|

बेसीहर (लमजुङ) : सरकारी राहत पाएसँगै जिल्लामा पुनर्निर्माणले गति लिएको छ। राहतको लामो प्रतीक्षामा बसेका भूकम्प प्रभावितले राहत रकमको पहिलो किस्ता पाउनासाथ पुनर्निर्माण कार्यलाई तीव्रता दिएका हुन् । 

पहिलो किस्तासँगै प्राविधिक खटाइएपछि अधिकांश भूकम्प प्रभावितले घर निर्माण सुरु गरेका छन्। भूकम्प प्रभावितलाई अनुदान वितरण निर्देशिकाबमोजिम पहिलो किस्ता रकम ५० हजार रुपैयाँ वितरण गरिएको छ। भूकम्पबाट पूर्ण क्षति भएका १३ हजार ९५९ घरमध्ये १३ हजार ८४ भूकम्प प्रभावितले राहतको पहिलो किस्ता लिइसकेको सरकारी निकायको दावी छ। रकम, जनशक्ति र प्राविधिकको अभावमा पुनर्निर्माणको काम अघि बढ्न नसकेपछि भूकम्प प्रभावित टहरा र क्षतिग्रस्त घरमै जोखिम मोल्दै बसिरहेका थिए। सरकारीले राहत वितरणमा ढिलाइ गर्नाले पुनर्निर्माणले गति लिन नसकेको बताइन्छ। 

भूकम्प प्रभावितले घरको जग निर्माण कार्य सम्पन्न गरेपछि मात्रै दोस्रो किस्ता बापत ८० हजार रुपैयाँ प्रदान गरिने र छाना छाउने तहसम्मको कार्य सम्पन्न गरेपछि तेस्रो किस्तामा सबै रकम भुक्तानी गरिने सरकारी निकायले जनाएको छ।

यसअघि जिल्लाका अति प्रभावित पूर्वी भेगका २७० घर भने गैरसरकारी संस्थाको सहयोगमा निर्माण सम्पन्न भइसकेका थिए। सोबाहेक भूकम्पबाट क्षति भएर पनि लाभग्राही सूचीमा नपरेकाे र अनुदान नपाएको भन्दै एक हजार ३०० भन्दा बढी प्रभावितले जिल्ला समन्वय समितिमा निवेदन दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.