण्टाका लागि बाटो खोलिएको थियो। ९ बजेपछि बाटो पूर्णरुपमा बन्द छ।

तर, पहिले गएका गाडी पास भएपछि थप गाडी त्यही क्षेत्रमा आएर रोकिएका छन्। 'एक पटकलाई अवरुद्ध भएका गाडी जाने मौका दिन दुई घण्टा बाटो खुलायौँ, अहिले उत्ती गाडी रोकिएका छन्' एक आन्दोलनकारीले भने।

शान्तिपूर्ण आन्दोलनमा माग सुनावाई नभएपछि बन्द गर्नु परेको आन्दोलनकारीको भनाई छ।  'शान्तिपुर्ण माग गर्दा सरकार सुन्ने अबस्थामा नभएका कारण निर्णायक आन्दोलनका रुपमा बुडरमा  बन्द सुरु गरेका हौँ, हाम्रो माग पुरा भएपछि मात्रै खुलाउछौँ' संघर्ष समितिका संयोजक दुर्गादत्त ओझाले  भने।

प्रेस र एम्बुलेन्स माथी पनि निगरानी

संर्घष समितिले प्रेस तथा एम्बुलेन्स लगायतका सवारी साधन निर्वाद रूपमा चल्न दिने बताए छन्। तर, आन्दोलनकारीले प्रेस तथा एम्बुलेन्स माथि पनि निगरानी बढाएका छन। प्रेस लेखिएका गाडीमा पनि परिचय पत्र चेक गर्ने, नविकरण मिति सकिए वा नसकिएको हेर्ने। एम्बुलेन्समा बिरामी भए वा नभएको  बिरामी रिफर गरिएको वा  कहाँ गरिएको छ जस्ता कागजात हेरेर मात्र जान दिने गरेका छन।

उच्च सुरक्षा सतर्कता

सिलगढीमा प्रहरी र आन्दोलनकारीबीच झडप भएसँगै स्थानीय प्रशासनले उच्च सर्तकता अपनाएको छ। बिभिन्न जिल्लाबाट पनि नेपाल प्रहरी र शसस्त्र प्रहरी डोटीको सुरक्षाका लागि ल्याईएको छ।  दिपायल र सिलगढीमा सुरक्षाका लागि दुई हजारसुरक्षाकर्मी परिचालन गरिएको छ। आन्दोलनकारीले प्रहरीलाई आक्रमण गरेको भन्दै स्थानीय प्रशासनले सुरक्षा ब्यवस्था कडा पारिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.