|

गुवाहटी : समालोचक डा. गोमादेवी शर्मा (अधिकारी)द्वारा लिखित ‘भारतीय नेपाली साहित्यको विश्लेषणात्मक इतिहास’ आइतबार गुवाहटीमा विमोचन गरिएको छ।

प्रेस क्लब, गुवाहटीमा ख्यातिप्राप्त आख्यानकार एवं साहित्य अकादमी पुरस्कार विजेता लीलबहादुर छेत्री एवं असम नेपाली साहित्य सभा, कामरूप शाखाकी अध्यक्ष डा. इन्दुप्रभा देवीले संयुक्त रूपमा सार्वजनिक गरेका हुन्।  

उक्त ग्रन्थ भारतेली नेपाली साहित्यको एउटा वृहत् कोश भएको र यसमा प्रारम्भदेखि वर्तमानसम्म भारत भूमिमा लेखिएको नेपाली साहित्यको विश्लेषण गर्ने प्रयास गरेको लेखिकाले बताएकी छन्।

समारोहमा बोल्दै प्रमुख अतिथि लीलबहादुर छेत्रीले यस गन्थ्रले भारतेली नेपाली साहित्यको एउटा वैज्ञानिक अभिलेखीकरण गरेको बताए। डा. इन्दुप्रभा देवीले कृतिको आयतन् वृहत भएजस्तै यसको उपादेयता र प्रभाव पनि वृहत् हुने बताइन्। 

यो ग्रन्थ मुख्य रूपमा आठवटा अध्यायहरूमा बाँडिएको छ। पहिलो अध्यायमा इतिहासको सैद्धान्तिक परिचय, दोस्रो अध्यायमा नेपाली भाषाको उद्भव र विकासका साथै भारतमा गोर्खालीहरू आएका भन्ने प्रश्नमाथि विमर्श, नेपाली समाज र भारत, अहिलेसम्म गरिएका कार्यको विवरण आदि उल्लेख गरिएको छ भने तेस्रो अध्यायमा भारतीय नेपाली साहित्यको काल विभाजन र नामकरण छ।

चौथो अध्यायमा प्रारम्भिककाल, पाँचौँ अध्यायमा भक्तिकाल, छैठौँ अध्यायमा मोतीराम युग, सातौँ अध्यायमा आधुनिककालअन्तर्गत नवजागरणकाल, स्वच्छन्दतावादी युग, आयामिक आन्दोलनकाल र नवलेखनकालमा विभाजित गरिएको छ। 

प्रत्येक कालखण्डमा तत्कालीन साहित्यलाई प्रभावित पार्ने देशका सामाजिक, आर्थिक, राजनीतिक, धार्मिक आदि परिस्थितिहरूको विश्लेषण, अन्य भारतीय साहित्यसँग तुलना, गद्य, पद्य दुवै साहित्यका प्रमुख प्रवृत्तिको विश्लेषण र कालविशेषको साहित्यको विकास गर्ने पत्रपत्रिकाहरूको परिचय दिइएको छ।

लामो समयदेखि नेपाली साहित्यको प्रकाशनमा समर्पित गोर्खा ज्योति प्रकाशन, मणिपुरले यो पुस्तक प्रकाशन गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.