|

पर्वत : कालीगण्डकी करिडोर सञ्चालनमा आएपछि कालीगण्डकी नदीको तटीय क्षेत्रका कृषक उत्साहित भएका छन्। जिल्लाको दक्षिण क्षेत्र फलेवास नगरपालिका, विहादी र पैंयुँ गाउँपालिकामा उत्पादित कृषिजन्य वस्तु बुटवलमा निर्यात हुन थालेपछि करिडोर आसपासका कृषकहरूमा खुसायाली छाएको हो।

करिडोर सञ्चालन आउनुभन्दाअघि जिल्ला दक्षिण क्षेत्रका नागरिक सदरमुकाम कुश्मा बजार निस्केर बुटवल पुग्न करिव ११ घण्टा लाग्थ्यो। करिडोर सञ्चालनमा आएपछि करिव ४ घण्टा नै पुग्ने भएपछि कृषिजन्य वस्तुको निर्यातमा सहज भएको कृषकहरूको भनाइ छ।

‘गाउँमा उत्पादन भएका तरकारी कि त गाउँमै बिक्री गर्नु पथ्यो कि सडेर जाने अवस्था थियो।’ फलेवास नगरपालिकाका कृषक तारानाथ पौडेलले भने, ‘करिडोर सञ्चालनमा आएपछि मेरो बारीमा उत्पादित तरकारी बुटवल पठाउन थालेको छु।’ करिडोरले पौडेलजस्तै कालीगण्डकीको तटीय क्षेत्रमा रहेको कृषकका मुहारमा खुसी ल्याएको छ।

अर्का कृषक कृष्ण पराजुली फलेर खेर जाने गरेको काउलीले बल्ल बजार पाएकामा खुशी छन्। उनी भन्छन्, ‘अब तरकारी कुहाएर फाल्नु पर्दैन। कालिपार गाडी आउँछ। गाडीमा हालेपछि बुटवल पुग्छ।’

तरकारीका विभिन्न बीउ उत्पादन गर्दै आएकी माया पाठक हिउँदमा मात्रै गाडी चल्दा वर्षा याममा तरकारी भैंसीलाई खुवाउनुको विकल्प नरहेको विगतको सम्झना गर्छिन्। उनले भनिन्, ‘हिउँदमा तरकारी उत्पादन नहुने, बर्खामा गाडी नचल्ने समस्याले कृषकले हैरानी खेपेका थिए।’

करिडोर सञ्चालन आएपछि गाउँका कृषि उपज बजारसम्म पुर्‍याउन मात्र होइन, सामान आयातमा पनि सहज भएको छ। जसले गर्दा टाढा–टाढा बोकेर सामान ल्याउनुपर्ने बाध्यता समेत हटेको छ। 

गाउँसम्म नै गाडी आउन थालेपछि वैदेशिक रोजगरीमा गएका पनि गाउँ फर्किन थालेका छन्। रोजगारीको खोजीमा गाउँ छाडेर विभिन्न स्थानमा जानेहरू गाउँ गाई, बाख्रा, कुखुरापालन तथा तरकारी खेती गर्न थालेका छन्। बिहादी गाउँपालिका बाच्छाका स्थानीय गजाधर आचार्य भन्छन, ‘अब नुनदेखि सुनसम्म दैलोमै आउँछ, बाँदर खेल्ने पाखामा गाडी चल्न थालेपछि गाउँ छाडेर जानेहरू फर्किन थालेका छन्।'
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.