|

नुवाकोट:  भूकम्पसँगै गएको सुख्खा पहिरोबाट विस्थापित भएका तादी गाउँपालिका–१ उर्लेनीका २७ परिवारका लागि खरानीटारको बुदुनेमा जग्गा खरिद गरिएको छ। पहिरोले बस्ती नै बगाएपछि विस्थापित भएकालाई तादी–३ खरानीटारको बुदुनेमा जग्गा उपलब्ध गराएको गाउँपालिका अध्यक्ष नारायणप्रसाद पाण्डेले जानकारी दिए। 

उर्लेनीबाट विस्थापित भएका २४ परिवारलाई गत पुस अन्तिम साता बुदुनेमा जग्गा उपलब्ध गराई  पुन:स्थापना सुरु गरेकाे राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले दोस्रो चरणमा थप २७ परिवारका लागि ९ रोपनी जग्गा खरिद गरी घर बनाउन घडेरी उपलब्ध गराएको हो। भूकम्पले आवास पूर्ण क्षति बनाएको र पहिरोले बस्तीसमेत जोखिम पुर्‍याएको भूगर्भविद्को अध्ययन प्रतिवेदनअनुसार सुरक्षित स्थानमा पुन:स्थापनाका लागि घडेरी खरिद गर्न सरकारले २ लाख अनुदान दिने प्रावधानअनुसार सरकारी सहयोगमा खरिद गरेर जग्गा प्रभावितको नाममा हस्तान्तरण गरिएको हो।

प्रभावितका लागि जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङको सहजिकरणमा गाउँपालिका अध्यक्ष पाण्डेसहित नौ जनाले एकै स्थानमा जग्गा उपलब्ध गराएका हुन्। पुन:स्थापना गरिएको स्थानमा गाउँपालिकाले खानेपानी, सडक, विद्युतलगातयका विकासका भौतिक पूर्वाधार निर्माणको कार्य सुरु गर्न लागेको अध्यक्ष पाण्डेले बताए।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयका निमित्त प्रमुख वेदप्रसाद गौडेलका अनुसार ५४ लाख सरकारी अनुदानमा खरिद गरिएको जग्गा श्रीमान्-श्रीमती भएकाको हकमा संयुक्त लालपुर्जा बनाएर प्रदान गरिएको छ। उर्लेनीबाट विस्थापित ५१ घरधुरीलाई एकै स्थानमा राख्न जग्गा खरिद प्रक्रिया पूरा भएकाले बाँकी २२ विस्थापित परिवारलाई पनि जग्गा व्यवस्थापन गर्ने कार्य अन्तिम चरणमा पुगेको प्राधिकरणले जनाएको छ। 

पुनर्निर्माण प्राधिकरणको तथ्याङ्कअनुसार नुवाकोटको उर्लेनीसहित घ्याङफेदी, लच्याङ, महाकाली, किम्ताङ्क र साल्मेका ३२१ परिवार जोखिमको कारण बस्तीबाट विस्थापित भएकाले पुन:स्थापनाका लागि जग्गा व्यवस्थापन गर्नुपर्ने देखिएको छ। कार्यालयका अनुसार भूमिहीन र सुकुमवासीलाई जग्गा व्यवस्थापनका लागि सरकारी अनुदान उपलब्ध गराउन निवेदन संकलन जारी छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.