|

धनकुटा : धनकुटामा गत बिहीबारदेखि स्थानीय प्रशासनले जारी गरेको अनिश्चितकालीन निषेधाज्ञा १६ घण्टाका लागि हटाइएको छ।

जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणको दैनिकीमा असर परेको भन्दै सोमबार अपराह्न ३ बजेदेखि मंगलबार बिहान ७ बजेसम्म निषेधाज्ञा हटाएको हो।

स्थानीयलाई आवतजावत तथा घरायसी काम गर्नका लागि १६ घण्टाको लागि निषेधाज्ञा हटाइएको स्थानीय प्रशासनले माइकिङ गरेर जानकारी दिएको छ। 

यता, धनकुटाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले सोमबार अपराह्न ३ बजेदेखि मंगलबार बिहान ७ बजेसम्म सर्वसाधारणको हितका लागि निषेधाज्ञा हटाइएको बताए।

गत बुधबारदेखि धनकुटालाई प्रदेश नम्बर– १ को राजधानी माग गर्दै गरिएको अनिश्चितकालीन आमहडतालका क्रममा भएको आन्दोलन हिंसात्मक बनेपछि स्थानीय प्रशासनले धनकुटा बजार क्षेत्रमा बिहीबार बिहान साढे ११ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको थियो।

निषेधाज्ञा हटाइएपछि अहिले जनजीवन केही सहज बने पनि गत बुधबारदेखि स्थानीयद्वारा आह्वान गरिएको अनिश्चितकालीन आमहडतालले जनजीवन सामान्य बन्न सकेको छैन।

यता, राणाकालमा प्रशासनिक गौँडा हुँदै पछि आएर पूर्वाञ्चल विकास क्षेत्रको सदरमुकामसमेत बनेको धनकुटामा पर्याप्त भौतिक पूर्वाधार, प्रदेशको केन्द्र भाग, उपयुक्त हावापानी, मजबुत सुरक्षा व्यवस्था, सामथ्र्य, पहिचान रहेको धनकुटालाई छाडेर अन्यत्र प्रदेश राजधानी स्वीकार नगरिने अडान राख्दै आएका जिल्लावासी धनकुटालाई धनकुटालाई छाडेर अन्यत्र प्रदेश राजधानी तोकेको भन्दै आक्रोशित बनेका छन्। 

सरकारले बुधबार अस्थायी राजधानीसम्बन्धमा गरेको निर्णय फिर्ता नभएसम्म आन्दोलन जारी रहने आन्दोलन परिचालन समितिका संयोजक सुन्दरबाबु श्रेष्ठले बताए। धनकुटालाई प्रदेश राजधानी घोषणाका लागि जस्तोसुकै मूल्य चुकाउन पनि पछि नपर्ने उनको भनाइ थियो।

प्रदेश राजधानी घोषणाका लागि पटक पटक दबाब दिँदै आएका धनकुटावासीले पछिल्लो ३७ दिनयता निरन्तर आन्दोलन गरेर बुधबारदेखि आमहडताल गरेर प्रदेश राजधानी घोषणाको माग गर्दै आएका हुन्। यसका कारण धनकुटाको जनजीवन प्रभावित भएको छ। गत बुधबार सरकारले विराटनगरलाई प्रदेश नम्बर– १ को अस्थायी राजधानी तोकेपछि धनकुटामा आन्दोलन थप चर्किएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.