|

काठमाडौं : नेपाली समाजमा फरक क्षमता भएका मानिस धेरै छन्। कोही शारीरिक रूपमा अपांग छन् भने कोही बोल्न सक्दैनन्। शारीरिक रूपमा अपांगता भएकाहरूले त आफ्ना मनको भावना बोलीमार्फत व्यक्त गर्न सक्छन् तर बोली नआउनेहरूले भने आफ्ना भावना व्यक्त गर्न सक्दैन। समाजमा रहेका यस्ता फरक क्षमता भएकाहरूमा पनि धेरै प्रतिभा हुन्छ। उनीहरूको बोली नआए पनि समाजमा धेरै योगदान गर्नसक्छन्।

तर समाजमा यस्ता फरक क्षमता भएकाहरू सधैँ विभेदमा पर्ने गरेका छन्। अझ बोल्न नसक्ने युवतीहरूलाई त समाजमा बाँच्नै मुस्किल पर्छ। घर परिवारले पनि अपांगता भएका परिवारका सदस्यलाई समाजमा देखाउन चाहँदैनन्। कतिलाई त पढ्नबाट पनि बञ्चित गरिन्छ। बोल्न नसक्ने युवतीहरूले आफूहरूमाथि भएको हिंसा र विभेदबारे व्यक्त गर्न नसक्दा धेरै युवतीहरू यौन हिंसाको सिकार पनि भइरहेका छन्।

समाजमा घट्ने यही घटनालाई समेटेर साहित्यकार कल्पना श्रेष्ठ कल्पपुञ्जले ‘सञ्जीवनी’ उपन्यास तयार पारेकी छन्। यो उपन्यास यही महिना बजारमा आउने उनी बताउँछिन्। कवितासंग्रह, खण्डकाव्य हुँदै उपन्यास लेखेर नेपाली साहित्य क्षेत्रमा स्थापित उनले यसअघि २०६१ सालमा 'अन्त्यहीन जीवन' खण्डकाव्य प्रकाशन गरिसकेकी छन्। आफ्ना साहित्यमार्फत समाजको यथार्थ लेख्ने बताउने कल्पनाले खण्डकाव्यमा युवाहरू विदेसिनुको पीडालाई समावेश गरेको बताउँछिन्।

तत्कालीन माओवादी जनआन्दोलनले पुर्‍याएको असर र विदेसिएका युवाले ज्यान गुमाउनुपरेको घटनालाई उनले खण्डकाव्यमा प्रस्तुत गरेको बताइन्। ‘त्यसबेला भर्खर इराकमा १२ जना नेपाली मारिएका थिए। देशमा पनि आन्दोलन चर्किरहेको थियो’, उनले भनिन्, ‘रोजगारका अवसर पनि थिएनन्। यसरी नै विदेसिएर युवाले ज्यान गुमाउनुपरेको समस्यालाई खण्डकाव्यमा समावेश गरेँ।’

तर यस पटक भने उनले उपन्यास ‘सञ्जीवनी’मा आवाजविहीन संघर्षशील महिलाको कथालाई उनले समावेश गरेकी छन्। आवाज नआउने तर कान सुन्नसक्ने एक युवतीले आफ्नो जीवनकालमा भोग्नुपरेका पीडा उनको उपन्यासमा समावेश छ। ‘मैले यसमा विशेष गरेर आवाजविहीन युवतीको संघर्ष लेखेको छु’, उनले भनिन्, ‘हाम्रो समाजमा धेरै यस्ता पात्रहरू छन् तर हामी कमैले उनीहरूलाई निहाल्ने गर्छौँ। आफ्नै घरमा यस्ता पात्र भए मात्र उनीहरूको बारेमा थाहा हुन्छ।’

आवाज नआउने पुरुषहरूले पनि पढेर व्यवसाय गरे पनि आवाज नआउने महिलाको समस्यामा यो उपन्यास रहेको उनी बताउँछिन्। भन्छिन्, ‘मेरो गाउँ स्याङ्जा। स्याङ्जामा भएका केही आवजविहीन युवाहरू पोखरा गएर पढेर व्यवसाय गर्छन्। तर त्यही ठाउँका आवाजविहीन दिदी, बहिनीलाई गिज्याउने गरिन्छ। त्यो हामीले पनि गर्‍यौँ।’

तर उनले पनि काठमाडौं आएर आवजविहीन युवतीले पढ्ने गरेको थाहा पाइन्। उनले भनिन्, ‘म बैंकमा जागिर खान थालेपछि एक जना आवाजविहीन बहिनी आइन्। उनलाई ऋणका बारेमा लेख्न लगाउँदा उनले अंग्रेजीमा माज्जाले लेखिन्, त्यसबेला नै मैले सोचिरहेको थिएँ।’ तर गाउँमा रहेका बोली नभएका युवतीहरूलाई हेर्ने व्यवाहर भने फरक थियो। ‘गाउँमा चाहिँ यस्ता युवतीहरूलाई हेप्ने गरिन्थ्यो। घरको कमारी सम्झन्छन्’, उनले भनिन्, ‘कसैले विवाह गरिहाल्यो भने जान्छे, नभए यहीँ घरको काम गरेर बस्छे भन्ने मानसिकता अहिले पनि छ।’

उनले यही घटनालाई आफ्नो गाउँको घटनासँग तुलना गरेर यसका बारेमा केही लेख्ने योजना बनाइन्। उपन्यासमा आवजविहीन महिला पात्रको संघर्षसँगै रमाइला क्षणहरू समावेश भएको उनी बताउँछिन्। ‘आवाजविहीन महिलाले समाजमा गरेका संघर्षसँगै उनीहरूले जागिर खाँदासम्मका घटनाहरू पनि छन्’, उनले भनिन्, ‘उपन्यासमा एउटा आवाजविहीन महिला पात्र छन्। उनको पेरिफेरीमा उपन्यास घुमेको छ।’ एउटी आवाजविहीन महिलालाई उनका श्रीमानले प्रयोग गरेर फाइदा लुटेको प्रसंग पनि उपन्यासमा समावेश भएको उनी बताउँछिन्। भन्छिन्, ‘एउटा श्रीमान र समाजले आवाजविहीनलाई कस्तो नजरले हेर्छ? उनलाई प्रयोग गरेर कतिसम्म फाइदा लिन्छ, सबै उपन्यासमा समावेश छ।’

आवाजविहीनको संघर्ष खासै आउँदैन

जीवन जिउने क्रममा आवजविहीनले धेरै संघर्ष गर्नुपर्छ। तर उनीहरूको समस्या खासै पुस्तकमा नआएको उनी बताउँछिन्। ‘आवाजविहीनका बारेमा खासै बाहिर आउँदैन। आइहाले पनि पुरुषको मात्र आउँछ। महिलाको आउँदैन’, उनले भनिन्, ‘त्यही भएर यो विषयमा कलम चलाउनुपर्छ भन्ने लागेर मैले उपन्यास लेखेकी हुँ।’

यस उपन्यासमा उनले स्याङ्जा सेतीदोभानकी एक पात्रबाट सबै आवाजविहीन नारीको कथा लेखेकी छन्। उनको उपन्यासमा त्यो पात्रले बोल्न नसके पनि कान सुन्छ। भन्छिन्, ‘विद्यालय पढ्दा उनलाई साथीहरूले हेला गर्छन् तर उनले आफैँ मिहिनेत गरे पढ्छिन्। एक पटक त परिवारबाट विद्यालय छोडाउन पनि खोज्छन् तर संघर्ष गरेर पढ्छिन्। त्यस क्रममा उनलाई कति पीडा भयो होला? यही विषय छ।’

सबै कुरा ल्याउन नसके पनि यो आवाजविहीन पात्रको एउटा पक्ष भएको उनी बताउँछिन्। धेरै उपन्यासहरूमा अन्त्यमा निष्कर्ष ननिकाल्ने गरेको पनि पाइने उनी बताउँछिन्। भन्छिन्, ‘धेरै उपन्यासमा अन्त्यमा निष्कर्ष ननिकालेको पाइन्छ। तर मेरो उपन्यासमा आवाजविहीन ती महिला पात्रले अन्तिममा कसरी आफ्नो जीवन व्यवस्थापन गर्छिन् भन्ने निष्कर्ष छ।’

अहिले पनि आवाजविहीनलाई सहज हुने विद्यालयमा धेरै ठाउँमा नभएको उनी बताउँछिन्। उपन्यासमा जीवन उपयोगी कुरा पनि रहेको उनी बताउँछिन्। यो उपन्यास पढेर पाठकले केही पाठ सिक्ने उनले बताइन्।

उपन्यासको नाम ‘सञ्जीवनी’ किन?

उपन्यासमा सबै संघर्षको कथा छ तर सञ्जोगले उपन्यासको शीर्षक ‘सञ्जीवनी’ राखिएको लेखक कल्पना बताउँछिन्। भन्छिन्, ‘यो नाममा मान्छेले प्रश्न गर्छन्। तर यो प्रश्नको सामना गर्न हामी तयार र्छौँ।’ उपन्यासभित्र घटनाहरू पीडादायी नै रहेका भए पनि नाम भने ‘सञ्जीवनी’ राखिएको उनी बताउँछिन्। ‘सबै कुरा नकारात्मक मात्र गर्नुहुँदैन। कालो छ भने त्यसलाई काले मात्र भनिँदैन। त्यसको भित्री कुरा निकालेर राखिएको हो।’

उपन्यासभित्र ती महिला पात्रको जीवन उपयोगी कुरा रहेकाले ‘सञ्जीवनी’ राखिएको उनी बताउँछिन्। ‘उपन्यासमा धेरै पीडा छ। त्यो पीडा ल्याउनेवित्तिकै क्रान्ति राख्नुपर्‍यो, संघर्ष राख्नुपर्‍यो। यो नामबाट त अगाडि पनि पुस्तकहरू आएका छन्। त्यो कारणले उपन्यासको शेष कुरा निकालेर सञ्जीवनी राखेका हौँ।’

पुरस्कार पाउन लेखेको होइन

स्रष्टाले पुरस्कार पाउनभन्दा पनि समाजमा केही मार्गनिर्देश गर्नका लागि सृजना गर्ने गरेको उनी बताउँछिन्। भन्छिन्, ‘सबै मान्छेको सोच फरक फरक हुन्छ। तर सृजना गर्दा कसैले पनि पुरस्कार पाउनका लागि गर्दैन आफ्नो सृजनाले समाजलाई परिवर्तन गर्न केही योगदान गरोस् भन्ने सबैको चाहना हुन्छ।’ केही गर्दै छ भने मान्छेलाई जस पाउने मन सबैलाई भए पनि त्यो चाहनाअनुसार आफूले मिहिनेत गर्नुपर्ने उनी बताउँछिन्।

लेख्दै गर्दा च्यातेर फालौँ जस्तै लाग्यो

उनले उपन्यास ‘सञ्जीवनी’ पाँच वर्ष लगाएर तयार परिन्। त्यस क्रममा उनले आवाजविहीनसँग घुलमिल हुन धेरै संघर्ष पनि गरिन्। उनीहरूसँग घुलमिल भएर उनीहरूको समस्या पहिचान गर्न धेरै संघर्ष गरेको उनी बताउँछिन्। भन्छिन्, ‘उनीहरूमध्ये एक जनासँग राम्रोसँग घुलमिल हुनसकेन भने अरू साथीलाई पनि बोल्न दिँदैनन्। उनीहरूका समस्या ल्याउन धेरै संघर्ष गर्नुपरेको थियो।’ 

उनले अावाजविहीनसँग घुलमिल हुनलाई फेसबुकको प्रयोग गेरेकी थिइन्। ‘उपन्यास लेख्ने बेलामा म उनीहरूको कुरा लिनलाई राती १२ बजेसम्म पनि म्यासेज गरेर बस्थेँ’, उनले भनिन्। तर उनीहरू खुलेर बोल्न नचाहने उनी बताउँछिन्। उनले भनिन्, ‘म उनीहरूसँग नजिक हुँदा कुन एनजीओबाट आएको भनेर पनि सोधे। पढेका बहिनीहरूले पनि तिम्रो स्वार्थका लागि त होला नि प्रश्न सोधेको सम्म भने।’ उनले यसका लागि दोभाषेको सहयोग लिएको बताइन्। भनिन्, ‘कति लेखेरै सोधेँ। तर सबै भाषा बुझ्न पनि मुस्किल हुने, त्यसैले दोभाषेको पनि प्रयोग गरेँ। हुनत यो मैले अप्ठ्यारो विषय रोजेछु। अप्ठ्यारो भए पनि समाजमा यसले केही दिन्छ भन्ने लागेर मैले पूरा गरेरै छाडेँ।’

यो उपन्यास लेख्दै जाँदा एक समय त लेख्न छाडौँ जस्तो भएको उनी बताउँछिन्। ‘जागिर पनि छ। यो विषयमा लेख्न धेरै मिहिनेत पनि गर्नुपर्छ। एक समय त लेख्न छाडौँ जस्तो पनि भयो। पाँच वर्षसम्म लागिसकेपछि धेरै गाह्रो भयो’, उनले भनिन्, ‘तर परिवारको हौसलाले लेख्न छाडिनँ। नत्र त बीचमा एक पटक च्यातेर फालौँ जस्तो पनि लाग्यो। दु:ख गरेपछि फाल्न नसकिनेरहेछ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.