|

सञ्जय लिला भन्साली निर्देशित फिल्म पद्मावतको विरोध भइरहेको छ । करणी सेना र थुप्रै राजपूत संगठनहरुले फिल्म रिलिज हुन नदिने धम्की दिइरहेका छन् । जबकी भारतको सर्वोच्च अदालतले फिल्म प्रदर्शनका लागि बाटो खुला गरिदिएको छ ।

यो फिल्म आगामी बिहीबार (जनवरी २५) बाट भारतमा प्रदर्शन हुने तय  छ । फिल्मका विषयमा विवाद बढ्ने देखिएकै कारण निर्माण पक्षले पद्मावतीको सट्टा फिल्मको नाम पद्मावत राखेको थियो । त्यस्तै फिल्मको चर्चित गित ‘घुमर’ को भिडियोलाई पनि परिवर्तन गरिएको छ । तर पनि विरोध कम भएको छैन । साहिद कपूर, रणविर कपूर र दिपिका पादुकोणजस्ता मल्टिस्टारर अभिनित यस फिल्म विवादपछि आफैं चर्चामा तानिएको छ । जसका कारण निर्माण टिमले प्रचार-प्रसार गर्नुपर्ने आवश्यकता नै देखिएको छैन ।

प्रदर्शन रोक्‍न माग गर्दै मुद्दा

यसैबीच राजस्थान र मध्यप्रदेश राज्य सरकारले फिल्म प्रदर्शनबारेको पुरानो फैसला पुनर्विचार गर्न माग गर्दै सर्वोच्चमा फेरि रिट दायर गरेका छन् । यसअघि अदालतले नै २५ जनवरीबाट फिल्म प्रदर्शन गर्न मिल्ने फैसला सुनाएको थियो । तर यस विषयमा दुई राज्य सरकारले संशोधन याचिका दर्ता गराएपछि सर्वोच्चले मंगलबार अन्तिम सुनुवाई गर्दैछ ।

कलाकारहरु प्रदर्शनको पक्षमा

यसैबीच बलिउड अभिनेत्री रेणुका शहाणेले यस विरोधको अर्थ नरहेको भन्दै फेसबुकमा पोस्ट गरेकी छिन् । अधिकांश फिल्मकर्मीहरु पद्मावतको पक्षमा देखिएका छन् भने धार्मिक कट्टरपन्थीहरु विरोधमा । सञ्जय लिला भन्सालीको आग्रहपछि अक्षयकुमार आफ्नो फिल्म प्याडम्यानलाई फेब्रअरी ९ मा सार्न राजी भइसकेका छन् । यसअघि यो फिल्म पनि पद्मावतसँगै रिलिज हुने तय थियो ।

किन विवादमा ?

फिल्ममा रानी पद्मावतीको कथा देखाइएको छ । १३ देखि १४ औं शताब्दीकी यी रानी असली व्यक्ति नभएर उपन्यासकी काल्पनिक पात्र मात्रै हुन् । भारतीय सुफी कवि मलिक महोम्मद जयासीले १५४० मा लेखेको उपन्यास पद्मावतीमा यी पात्र प्रमुख छिन् ।

तर, धार्मिक कट्टरपन्थीहरुले रानी पद्मावती वास्तविक व्यक्तित्व रहेको दाबी गर्दै आएका छन् । उनीहरुले रानीप्रति आफ्नो आगाध आस्था रहेको भन्दै फिल्ममा पद्मावतीलाई गलत ढंगले चित्रण गरिएको आरोप लगाएका छन् ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.