|

काठमाडौं :पार्टी एकता, राष्ट्रियसभा निर्वाचन, प्रदेश सरकार गठनलगायत विषयमा छलफल गर्न एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहलबीच पछिल्लो समय भेटवार्ता बाक्लिँदै गएको छ।

अोली र दाहालबीचको भेटघाट र वार्ता बाक्लिँदै गएपछि कार्यकर्ताहरू पनि पार्टी एकता हुनेमा विश्वस्त हुँदै गएका छन्।  नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणको प्रक्रियाअघि बढेसँगै नयाँ बन्ने नेतृत्व कसले लिने भन्ने चर्चा चल्न थालेको छ। पार्टी एकीकरणपछि सरकारको नेतृत्व एमाले अध्यक्ष ओली र पार्टीको नेतृत्व माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गर्नुपर्ने माग पनि आएको छ। तर एमालेका केही नेताहरूले भने पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै ओली हुनुपर्ने अडान  राख्दै आएका छन्।

एउटै कम्युनिष्ट केन्द्र बनाएर देशलाई समृद्ध बनाउने नाराका साथ गठबन्धन बनाएर चुनावमा प्रतिस्पर्धा गरेका यी दुई दल पार्टी एकताका लागि दैनिकजसो गृहकार्यमा जुटिरहेका छन्। जनताले निर्वाचनमार्फत पार्टी एकताको मुद्दालाई अनुमोदन गरेको भन्दै यी दलका नेताहरू कुनै पनि हालतमा पार्टी एकता हुने बताउँदै आएका छन्।

नेतृत्वको विषयमा भने छलफल भइनसकेको माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसाल बताउँछिन्। ‘अहिले खाली सैद्धान्तिक पाटो र वैचारिक पाटोका विषयमा मात्र छलफल भइरहेको छ’, उनले भनिन्, ‘नेतृत्वको विषयमा छलफल भएको छैन। यो आफैँ मिल्छ। पार्टी एकतापछि नेतृत्वको विषय भनेको खासै ठूलो विषय होइन।’

तर पार्टी एकता सँगसँगै नेतृत्व व्यवस्थापन पनि उत्तिकै चुनौतीपूर्ण देखिन्छ। जिल्ला तह र केन्द्रीय तहमा नेतृत्व व्यवस्थापनमा यी दलहरू यतिबेला गृहकार्यमा छन्। यी दुई पार्टीबीच एकता भएपश्चात पार्टीको नेतृत्व कसले लिन्छ भन्ने कौतूहल पनि उत्तिकै छ। तर पार्टी नेतृत्वले भने आफूहरूलाई पदभन्दा पनि देशमा स्थायित्व चाहिएको बताउँदै आएका छन्। उनीहरूभित्र भने कसले नेतृत्व लिने भन्ने समस्या नै रहेको एक नेताले बताए। उनले भने, ‘पार्टीको नेतृत्व कसले लिने भन्ने समस्या त छ नि! दुवै जनाले संघर्ष गर्नुभएको छ। यो कुरा व्यवस्थापन गर्न चुनौती छ।’ यी दुई पार्टीभित्र नेतृत्व कसले लिने भन्ने विवादका कारण पनि एकताका लागि ठोस निर्णय हुन नसकेको पर्टी स्रोतले बताएको छ।

माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य तिलक परियारले दुई पार्टी एक भएर बनेको नयाँ पार्टीको अध्यक्ष प्रचण्ड हुनुपर्ने बताए। उनले सरकारको नेतृत्व ओलीले गर्दा पार्टीको नेतृत्व प्रचण्डले गर्नुपर्ने धारणा राखे। उनले भने, ‘पार्टीको मूल्य मान्यताअनुसार अब प्रचण्डलाई अध्यक्ष स्वीकार गरेर ओलीजीलाई सरकारको नेतृत्व दिनुपर्छ।’ उनले सम्मानजनक पार्टी एकताका लागि पनि प्रचण्डलाई अध्यक्ष दिनुपर्ने बताए। उनले भने, ‘एमाले र माओवादी एकता भनेको सम्मानजनक एकता हो। प्रचण्ड एमालेमा प्रवेश गर्ने भनेर बुझ्नुभएन। यो त एउटा नयाँ पार्टी बन्ने प्रक्रिया हो। त्यसकारण प्रचण्डलाई अध्यक्ष दिनुपर्छ।’

तर अहिलेसम्म नेतृत्वको विषयमा भने छलफल भइनसकेको माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसाल बताउँछिन्। ‘अहिले खाली सैद्धान्तिक पाटो र वैचारिक पाटोका विषयमा मात्र छलफल भइरहेको छ’, उनले भनिन्, ‘नेतृत्वको विषयमा छलफल भएको छैन। यो आफैँ मिल्छ। पार्टी एकतापछि नेतृत्वको विषय भनेको खासै ठूलो विषय होइन।’

यस विषयमा छलफल गर्न एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच पटक पटक ‘वान टु वान’ वर्तासमेत भइरहेको छ। अहिले एकतापछि नयाँ बन्ने पार्टीको सैद्धान्तिक धार, नेतृत्वलगायत विषयमा दुवै पार्टीका अध्यक्षबीच छलफल भइरहेको एमाले नेता सुवासचन्द्र नेम्वाङले बताए। उनले भने, ‘यी विषयमा दुई अध्यक्षबीच छलफल भइरहेको छ। यो विषय चाँडै टुंगो लाग्छ तर अहिले कहाँ पुग्यो भन्ने विषयमा हामीलाई जानकारी छैन।’

नेताहरूले भने सरकारको नेतृत्व ओली र पार्टीको नेतृत्व प्रचण्डले गर्ने बताउँदै आएका छन्। विभिन्न कार्यक्रमहरूमा नेतृत्व बाँडेर लिने बताउँदै आएका छन्। तर नेता नेम्वाङले भने यी विषयमा छलफल भइनसकेको बताए। ‘कसैले यस्ता विषय बोल्दै हिँड्नुभएको छ भने यो आधिकारिक होइन’, उनले भने, ‘उहाँहरूले व्यक्तिगत रूपमा मात्र बोल्नुभएको हो। यो विषय दुई अध्यक्षबाहेक अरूलाई थाहा छैन।’ नेतृत्व र पार्टीका सिद्धान्तलाई मिलाउन एउटा कार्यदल बनाउने भन्दै नेम्वाङले कार्यदलले सबै कुरा व्यवस्थापन गर्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.