|

काठमाडौं : युवा पुस्ताकी कवि सुनिता खनालको ‘ओ नायक’ कवितासंग्रह शनिबार काठमाडौंमा लोकार्पण गरियो।

कार्यक्रममा ‘आजका कविता’ विषयमा अन्तर्क्रिया पनि गरिएको थियो। कवि श्यामलले कविले आफू बाँचेको समयको सत्यलाई कवितामा विषय र शैलीसहित पुन: रचना गर्नुपर्ने बताए। श्यामलले भने, ‘तर अहिले काठमाडौं बसेर जुम्लाको कविता लेखिन्छ ।' त्यस्ता कविताको सत्यमाथि आफूलाई शंका लाग्ने गरेको उनको भनाइ थियो। श्यामलले बताए। उनले ८० प्रतिशत नेपाली कविहरूले आफ्नो छाप र शैली छोड्न नसकेको दाबी गरे।

एउटा उत्कृष्ट कवि तयार हुन चालीसौँ वर्ष लाग्ने बताउँदै कवि श्रवण मुकारुङले पहिलेका र अहिलेका कवि र कवितामा तुलना गर्न नहुने धारणा राखे। कुनै बेला उत्कृष्ट मानिएको भूपि शेरचनको कविता अहिले मनोज गजुरेलको ठट्टा जस्तो लाग्ने भन्दै उनले भने, ‘हामीले समयलाई सम्मान गर्ने हो । प्रत्येक पुस्ताले कविको सम्मान रचनाको सामर्थ्यले गर्छ ।’

अहिले राजनीति, समाज, चलायमान भएकाले थुप्रै नयाँ कविहरू कवितालेखनमा आउनु र विभिन्न शैलीमा कविता लेखिइनु राम्रो भएको भन्दै मुकारुङले नयाँ पुस्तालाई पुराना कविले स्थापित गरेको शैलीभन्दा फरक शैलीमा लेख्न सुझाव दिए।

कविहरू श्यामल, मुकारुङ, कवि मोमिला र कवि खनालकी आमाले संग्रहको लोकार्पण गरेका थिए । कृतिको लोकार्पणपछि मोमिलाले सुनिताका कविता पढ्दा ऐनामा आफ्नै अनुहार पढेजस्तो लागेको धारणा राखिन्।

कार्यक्रमको अन्त्यतिर कवि खनालले गितारको धूनमा ‘ओ नायक’, ‘दुइटा पृथ्वी’, ‘पातमा प्रेम’, ‘आगोको ठेगाना’, ‘ऐनामा देश’ कविता वाचन गरेकी थिइन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.