|

एजेन्सी : अमेरिकी सरकारको सेवा बन्द भएको सुरुवाती २ दिनमा झन्डै ७ लाख संघीय कर्मचारी कामविहीन बनेका छन् । यो संख्या कुल कर्मचारीको ४० प्रतिशत हो । थुप्रै सरकारी विभागहरु बन्द छन् । पासपोर्ट कार्यालय, स्वास्थ्य विभाग, आयकर विभाग लगायतका अत्यावश्यक कार्यालयका कर्मचारीलाई तत्कालका लागि काममा नआउन निर्देशन दिइएको  छ । हुँदा-हुँदा सेनामा आबद्ध सिभिल कर्मचारीहरु समेत काममा आउनपर्ने छैन । सरकारका काम बन्द हुुँदा देशको अर्थतन्‍‍त्रमा ठूलो घाटा लागेको छ । नागरिकहरुले अत्यावश्‍‍यक सेवा लिन पाएका छैनन् । 

किन बन्द ?

बजेट पारित नहुँदा अमेरिकी सरकार आधिकारीक रुपमा ‘सटडाउन’ भएको हो । शुक्रबार मध्यरातदेखि सरकार सटडाउन भएको छ । अमेरिकी संसदमा सत्ता पक्ष र विपक्षबीच गैरकानुनी आप्रवासीको मुद्दालाई लिएर चर्को बहस भएको थियो । यस विषयमा सहमति जुटन् नसकेपछि सरकारी कामका लागि बजेट पारित हुन सकेन । जसका कारण सरकारको कामकाज बन्द गर्नुपर्ने अवस्था आयो ।

के-के खुला रहन्छ ?

यस दौरान हुलाक सेवा खुला रहन्छ । संघीय अदालत पनि केही समय खुला रहन्छ । तर अदालतमा पनि सिमित कर्मचारी मात्रै हुन्छन् । धेरैजसो कर्मचारीलाई काममा नआउन भनिएको छ ।  देशभरका ४ सयभन्दा धेरै राष्ट्रिय पार्क खुला रहनेछन् । तर, त्यहाँ फोहर उठाउने कर्मचारी पनि आउने छैनन् ।

राष्ट्रिय सुरक्षा र जरुरी सेवामा जोडिएका सबै विभागले काम गर्ने बताइएको छ । यसमा सैनिक तथा सिमा सुरक्षा बल, पुलिस र इमिग्रेशनका कर्मचारी, एयरपोर्टमा तैनाथ सुरक्षाकरमी, एयर ट्राफिक कन्ट्रोल र देशभरका सरकारी डाक्टर सेवामा उपलब्ध हुनेछन् । तर यी कर्मचारीहरुले बजेट पास भएपछि मात्रै तलब पाउनेछन् ।

ट्रम्प कति जिम्मेवार ?

विपक्षी डेमोक्रेटिक पार्टीका सिनेटरहरुले राष्ट्रपति डोनाल्ड ट्रम्पका कारण देशमा समस्या सिर्जना भएको बताएका छन् । शुक्रबार मध्यरातको समयसिमासम्म सत्तारुढ रिपब्लिकन पार्टी र विपक्षी डेमोक्रेटिक पार्टीले गैरकानुनी आप्रवासीको मुद्दामा सहमति खोज्ने प्रयास गरेका थिए । तर सहमति हुन नसक्दा बजेट पारित भएन ।

विपक्षी डेमोक्रेटिक पार्टीका सिनेटरहहरुले बाल्यकालमा आमाबाबुसँगै अमेरिका आएका झन्डै ८ लाख आप्रवासीहरुलाई अमेरिकामै बस्‍न र काम गर्न छुट दिनुपर्ने प्रावधानलाई पनि  सरकारले ल्याएको बजेटमा समेट्न माग गरेका छन् । अघिल्लो वर्ष सेप्टेम्बरमा राष्ट्रपति ट्रम्पले गैरकानूनी रुपमा बस्दै आएका आप्रवासीहरुलाई दिइने छुटका कार्यक्रमहरु रोक्‍ने घोषणा गरेका थिए । उनले विपक्षी कांग्रेस पार्टीलाई यस विषयमा विकल्प खोज्न मार्चसम्मको समयसिमा दिएका थिए ।

रिपब्लिकन सिनेटरहरुले यस विषयलाई सरकारी बजेटमा जोड्नुको सट्टा यस विषयमा सिनेट छुट्टै बहस चलाउन सकिने बताएका छन् । ट्रम्पले सटडाटका विपक्षी डेमोक्रेटिक पार्टीलाई बन्दको जिम्मेवार ठहर गरेका छन् । ‘विपक्षीहरुले अनावश्यक माग सारेर देशका नागरिकका लागि समस्या खडा गरेका छन्,’ व्हाइट हाउसद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

यसै सिलसिलामा प्रतिनिधिसभाले सरकारलाई १६ फेब्रुअरीसम्म खर्च गर्नका लागि मन्जुरी दिने प्रस्ताव गरेको छ । तर सिनेटले यस प्रस्ताव  पारित गर्न सकेन । सिनेटमा बहुमतप्राप्त रिपब्लिकनसँग ५१ सदस्य छन् । तर, प्रस्ताव पारित हुन ६० भोट चाहिन्छ । । विपक्षी डेमोक्रेटिक पार्टीका सांसदहरु प्रस्ताव तत्काल पारित गर्न दिने मनस्थितिमा देखिदैंनन् ।

प्रतिनिधिसभा तथा सिनेटमा बहुमत भएको तथा आफ्नै पार्टी राष्ट्रपति भएको बेलामा पनि सरकारको काम बन्द भएको यो अमेरिकी इतिहासकै पहिलो घटना हो । तर अमेरिकामा काम बन्द भएको यो पहिलोपटक भने होइन । सन् १९७६ पछि अमेरिकामा १८ पटकसम्म कामबन्द भएको छ । पछिल्लोपटक सन् २०१३ मा राष्ट्रपति बाराक ओबामाले ल्याएको स्वास्थ्य बिलको मुद्दामा विपक्षी रिपब्लिक पार्टीले असहमति जनाउँदा १६ दिनसम्म काम बन्द भएको थियो ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.