|
फोटो साभारः thehimalayantimes.com

  • अर्जुनकुमार आचार्य

विराटनगर : चन्द्रमामा पहिलोपटक पाइला टेक्ने मध्येका अन्तरिक्ष यात्री बज एल्ड्रिन एक साता लामो नेपाल भ्रमणमा छन्। सन् १९६९ मा निल आर्मस्ट्रङसँगै चन्द्रमामा पाइला टेकेका एल्ड्रिन आइतबार नेपाल आइपुगेका हुन्।

आइतबार राती साढे १० बजे काठमाडौं आएका उनले सोमबार लुम्बिनीको भ्रमण गरेका छन्।

उनी सुनसरीस्थित एभरेस्ट साइन्स सेन्टरले गर्ने कार्यक्रममा सहभागी हुन मंगलबार सुनसरी आउँदैछन्। टोलीमा अन्तरिक्ष यात्री बज एल्ड्रिनसँगै उनका छोरा र बुहारी पनि छन्। यस्तै अमेरिकी अन्तरिक्ष संस्था नासाका पदाधिकारी पनि कार्यक्रममा आउन लागेको एभरेस्ट साइन्स सेन्टरका प्रबन्धक दीलिप अधिकारीले जानकारी दिए।

बजका छोरा डाक्टर एन्ड्रिउ एल्ड्रिन मंगलग्रहमा बस्ती बसाउने कार्यक्रमका अध्यक्ष हुन्। उनले मंगलग्रहमा बस्ती बसाउने कार्यक्रमबारे सहभागीलाई जानकारी गराउने छन्। नासाका प्राविधिक विशेषज्ञ एलिजावेथ लेब्लेन र रकेट बनाउने लक्हिड मार्डिन कम्पनीका म्यानेजर जोसेफ लेवेलेन्स पनि कार्यक्रममा सहभागी हुने आयोजकले जनाएको छ।

बज एल्ड्रिनसहितको टोली मंगलबार बिहान साढे १० बजे काठमाडौंबाट विराटनगर विमानस्थल आउने छ। उनलाई पञ्चकन्याको टोलीसहितले स्वागत गर्नेछन्। त्यसपछि बज शान्तिवन जाने कार्यक्रम छ। शान्तिवनमा उनी र उनीसहितको टोलीले रुद्राक्ष, निमलगायतका विरुवा रोप्नेछन्।  

त्यसपछि बजले करिब ५ हजारजना मानिसलाई दुईवटा प्रवचन दिनेछन्। प्रवचन कार्यक्रमका सहभागी र बजबीच चन्द्रमामा पहिलो पाइला टेक्दाको अनुभवबारे प्रश्नोत्तर कार्यक्रम राखिएको छ। कार्यक्रमकै बीचमा बजका छोरा समेत रहेका डा. एन्ड्रिउ एल्ड्रिन, जो मंगलग्रहमा बस्ती बसाउने अभियानका अध्यक्ष छन्, सँग अनुभव आदन प्रदानको कार्यक्रम छ।

टोली मंगलबार नै काठमाडौं फर्कने छ। बजको सुरक्षाका लागि २ सय सुरक्षाकर्मी परिचालन गरिएको छ। बज एल्ड्रिनलाई नेपाल ल्याउँदा ५० लाख रुपैयाँ भन्दा बढी खर्च लाग्ने एभरेस्ट साइन्स सेन्टरले जनाएको छ।

‘चन्द्रमा यात्रा र अन्तरिक्ष यात्राका विषयमा  अन्तरिक्षयात्रीबाटै जानकारी लिन ५ हजार भन्दा बढी सहभागी हुनेछन्’ कार्यक्रमको आयोजक संस्थाका प्रबन्धक अधिकारीले भने। कार्यक्रममा सहभागी हुनेलाई शान्ति वनमा बस्ने व्यवस्थाका लागि टेन्ट टाँगिएको छ।

को हुन् एल्ड्रिन?

एल्ड्रिन अमेरिकी यान्त्रिक इञ्जिनियर हुन्। उनी संयुक्त राज्य अमेरिकाको एयर फोर्सबाट सेवानिवृत पाइलट हुन्। उनी मानव बोकेर पहिलोपटक चन्द्रमामा ल्यान्ड भएको अन्तरिक्ष यान अपोलो–११ लुनार मोड्युल पाइलट थिए। एल्ड्रिन चन्द्रमामा पाइला टेकेका दोस्रो व्यक्ति हुन्। उनी भन्दा अघि मिसनका कमान्डर नील आर्मस्ट्रङले चन्द्रमामा पाइला टेकेका थिए।

अन्तरिक्ष यानमा तीनजना मिसन कमान्डर नील आर्मस्ट्रङ, मोड्युल पाइलट माइकल कोलिन्स र लुनार मोड्युल पाइलट एल्ड्रिन चढेका थिए। आर्मस्ट्रोङ र एल्ड्रिन चन्द्रमाको सतहमा उत्रिए भने कोलिन्स रकेटबाटै चन्द्रमाको कक्षको चक्कर लगाइरहे। उनीहरुले चन्द्रमा लगेको इगल नामको यान २१ घण्टा ३१ मिनेट चन्द्रमाको सतहमा रहिरह्यो। इगल नामक यानको पाइलट थिए एल्ड्रिन।

आर्मस्ट्रङ चन्द्रमा सतहमा उत्रिएपनि एल्ड्रिन भने यानमै ‘स्ट्यान्डबाई’ बसिरहे। ६ घण्टा जति आर्मस्ट्रङले चन्द्रमाको चक्कर लगाएपछि एल्ड्रिन यानबाट उत्रिएका थिए। आर्मस्ट्रङ र एल्ड्रिनले चन्द्रमाबाट धुलो, पाउडर र चट्टान २१ किलो ५ सय ग्राम संकलन गरेर पृथ्वीमा ल्याए।

उनीहरूले चन्द्रमाबाट ल्याएको त्यही चट्टान एल्ड्रिनले प्रवचन दिने एभरेस्ट साइन्स सेन्टरमा ४ वर्षअघि प्रदर्शन गरिएको थियो।

उनले आउँदो बिहीबार प्रज्ञा प्रतिष्ठानमा प्रवचन दिने कार्यक्रम छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.