|
उदयपुर विमानस्थलका लागि नक्सांकन गरिएकाे तस्बिर ।

उदयपुर : उदयपुरवासीको आकाशमा उड्ने सपना ४५ वर्षमा पनि पूरा हुन सकेको छैन। ०३१ देखि नै जिल्लामा विमानस्थल निर्माण गर्ने भनिए पनि ०७४ बित्न लाग्दासम्म नबनेपछि उनीहरूको आकाशबाट यात्रा गर्ने सपना अधुरै रहेको हो।

पछिल्लो पटक त्रियुगा नगरपालिका–२ स्थित जोगीदहमा विमानस्थल निर्माणका लागि प्राविधिक सर्वे र वातावरणीय प्रभाव मूल्या‌ंकन भएको एक वर्ष भइसकेको छ। यसअघि जिल्लाका दुई ठाउँमा विमानस्थलको शिलान्यास नै गरिसकिएको थियो।

शिलान्यासको सिलसिला

विमानस्थल निर्माणका लागि साविक त्रियुगा नगरपालिका–३ हाल थारुह रंगशाला रहेको क्षेत्रमा पहिलो पटक शिलान्यास गरिएको थियो। त्यस क्षेत्रको १४ बिगाहा १६ कट्ठा १६ धुर जग्गा अतिक्रमणमा पर्‍यो। त्यसपछि प्राविधिक हिसावले विमानस्थल बन्न नसक्ने प्राविधिक समितिले प्रतिवेदन पेस गर्‍यो।

दोस्रो पटक साविकको त्रियुगा नगरपालिका–१० उत्तराइटोलमा शिलान्यास भयो। त्यहाँ पनि विवाद भएपछि पछिल्लो पटक जोगीदहमा शिलान्यास गरिएको हो। यसअघि शिलान्यास गरिएका ठाउँमा धेरै विवाद भएकाले तेस्रो ठाउँ चयन गरिएको विमानस्थल निर्माण समितिका अध्यक्ष वीरेन्द्र बस्नेतले बताए।

जोगीदहमा विमानस्थान निर्माणका लागि कंग सामुदायिक वन र मोतियाही सामुदायिक वनले १ सय ५ बिगाहा खाली जग्गा निःशुल्क उपलब्ध गराएको हो। विमानस्थल निर्माणका लागि दुई आर्थिक वर्षअघि १ करोड विनियोजन गरिएपनि उक्त बजेट समेत फ्रिज भएको थियो।

‘गत वर्ष मात्र प्राविधिक सर्भे र वातावरणीय प्रभाव मूल्याङ्कन भयो,’ अध्यक्ष बस्नेतले भने, ‘प्रतिवेदन वातावरण मन्त्रालयमै रोकिएको छ।’ समुद्री सतहदेखि १ सय २५ देखि १ सय ४८ मिटरको उचाईमा रहने विमानस्थलमा वर्षातमा कुहिरो र हिउँदमा हुस्सु नलाग्ने प्रतिवेदनमा उल्लेख छ।

विमानस्थल भोट माग्ने भाँडो

जब निर्वाचन नजिकिन्छ तब विमानस्थल निर्माणको एजेण्डाले अन्य एजेण्डालाई ओझेल पार्छ। तर, निर्वाचन सकिएपछि उक्त एजेन्डा बिस्तारै सलाउँदै जाने स्थानीयहरूको भनाइ छ। ‘विमानस्थल बनाउने कुरा चुनावको बेला मात्र चर्चा हुन्छ,’ गाईघाटका शिव शाहले भने, ‘चुनाव सकिए लगत्तै चर्चा सेलाउँछ।’ निर्वाचित प्रतिनिधिहरूले पनि यसलाई बिर्सिने गरेको स्थानीयको गुनासो छ। 

विमानस्थल बन्न नसक्नुमा निर्माण समितिका पदाधिकारीको इच्छाशक्ति नहुनु, जिल्लामा केन्द्रसम्म पहुँच पुग्ने नेता नभएको स्थानीयको बुझाइ छ। कानुन व्यवसायी अधिवक्ता कृपाराम चौधरीका अनुसार जिल्लामा पहुँचवला नेता नहुँदा समस्या भएको बताए। जिल्लावासीको गुनासो भइरहेका बेला प्रदेश सांसद बिमल कार्कीले भने अब निर्माणले चाँडै  गति लिने बताए। उनले भने, ‘नयाँ सरकारले विमानस्थल निर्माणबारे निर्णय गर्छ।’

जंगलभन्दा खोलामै उचित

जोगीदहमा विमानस्थल निर्माणगर्दा १ सय ५६ दशमलव ११ हेक्टर क्षेत्रफलमा फैलिएको जंगल फडानी गर्नुपर्दछ। जसमध्ये सामुदायिक वनको १ सय २४ र ३२ हेक्टर राष्ट्रिय चुरे वन फडानी गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ।

उक्त क्षेत्रमा विमास्थल निर्माण गरिए ३५ हजार ५ सय १४ वटा रुख काट्नु पर्ने हुन्छ। जसमध्ये ९२ प्रतिशत साल जातका रुख छन्। त्यसैले गाईघाट आसपासमा रहेको त्रियुगा र बरुवा खोला बगर क्षेत्रमा विमानस्थल निर्माण गर्न स्थानीयले प्राविधिक सर्वे र वातावरणीय प्रभाव मूल्याङ्कन टोलीलाई सुझाव दिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.