|

धनकुटा : धनकुटा प्रादेशिक राजधनी निर्माण संघर्ष समितिले आह्वान गरेको अनिश्चितकालीन आमहडतालको छैटौँ र स्थानीय प्रशासनले जारी निशेधाज्ञाको पाँचौँ दिन सोमबार पनि धनकुटाको

जनजीवन बिहानैदेखि प्रभावित भएको छ। धनकुटालाई प्रादेशिक राज्यको राजधानी माग गर्दै आह्वान गरिएको बन्दका क्रममा हिंसात्मक घटना बढेको भन्दै स्थानीय प्रशासनले निशेधाज्ञा जारी गरेको हो।

प्रदेशको अस्थायी मुकाम नतोकेको विरोधमा भएको प्रदर्शन हिंसात्मक बनेपछि धनकुटा बजार क्षेत्रमा प्रशासनले बिहीबारबाट लगाएको निषेधाज्ञा सोमबारसम्म पनि जारी छ।

आमहडताल र निशेधाज्ञाको असर नागरिकको दैनिकीमा परेको छ। धनकुटा बजार क्षेत्रमा बिहानैदेखि बजार, पसल, शैक्षिकसंस्था, यातायात, कलकारखाना पूर्णरूपमा बन्द छन्।

जसको कारण कोसी राजमार्गको भेडेटार वसन्तपुर खण्डमा यातायातका साधन पूर्णरूपमा ठप्प छन्। सवारीसाधन, बजारपसल, उद्योगधन्दा, शिक्षणसंस्थालगायत सबै कार्यालय बन्द हुँदा जनजीवन अस्तव्यस्त बनेको हो।

कोसी राजमार्गको उक्त खण्डमा सवारीसाधन नचल्दा भोजपुर, तेह्रथुम र संखुवासभाको जनजीवन पनि प्रभावित बनेको छ।

आक्रोशित प्रदर्शनकारी आगजनी र तोडफोडमा उत्रिएर पटक–पटक झडप हुन थालेपछि बिहीबार बिहान साँढे ११ बजेबाट अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको हो। प्रदर्शनकारीले दुई सरकारी कार्यालय र एउटा मोटरसाइकलमा आगजनी गर्नुका साथै दर्जन बढी सवारीसाधन तोडफोड गरेका थिए। दोहोरो झडपमा ६ प्रदर्शनकारी, १५ प्रहरी र एक एम्बुलेन्स चालक घाइते भएका छन्।

स्थानीय प्रशासनले धनकुटा बजारको पूर्वमा बिहीबारेहाट, पश्चिममा नगरपालिकाको ढाट, उत्तरमा लोकसेवा क्षेत्रीय कार्यालय, दक्षिणमा चिरबिरे चौतारा बीचको क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरेको हो।

निषेधित क्षेत्रमा ५ जना भन्दा बढीको समूहमा डिँड्डुल गर्न नपाइने प्रशासनले जनाएको छ। निषेधित क्षेत्रभित्र सडकमा समूहमा हिँड्डुल गर्न नपाइने र हिँड्डुल गरेको भेटिए प्रहरीले पक्राउ गर्न सक्ने र अटेर गरेर प्रदर्शन गरेमा प्रहरीले गोली चलाउन सक्ने प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले जानकारी दिए।

यसैबीच, निषेधाज्ञा उल्लंघन गर्दै आन्दोलनकारीले मदनचौकमा टायर बालेर सरकारी निर्णयविरुद्ध प्रदर्शन पनि गरेका छन् भने ठाउँठाउँमा प्रधानमन्त्री शेरबहादुर देउवाको पुतला दहन गरेका छन्। १ नम्बर प्रदेशको अस्थायी मुकाम विराटनगर तोक्ने सरकारी निर्णय फिर्ता नभएसम्म हडताल जारी राख्ने आन्दोलन परिचालन समितिले जनाएको छ।

घरघरको बरण्डा र पेटीमा थाल ठटाएर विरोध

प्रदेश नं. १ को अस्थायी राजधानी धनकुटा मागिरहँदा सरकारले विराटनगर तोकिएपछि विरोधमा उत्रिएका धनकुटावासीले आइतबार घरमा नै बसेर थाल ठटाएर विरोध गरेका छन्। स्थानीय प्रशासनले ‘निषेधाज्ञा’ निरन्तर कायम गरेर सभा, सम्मेलन र विरोधका कार्यक्रम गर्न नदिएपछि धनकुटावासीले घरबाहिर पेटीमा बसेर करिब एक घण्टा थाल ठटाएका थिए।

प्रदेश नं. १ को अस्थायी राजधानी तोकिनुपर्ने माग राख्दै धनकुटावासी विगत ३७ दिनदेखि आन्दोलन गर्दै आइरहेका छन्। उनीहरुले आइतबार मध्याह्न १२ बजेदेखि एक घण्टा धनकुटा बजारका नागरिकले थाल ठटाएका हुन्।

घरघरमा कालो झण्डा

प्रदेश नम्बर १ को राजधानी धनकुटा बनाइनुपर्ने माग गर्दै आन्दोलित धनकुटाबासीले सरकारले विराटनगरलाई अस्थायी मुकाम तोकेको विरोधमा धनकुटा सदरमुकामका घरघरमा कालो झण्डा गाडेका छन्।

उनीहरूले जिल्ला सदरमुकामका घरघरमा सोमबार कालो झण्डा गाडेको हुन्। आन्दोलन परिचालन समितिका संयोजक सुन्दरबाबु श्रेष्ठले धनकुटावासी र आन्दोलन परिचालन समितिको निर्णयअनुसार कालो घरघरमा कालो झण्डा गाडिएको बताए।

‘हामीले धनकुटालाई प्रादेशिक राजधानी बनाउन माग गर्दै आन्दोलन गरिरहेको बेला सरकार अन्तर्राष्ट्रिय सिमानामा लगेर राजधानी तोकेकोमा विरोध गरेका हौं।’ उनले भने, ‘सबै हिसाबले उपयुक्त धनकुटालाई छोडेर अन्यत्र प्रादेशिक राजधानी स्वीकार्य छैन।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.