|

काठमाडौं : प्रविधिको विकासले मानव बेचबिखनको ट्रेन्डमा परिवर्तन आएकाले बेचबिखनबिरुद्धको अभियान प्रविधि केन्द्रित बनाउनुपर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन्। माइती नेपालले सोमबार मानव बेचविखन तथा लैङ्गिक हिंसा, नियन्त्रणमा सञ्चार माध्यमसँग सहकार्य विषयमा काठमाडौंमा आयोजना गरेको कार्यक्रमका सहभागीहरुले त्यस्तो बताएका हुन्।

उनीहरुले मनोरञ्जन क्षेत्रले प्रदान गरेको रोजगारीलाई सुरक्षित र मर्यादित बनाउनुपर्नेमा जोड दिए। रेष्टुरेण्ट, डान्सबार, स्पा, मसाज केन्द्रलगायतका क्षेत्रलाई मनोरञ्जनको क्षेत्र घोषणा गरिएको छ। त्यस क्षेत्रमा काम गर्ने प्रायः कर्मचारीहरू उमेर नपुगेका बालबालिकाहरू र महिला रहेकाले उनीहरुको सुरक्षाका प्रश्न बेलाबेला उठ्नेगरेको सहभागीहरुले बताए।

त्यस अवसरमा कार्यपत्र प्रस्तुत गर्दै काठमाडौं जिल्लाका प्रमुख महिला विकास अधिकृत अनिता खनालले नेपालभर दर्ता भएका २५ हजार मनोरञ्जनको क्षेत्र रहेकोमा राजधानीमा राजधानीमा मात्र १२ हजार वटा रहेको जानकारी दिइन्। त्यसमध्ये ५० वटामा अनुगमन गर्दा अधिकांशमा कम उमेरका बालबालिका र केही उमेर पुगेका महिलालाई वेटर लगायतका रोजगारी दिएर काम लगाइएको पाइएको उनले बताइन।  तर ती सबैसँग नागरिकता नभएको, रोजगारदातासँग कुनै पनि सम्झौता र नियुक्ति बेगर नै काम गरिरहेको अधिकृत खनालले बताइन्।

२५ हजार वटा मनोरञ्जनको क्षेत्रले थुप्रैलाई रोजगारी दिएको भए पनि ती क्षेत्रमा काम गर्नेलाई पनि अनुगमन, नियमनमा ल्याई श्रम गरेर खानेको आत्मसम्मान दिलाउन सक्नुपर्ने खनालले बताइन्।

कार्यक्रममा माइती नेपालका निर्देशक विश्वराम खड्काले माइती नेपालको स्थापनादेखि हालसम्म बेचविखन कार्यमा रोक लगाउने, त्यसविरूद्ध काम गर्ने संस्थाहरू, राज्यका अङ्गसँग मिलेर काम गरे पनि फर्केर हेर्दा अहिलेपनि भयावह स्थिति रहेको बताए। त्यसको न्युनीकरणको लागि राज्य, संस्था र सञ्चारमाध्यमको समवन्यात्मक भूमिका हुनुपर्ने खड्काको जोड थियो।

कार्यक्रममा मिडिया एड्भोकेसी फोरमका अध्यक्ष बबिता बस्नेतले अहिले मानव बेचविखनको स्थितिमा परिवर्तन आएको बताउँदै यसको न्युनीकरणको लागि सबै सुसूचित र सशक्त हुनुको विकल्प नरहेको औल्याइन्। त्यस अवसरमा कानुनी सहयोग तथा परामर्श केन्द्र(ल्याक)का अध्यक्ष अनिता न्यौपाने थपलियाले मनोरञ्जनको क्षेत्र मर्यादित बनाउनका लागि श्रम ऐन त्यो क्षेत्रमा पनि लागू गर्न पहल गर्नुपर्ने बताइन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.