|

नेपाल भलिवलसंघ सँगको सहकार्यमा उद्योग वाणिज्य महासंघले ‘एफएनसिसिआई कप राष्ट्रिय भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ। प्रतियोगिताका लागि महासंघले भलिवलसंघसँग वार्षिक १ करोड २० लाखमा तीन वर्षे सम्झौता गरेको छ।

महासंघका तर्फबाट उपाध्यक्ष उमेशलाल श्रेष्ठ र संघको तर्फबाट अध्यक्ष मनोरञ्जन शर्माले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए। प्रतियोगिता पुरुष र महिला दुवै विधामा हुने भलिवल संघले जनाएको छ। प्रतियोगिताको विजेताले नगद २ लाख प्राप्त गर्ने जनाईएको छ भने उपविजेता र तेस्रो हुनेले क्रमश १ लाख र ५० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ।

एफएनसिसिआईले नयाँ प्रतिभाले राष्ट्रिय टिममा मौका पाउन भन्ने उद्देश्य सहित हरेक जिल्लाबाट जिल्ला छनोट र प्रदेश हुँदै राष्ट्रिय प्रतियोगिताको खाका तयार गरेको छ। युवा तथा खेलकुद मन्त्रालयको प्रत्यक्ष संलग्नतामा भलिवलसंघसँग सम्झौता गर्दै महासंघले राष्ट्रिय खेल भलिवलको देशब्यापि लोकप्रियतालाई ध्यानमा राख्दै प्रतियोगितामा लगानि गरेको महासँघ अध्यक्ष भवानी राणाले जानकारी दिइन्।

जिल्लामा टिमअनुसार नकआउट या लिगकम नकआउट प्रतियोगिता गर्ने भन्ने तय महासंघ र संघको स्थानीय साखाले तय गर्नेछ। यस्तोमा प्रदेशमा भने लिग कम नकआउट आधारमा छनोट प्रतियोगिता सम्म्पन्न हुने छ। जिल्लामा २५ माघदेखि १० फागुन सम्म छनोट प्रतियोगिता हुने छ भने प्रदेशमा १० फागुन देखि १० चैतसम्म प्रतियोगिता आयोजना हुनेछ। त्यसपछि फाइनल चरणको प्रतिष्पर्धा २० देखि २८ चैत सम्म काठमाडौंमा आयोजना हुने भलिवल संघले जानकारी दिएको छ।

विभागीय टिम सहभागी हुन नपाउने

प्रतियोगितामा विभागिय टिममा रहेका कुनैपनि खेलाडीले सहभागिता जनाउन नपाउने आयोजकले जनाएको छ। विभागीय टिमको राष्ट्रिय टिममा दबदबा रहेको र उनीहरुले पर्याप्त मौका पाइरहेकाले ग्रामीणस्तरका प्रतिभालाई मौका दिन विभागीय टिमका खेलाडी सहभागी नगराइन लागेको आयोजकले जनाएको छ।

सम्झौता समारोहमा खेलकुद मन्त्री राजेन्द्र केसी, सचिव महेश प्रसाद दाहाल, अन्तराष्ट्रिय मान्यता प्राप्त ओलिम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, महास‌ंघ अध्यक्ष भवानी राणा तथा भलिबल संघका पधाधिकारीहरुको उपस्थिति थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.