|

बाँके : नेपालगंजमा अत्याधुनिक प्रविधियुक्त ‘अक्सिजन ग्यास प्लान्ट’ उद्योगबाट ग्यास उत्पादन सुरु भएको छ। नेपालगंजमा सोमबारदेखि औपचारिक रूपमा उत्पादन सुरु भएको यो उद्योग नेपालकै सबैभन्दा ठूलो भएको दाबी गरिएको छ। 

यस प्लान्टबाट ४७ लिटर क्षमताको एक हजार सिलिण्डर अक्सिजन ग्यास दैनिक उत्पादन हुने भएको छ। दैनिक एक हजार २०० लिटर लिक्विड नाइट्रोजन र अक्सिजन उत्पादन क्षमता रहेको यस प्लान्टबाट जिरो एयर ग्यास पनि उत्पादन सुरु भएको उद्योगले जनाएको छ। 

एचओ अक्सिजन इन्डष्ट्रिज प्रालिले संचालनमा ल्याएको प्लान्ट करिब १० करोड रुपैयाँ लागतमा स्थापना भएको हो। यो प्लान्ट स्थापना भएसँगै नारायणघाटदेखि पश्चिमी क्षेत्रमा सहज र सुलभ ढंगले अक्सिजन तथा नाइट्रोजन ग्यास एवम् लिक्विड सहजै प्रवाह हुने एचओ अक्सिजन इन्डष्ट्रिज प्रालिका संचालक गौरवकुमार श्रेष्ठले जानकारी दिए। 

उनले बढ्दो जनसंख्याको चाप, बिरामीहरूको वृद्धि, उद्योग कलकारखानाको विस्तार, अस्पताल र स्वयम् व्यक्तिगत जीवनका साथै बजारका आवश्यकता मध्यनजर गरी उद्योग संचालनमा ल्याएको बताए। काठमाडौंबाहिरको बजारमा सर्वसुलभ तरिकाले अक्सिजन र नाइट्रोजन उपलब्ध गराउन प्लान्ट स्थापना गरिएको उनको भनाइ छ। 

बाँकेका युवा व्यवसायीहरू सम्मिलित हरि ओम ग्रुपको लगानी रहेको एचओ अक्सिजन इन्डष्ट्रिज नेपालमै सबैभन्दा धेरै उत्पादन क्षमता भएको प्लान्ट भएको श्रेष्ठले दाबी गरे। ‘पश्चिम नेपालमा अक्सिजन र नाइट्रोजन ग्यास सिलिन्डरको बजारलाई पूर्णतया आत्मनिर्भर बनाउन उद्योग संचालनमा ल्याएका हौँ’, उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.