|

लहान : सिरहाको जिल्ला सदरमुकामसमेत रहेको सिरहा नगरपालिका क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरूले तलब नपाउँदा समस्या परेको गुनासो गरेका छन्। 

नेपाल स्वास्थ्यकर्मी युनियन सिरहाका अध्यक्ष रामसेवक रायले सिरहा नगरपालिका क्षेत्रका स्वास्थ्य चौकीमा कार्यरत कार्यालय सहायकदेखि स्वास्थ्यकर्मीहरूले तलब नपाउँदा समस्या भएको गुनासो गरे। 

सिरहा नगरपालिका– ११ भलुवाहीस्थित स्वास्थ्य चौकीका इञ्चार्जसमेत रहेका रायले भने, ‘पछिल्लो पाँच महिनाको तलब बाँकी थियो, कैयौँ पटक गुहारेर मंसिरसम्मको तलब खुवाए तर पनि पुसको रोकेर राखिएको छ।’ रायका अनुसार नगर क्षेत्रका स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी र कर्मचारी गरी करिब २०० जना कार्यरत रहेका छन्। 

त्यस्तै, सिरहा नगरपालिका– १७ माडरस्थित स्वास्थ्य चौकीका इञ्चार्ज श्यामबाबु यादवले भने, ‘तलब नपाउँदा घर व्यवहार चलाउन समस्या पर्‍यो।’ 

आन्दोलनको तयारीपछि मात्र तलब
स्वास्थ्य संस्थाहरू स्थानीय तहमा गएपछि सिरहास्थित जिल्ला अस्पतालमा कार्यरत ११औँ तहदेखि कार्यालय सहायसम्मका कर्मचारीले आन्दोलनकै धम्की दिएपछि तलब खुवाएको स्वास्थ्यकर्मीहरू बताउँछन्। ‘पाँचपाँच महिनासम्म कसरी काम गर्ने, हाम्रो घर व्यवहार चलाउनुपर्दैन?’, अस्पतालका स्वास्थ्यकर्मीहरूले भने। धेरै पटक गुहार्दा पनि तलब नपाएपछि आन्दोलनको तयारी गरिरहेकै बेला तलब पाएको उनीहरूले बताए। 

प्रशासकीय अधिकृत भन्छन् : बजेट मागेका छौँ 
जिल्ला समन्वय समिति सिरहाका स्थानीय विकास अधिकारीसमेत रहेका सिरहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश राउतले अस्पतालमा कार्यरत चिकित्सकदेखि स्वास्थ्यकर्मी र कार्यालय सहायकसम्मका कर्मचारीलाई पुससम्मको तलब खुवाएको जानकारी दिए।

‘नगर क्षेत्रमा पर्ने अन्य स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको बजेट नभएकाले पुस महिनाको तलब खुवाउन सकेका छैनौँ’, उनले भने, ‘अर्थ मन्त्रालयमा माग गरिसकेका छौँ, निकासा हुनेवित्तिकै तलब खुवाउँछौँ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.