|

काठमाडौं : २४औँ संस्करणको क्यान इन्फोटेक (सूचना प्रविधि मेला) माघ ११ गतेदेखि सुरु हुने भएको छ। ६ दिनसम्म चल्ने मेलाको सम्पूर्ण तयारी पूरा भइसकेको क्यान महासंघले आइतबार पत्रकार सम्मेलन गरी जारकारी गराएको हो।

महासंघले २४औँ संस्करणको क्यान इन्फोटेकको नाम 'सुविसु क्यान इन्फोटेक २०१८ ईन एशोसिएशन विथ मोटोरोल्ला' दिइएको छ। २४औँ संस्करणको इन्फोटेकमा २२२ स्टलहरू बुकिङ भइसकेको क्यान महासंघका महासचिव रञ्जितकुमार पोदारले बताए।

प्रदर्शनी हलभित्र र बाहिरसमेत स्टल राखिने व्यवस्था गरिएकोमा भित्र हार्डवेयर सेल्स तथा मेन्टिनेन्स्, पावर सोलुसन्स्, मोबाइल एक्सेसरिज, डिलर र डिस्ट्रिव्युटर्स, इन्टरनेट सेवाप्रदायकका स्टलहरू रहनेछन्। त्यस्तै, टेलिकम्युनिकेशन्स्, आईसीटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युट्स, सफ्टवेयर सोलुसन्स्, पेमेन्ट सोलुसन्सलगायतका स्टल पनि हलभित्र राखिएको महासंघले जनाएको छ।

मेलामा सूचना तथा सञ्चार प्रविधिका नयाँनयाँ प्रविधि, उपकरणहरूको अवलोकन तथा खरिदसमेत गर्न सहज हुने र अन्य समयको तुलनामा छुट हुने आयोजकले जनाएको छ। क्यानले सन् १९९५ देखि मेला आयोजना गर्दै आएको छ।

मेला अवलोकनका लागि सर्वसाधारणहरूलाई १०० रुपैयाँ र विद्यार्थीलाई ५० रुपैयाँ शुल्क तोकिएको छ। २०७४ माघ १४ गते आइतबारको दिनलाई 'विजनेश डे'को रूपमा घोषणा गरिएको छ। उक्त दिनको प्रवेश शुल्क सम्पूर्ण अवलोकनकर्ताहरूका लागि १०० रुपैयाँ तोकिएको छ।

त्यस्तै, मेलाका लागि ईसेवाक्यानडटकमडटएनपीबाट टिकट बुकिङ गर्न सकिने व्यवस्था गरिएको छ। यसरी टिकट काट्दा २० प्रतिशत छुटमा उपलब्ध गराइने महासंघले जनाएको छ।

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.