|

हलिउड अभिनेत्री नाटाली पोर्टम्यानले बच्चैदेखि ‘यौन आतंकवाद’ सामना गर्नुपरेको व्यथा सुनाएकी छिन्। लस एन्जलस् वुमन्स मार्चका दौरान शनिबार ठूलो संख्यामा भेला भएका महिलाहरुलाई सम्बोधन गर्दै नाटालीले १३ वर्षको उमेरमै एक समर्थकले पठाएको पत्र स्मरण गरिन्। ‘मैले १२ वर्षको उमेरमै पहिलो फिल्म खेलेकी थिएँ। १३ वर्षको छँदा फिल्म रिलिज भयो। एक फ्यानले पत्र पठाए। मैले आतुर भएर पत्र खोलेँ। तर त्यो डरलाग्दो थियो,’ नाटालीले भनिन्,’ ती समर्थकले लेखेको पत्रमा उनको सपनाबारे उल्लेख थियो। सपनामा उनले मलाई बलात्कार गरेको देखे रे! बलात्कार गर्दा उनलाई आएको मज्जाबारे पत्रमा लेखिएको थियो। यसले मलाई निकै लामो समयसम्म दुखित बनायो। मेरो सातो गयो।'

इजरायली मुलकी अमेरिकी अभिनेत्री तथा निर्देशक नाटालीले फिल्म समीक्षक तथा पत्रकारहरुले पनि यौन हिसांलाई बढावा दिएको बताइन्। ‘जब म १८ वर्षको भएँ अर्थात कानुनी रुपमा कसैसँग रात बिताउन पाउने भएँ। त्यही दिन मेरा स्तनका विषयमा पत्रिकामा समाचार छापियो। म कति सेक्सी छु भनेर लेखियो,’ सायद उनीहरुलाई मेरो अभिनयको समीक्षा गर्नेभन्दा पनि यही कुरा लेख्‍न प्रतिक्षा थियो।  

३६ वर्षीया नाटालीले आफ्नो शरीरका विषयमा अरुले टिका टिप्पणी गर्दा असुरक्षित महसुस गर्ने गरेको बताइन्। उनले आफ्नो व्यावसायिक करियरभन्दा पनि शरीरका विषयमा मानिसहरुले धेरै चर्चा गर्ने गरेकाले किस सिन दिन अस्विकार गर्ने गरेको बताइन्।

'१३ वर्षमा मैले पाएको पत्र मेरा लागि मेरो संस्कृति र समाजले दिएको सन्देश थियो,’ नाटालीले भनिन्,’ यसपछि मैले सुरक्षित हुनका लागि मेरो शरीर ढाक्‍नुपर्छ भन्‍ने बुझेँ। संसारलाई म पनि सन्देश दिन चाहन्थें। म पनि मूल्यवान् र सम्मानित छु।'

उनले महिला हिंसाबारे महिलाहरु आफैं सजग हुनुपर्ने बताइन्। पुरुषहरुले महिलाको शरीर नभएर बौद्धिकताको चर्चा गर्नुपर्ने उनको धारणा छ। शनिबार लस एन्जलसमा भएको वुमन्स मार्चमा सहभागि हुने दर्जनौं सेलिब्रेटीहरुमध्ये नाटाली एक हुन्। स्कारलेट जोहान्स्सन, इभा लोङ्गोरियाह, लेस्ली आन वारेन, गेइ हार्डनलगायतका सेलिब्रेटीहरु पनि लस एन्जलसमा भेला भएका थिए। मार्चपासमा लाखौं महिलाको सहभागिता थियो।

शक्ति र पैसाको आडमा पुरुषहरुले महिलाहरुमाथि गर्ने यौनहिंसाको विरोध गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल सुरु भएको पहिलो वर्षगाँठका अवसरमा शनिबार दोस्रोपटक र्‍याली आयोजना गरियो। यसअघि सन् २०१७ जनवरीमा ट्रम्पले कार्यकाल सम्हालेको भोलिपल्टै मार्चपास र्‍याली निकालिएको थियो। र्‍यालीका सहभागिहरुले उनको ठूलो विरोध गरेका थिए।

यसपटक सहभागीहरुले अमेरिकी सरकारको सेवा बन्द ‘सटडाउन’ले देशलाई पछि धकेल्ने धारणा राखेका थिए। अमेरिकामात्रै नभएर विश्‍वका २ सय ५० ठूला शहरमा पनि यस्तो र्‍याली मनाइएको छ। सम्बन्धित देशमा महिला हिंसाको अवस्था र महिलालाई अवसर नदिइएको विषयमा र्‍यालीका सहभागीहरुले आक्रोश व्यक्त गरेका थिए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.