|

काठमाडौं : पार्टी एकता गर्न गठिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता संयोजन समितिको बैठकले राष्ट्रियसभा निर्वाचनका लागि गठित कार्यदलले बनाएको प्रतिवेदन पारित गरेको छ। आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको संयोजन समितिको बैठकले कार्यदलले प्रस्तुत गरेको सिट बाँडफाँटको प्रस्तावलाई अनुमोदन गरेको हो। 

दुवै पार्टीको नेताहरू सम्मिलित कार्यदलले राष्ट्रियसभाका लागि जम्मा ४३ सिटमध्ये एमालेले २९ सिटमा र १४ सिटमा माओवादी केन्द्रले उठाउने सहमति गरेको थियो। सोही प्रतिवेदन बैठकमा पेस गरेर पारित गरिएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए।  

घोषणापत्र कार्यान्वयन गर्न कार्यदल

यसैबीच आइतबार सम्पन्न कार्यदलको बैठकले आगामी सरकारलाई सफल बनाउनका लागि छुट्टै कार्यदल निर्माण गरेको छ। त्यसअनुसार वाम गठबन्धनको सरकारका लागि विकास तथा सुशासनका कार्ययोजनाहरू निर्माण गर्न एमाले उपाध्यक्ष वामदेव गौतमको नेतृत्वमा सात सदस्यीय कार्यदल बनाएको छ। उक्त कार्यदलमा दुवै पार्टीका नेताहरू गिरिराजमणि पोखेरल, वर्षमान पुन, भीम रावल, विजय पौडेल, युवराज खतिवडा र मीनबहादुर श्रेष्ठ रहेका छन्।

पार्टी एकताबारे थप छलफल

बैठकमा एमाले र माओवादीबीच पार्टी एकता गर्नेबारे पनि छलफल भएको थियो। तर, यसबारे राष्ट्रियसभा तथा सरकार गठनपछि मात्र ठोस निर्णय हुनसक्ने देखिएको छ। एकताबारे एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच थप छलफल गरिने एमाले नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए। ‘पार्टी एकताबारे चासो लिनुभएकोमा यहाँहरूलाई धन्यवाद', नेम्वाङले भने, 'यस विषयमा दुई नेतृत्वबीच थप छलफल गरेर अर्को कार्यदल बनाएर अगाडि बढ्नेछौँ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.