|

छोटो संस्करणको क्रिकेटमा सर्वाधिक लोकप्रिय रहेको इन्डियन प्रिमियर लिग (आईपीएल)को आगामी अप्रिलमा हुने ११औँ संस्करणको अक्सन सूची शनिबार सार्वजानिक गर्दा नेपाली बलर सन्दीप लामिछानेको नाम २७६औँ नम्बरमा सूचीकृत थियो। यसका कारण उनको चर्चा फेरि एक पटक सतहमा आयो।

आईपीएल अक्सनका लागि सन्दीपलाई नजिकबाट हेरिरहेका भारतीय खेलाडीले नामावलीका लागि पहल गर्न भनेका थिए। सूचीमा राख्नका लागि एजेन्टको सहायतामा उनको नाम सिफारिस गरिएको थियो। उनको अष्ट्रेलियन कप्तान माइकल क्लार्कले ठूलो प्रशंसा गर्ने गरेकाले पनि उनलाई आईपीएल अक्सन सूचीमा नाम सूचीकृत गर्न सहज भएको हो।

आईपीएलले ५७८ जनाको अक्सन सूची सार्वजानिक गर्दा ३६० जना भारतीय खेलाडी सूचीमा छन्। त्यसमा नेपालका एक खेलाडीले अक्सन सूचीमा नाम समावेश गर्दा उनको आईपीएल सम्भावनाका बारेमा अनेक आँकलन गरिएको छ। तर अक्सन सूचीमा आवद्ध हुनु नै आईपीएल खेल्नु भने होइन। आईपीएल टिमले बढीमा ८ जना विदेशी खेलाडी राख्न पाउँछन्। सूचीबाट अक्सन प्रक्रिया बैंगलोरमा जनवरी २७ र २८ मा एक भव्य समारोहबीच हुनेछ। उक्त अक्सनमा यदि कुनै टिमले बोली लगाएमा सन्दीप लामिछानेले आईपीएलमा अवसर पाउनेछन्।

क्लार्कसँगको सम्बन्धले पुर्‍याउला आईपीएल?

सन्दीप नेपाली राष्ट्रिय टिममा कलिलै उमेरमा स्थान बनाउन सफल खेलाडी हुन्। विश्व क्रिकेट लिग डिभिजन च्याम्पियनसिपका दौरान राष्ट्रिय टिममा डेब्यु गरेका सन्दीप नेपाली उमेर समूहमा सर्वाधिक प्रभावशाली बलरका रूपमा रहेका थिए। यस्तोमा उनले राष्ट्रिय टिममा पनि आफ्नो उपस्थिति प्रभावकारी बनाए।

हङकङविरुद्धको खेलका दौरान उनको प्रदर्शनपछि क्लार्कले सिड्नीको स्थानीय क्लब वेस्टर्न सुर्वव डिस्ट्रिक क्रिकेट क्लबमा खेल्नका लागि लामिछानेलाई सिड्नी लगेका थिए। उनले उक्त दौरान क्लार्कसँगको संगतमा राम्रो अभ्यास र खेलको मौका पाएका थिए। सोही दौरानबाट अस्ट्रेलियाका पूर्व कप्तानसमेत रहेका क्लार्कले लामिछाने विश्व उत्कृष्ट बलर भएको ट्विट गर्दै उनीसँग सिड्नीमा रहँदा निकै उत्साहित भएको बताएपछि उनीमाथि भारत, बंगलादेश, पाकिस्तानलगायत देशका घरेलु क्लबहरूले आँखा लगाउँदै आएका छन्। तर उनले राम्रो संयन्त्र र पहलको अभावमा उत्कृष्ट देशको घरेलु संरचना खेल्न पाएका भने छैनन्।

आईपीएल खेल्ने सम्भावना कति?

फुटबल खेलाडीका लागि इङलिस प्रिमियर लिग खेल्ने जति ठूलो सपना हुन्छ, क्रिकेट खेलाडीका लागि पनि आईपीएल ठूलो सपना बन्दै गएको छ। यस्तोमा एसोसिएटेड देश नेपालका लागि कुनै पनि खेलाडीले आईपीएलको कुनै टिममा स्थान बनाउन पाउनु भनेको आफैँमा ठूलो अवसर हो।

तर विश्वका टेस्ट मान्यता प्राप्त देशका नियमित खेलिरहको अन्तर्राष्ट्रिय खेलाडीहरूको बोलकबोल बीचमा आफूलाई सन्दीप लामिछाने कति अघि पाउँछन् त्यसले नै उनको आईपीएल सम्भावनालाई कायम राख्नेछ।

एक त कम टिम (८ टिम) प्रतिष्पर्धात्मक खेल र सीमित विदेशी खेलाडीको दायरा पार गर्नु कुनै पनि विदेशी खेलाडीका लागि चानचुने कुरो होइन। त्यसमा पनि अनक्याप्ड खेलाडीको क्याटेगोरीमा रहेका सन्दीपको सुरुवाती मूल्य २० लाख भारतीय रुपैयाँ हुनेछ। त्यसैले आईपीएल क्लबहरूले नजिकबाट नियालिरहेका र कप्तान र छनोट चरणमा लामो समयदेखि खेलाडीको प्रदर्शन नियालिरहेकाहरूको सिफारिसमा खेलाडीको बोलकबोलको सम्भावना हुनेछ। त्यसेलै पनि सन्दीपका लागि ढोका खुला भए पनि आईपीएल प्रवेश भने सहज छैन।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.