|

तेह्रथुमः निकासीमा समस्या आएपछि तेह्रथुममा उत्पादित अदुवा गोदाममै थन्किएको छ। निकासी ठप्प भएपछि यहाँका व्यापारीले संकलन गरेको अदुवा गोदाममा र किसानको बारीमै थन्किएको हो।

विर्तामोडबाट भारततर्फ निकासी हुने अदुवा केही दिनयता निकासी हुन छाडेपछि जिल्लाका गाउँगाउँबाट संकलन भएको अदुवा व्यापारीले अटेसम्म गोदाममा र नअटेको सडक पेटिमै थन्काएका छन्।

चार दिनयता निकासी हुन बाँकी रहेको करोडौँ रुपैयाँको अदुवा सदरमुकामको म्याङलुङ बसपार्क नजिकै सडकमै राखिएको छ। निकासी ठप्प भएपछि जिल्लाबाट समेत अदुवा लिएर जान नपाएको व्यापारी अमृत निङ्लेकुले बताए। उनले भने 'भन्सारमा अदुवा छिराउन (पास गर्न) पाइएकै छैन, त्यसैले यहाँ हामीले संकलन गरेको अदुवा त्यतिकै थन्कियो।'

आफूसँग भएका सबै गोदाम भरिएर बाँकी रहेको अदुवा सडकमै भए पनि थुपारेर राख्नुपरेको उनले बताए। व्यापारी निङ्लेकुले सिंहवाहिनी अलैँची, अदुवा तथा जडीबुटी संकलन केन्द्रबाट समेत अदुवा, अलैँचीको संकलन गरी कारोबार गर्छन्। साता यतामात्र अदुवा निकासी ठप्प हुँदा जिल्लामा करोडौँको अदुवा त्यतिकै थन्किएर बसेको उनले बताए ।

'अदुवा निकासी रोकिएपछि कारोबार ठप्प छ, हामीले गाउँबाट समेत माल उठाउन पाएका छैनौँ' उनले भने। किसानले व्यापारीले लैजाने भनेपछि खनेर तयार पारेका अदुवाको बोरा गाउँगाउँमा पुगेका कृषि सडकका डिलमा त्यतिकै लडिरहेका छन्। खनेपछि अदुवा बिग्रिने भएकाले किसानलाई चिन्ताले सताउन थालेको छ भने व्यापारी पनि लगानी डुब्ने त्रासमा छन्।

सडक पुगेपछि गाउँका किसानले बारीबाट खनेर तयार गरेको अदुवा व्यापारीलाई पठाउन सडकपेटिमा निकालेका छन्। अब ती सडकबाट व्यापारीले काँटा गरेर किसानबाट अदुवा खरिद गर्छन्। तर, अदुवा निकासी ठप्प भएपछि नआउने हुन् कि भन्ने चिन्ताले सताएको म्याङलुङ नगरपालिका–८, आम्बुङकी कोमलमाया लिम्बूले बताए।

'अदुवा खनेर रोडमा निकालियौँ तर उता जानै छाड्यो रे, त्यसैले व्यापारीले लगेका छैनन्' उनी भन्छन्, 'अदुवा राख्दाराख्दै बिग्रिने हो कि भन्ने चिन्ता छ।' अदुवा भण्डारणका लागि उपयुक्त स्थान नहुँदा किसानबाट किनेको अदुवा सडकपेटिमा राख्नुपरेको गुनासो व्यापारी दुर्गा भण्डारीको छ।

'अदुवा निकासी ठप्प छ, अहिले यताबाट लगेको अदुवा कसैले लिदैनँ,' उनी भन्छन्, 'निकासी ठप्प भएपछि गाउँमा लोड भएका गाडी यहाँ ल्याएर खाली गर्नुपर्छ, भण्डारण गर्ने ठाउँ छैन, त्यसैले सडकमै राख्नु परेको छ।' सडकपेटिमा अदुवा थुपारेर राख्नुपर्दा आफूहरुलाई दैनिक हजारौँ रुपैयाँ घाटा रहेको उनले बताए। अदुवाका बोरा काटेर अदुवा चोरीसमेत हुने गरेको छ।

बसपार्क नजिकै थुपारिएको करोडौँको अदुवाबाट दैनिक पाँच/सात केजी बढी अदुवा नास भएर गइरहेको व्यापारीको गुनासो छ।

बारीमा खनेर निकालेपछि धेरै दिन राख्दै जाँदा अदुवाको तौल पनि घट्ने गरेको छ। खनेर बोरामा थन्काएको अदुवाको तौल घट्ने र कम मात्रै आम्दानी हुने किसानलाई चिन्ता छ।  यसरी धेरै समय खुला ठाउँमा भण्डारण गरेर राख्नुपर्दा १० प्रतिशत तौल कम हुने व्यापारी बताउँछन्।

'अदुवा भण्डारणका लागि कोल्डस्टोर चाहिन्छ, तर हामी कहाँ त्यस्तो सुविधा छैन' व्यापारी भण्डारीले भने, 'त्यसैले किनेर दुई दिनमात्रै खुला ठाउँमा राखे पनि १० प्रतिशत बढी घाटा हामीले बेहोर्नुपर्छ।' अदुवा समयमै बिक्री गर्न नसके त्यही उम्रिनेसमेत उनले बताए। जिल्लाका बजारमा अहिले अदुवा प्रतिकेजी रु १८ देखि २० का दरले कारोबार भइरहेको छ।

विगतभन्दा खेतीको क्षेत्रफल र उत्पादन झण्डै दोब्बरले बढे पनि मूल्य नबढेपछि किसान अदुवा खेतीप्रति निराश छन्। वर्षेनी अदुवाको मूल्य र बजारमा समस्या देखिन थालेपछि किसान यसप्रति निराश बन्दै गएका आठराई गाउँपालिका–५, छातेढुंगाको भित्रिया अदुवा उत्पादक कृषक समूहका अध्यक्ष सोमनाथ आचार्यले बताए।

किसानले अदुवाखेतीको विकल्पसमेत खोज्न थालेका उनले बताए। गत वर्ष जिल्लामा २६० हेक्टर क्षेत्रफलमा लगाइएको अदुवाखेतीबाट तीन हजार ९५२ मेट्रिक टन अदुवा उत्पादन भएको थियो।

नेपालमा उत्पादित अदुवाको मुख्य बजार भारत हो। अदुवा किसानका मागलाई सरकारले सम्बोधन गर्न नचाहेका कारण यसको खेतीप्रति किसान निराश हुनु परेको अदुवा व्यवसायीको भनाइ छ। अदुवा किसानमा प्राविधिक ज्ञान सीपको कमी रहेको फेदाप गाउँपालिका–३, जलजलेका किसान तुलसी कोइरालाले बताए।

'किसानलाई खेती प्रविधिको ज्ञान छैन, कृषि कार्यालयले पनि धानखेतीका विशेषज्ञलाई अदुवाखेतीबारे काम गर्न पठाउँछ' कोइरालाले भने। अदुवाखेतीकै लागि बैंकले ऋण नदिने, अदुवाखेतीको बीमाको व्यवस्था नहुनु, बजार अनिश्चित हुनु, अदुवा किसानप्रति सरकार अनुदार देखिनु, कृषि क्षेत्रप्रति स्थानीय सरकार पनि प्रतिकूल हुनुजस्ता समस्याका कारण यसको खेतीबाटै विस्थापित हुने अवस्था आएको किसानको गुनासो छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.