|

सोलुखुम्बु : बुङमा फैलिएको भाइरल नियन्त्रणमा आएको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ। महाकुलुङ गाउँपालिका–२ बुङमा फैलिएको भाइरल नियन्त्रणमा आएको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका प्रमुख डाक्टर मिङ्मार छिरिङ शेर्पाले जानकारी दिए।

प्रमुख डा. शेर्पाले ९० प्रतिशत भाइरल नियन्त्रणमा आएको भन्दै चिन्तित हुनुपर्ने अवस्था नरहेको दाबी गरे। उनले एक साताभित्र ल्याब टेष्टको रिपोर्ट आएपछि भाइरसको विषयमा पत्ता लाग्ने बताउनुभएको छ। शुक्रबार नमुना संकलन गरेर परीक्षणका लागि शनिबार काठमाडौं पठाइएको थियो।

बालबालिका र अभिभावक गरी करिब साढे पाँच सय भाइरलबाट प्रभावित भएकोमा एक साताभित्रमा ५ सय ४ जनाको उपचार गरेको प्राथमिक स्वास्थ्य केन्द्र सोताङका डाक्टर सण्डु शेर्पाले बताए। एक सातादेखि उपचारमा सक्रिय रहेका स्वास्थ्यकर्मीले अहिले बिरामीको अवस्था सुधार हुँदै गएको जनाएका छन्। 

जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुबाट प्रभावित क्षेत्रमा पुगेको ‘र्‍यापिड रेसपोन्स’ समूहका सम्पर्क व्यक्ति स्वस्थ्य सहायक कुमार केसीले थप संक्रमण हुन नदिन स्वास्थ्यशिक्षामा जोड दिइएको बताए। उच्च ज्वरो आउने, खोकी लाग्ने, झाडाबान्ता हुने, टाउको दुख्ने लक्षण देखिए स्याहारका लागि खटिएका व्यक्तिले अपनाउनुपर्ने सावधानीको उपायबारे जानकारी दिने काम भइरहेको छ।

सहायक केसीले भने, ‘स्वास्थ्यसम्बन्धी जानकारीमुलक विभिन्न पर्चा पम्पलेट गाउँभर वितरण गर्दैछौँ, कुलुङ जातिको बसोबास रहेकाले स्वास्थ्य सन्देश राई भाषामा अनुवाद गरेर समेत बुझाइहेका छौँ।'

मंगलबार देखि ६ गते सम्मका लागि बन्द गरिएको पेल्माङ आधारभूत विद्यालय सञ्चालन गर्ने\नगर्ने विषयमा आइतबार व्यवस्थापन समितिको बैठक बस्दैछ। विद्यालय व्यवस्थापन समितिको बैठक बसेर विद्यालय सञ्चालनबारे निर्णय गर्ने विद्यालयका प्रधानाध्यापक टंकबहादुर दाहालले जानकारी दिए। दाहालका अनुसार भाइरल अझै पूर्ण रूपमा नियन्त्रणमा नआएकाले केही दिन विद्यालय बन्द हुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.