|

धनकुटा : धनकुटालाई १ नम्बर प्रदेशको राजधानी बनाउनुपर्ने माग गर्दै धनकुटावासीले ६ दिनदेखि आह्वान गरेको अनिश्चितकालीन आमहडताल सोमबार साँझदेखि खुलेको छ। 

धनकुटा सदरमुकाममा सोमबार साँझ सम्पन्न आन्दोलन परिचालन समितिको बैठकले आमहडताल स्थगित गर्ने निर्णय गरेसँगै बन्द खुलेको हो।

आमहडताल फिर्ता लिएर आन्दोलनको स्वरूप परिवर्तन गरिएको आन्दोलन परिचालन समितिका संयोजक सुन्दरबाबु श्रेष्ठले जानकारी दिए।

सरकारलाई ७ दिने अल्टिमेटम दिँदै उक्त समयभित्र वार्तामा बोलाएर आफूहरूका माग सम्बोधन नगरिए १५ गतेदेखि पुनः आमहडताल गरिने श्रेष्ठले बताए। उनका अनुसार मंगलबारदेखि ७ दिनसम्म १२ देखि १ बजेसम्म १, १ घण्टा चक्काजाम गर्ने निर्णय भएको छ।

बन्द खुलेसँगै बुधबारदेखिको बन्दले अलपत्र परेका लामो तथा छोटो दूरीका सवारी साधन बन्द खुल्नासाथ गन्तव्यतिर लागेका छन् भने एक सातादेखि बन्द भएका बजारका पसल खुल्न थालेका छन्। यातायात र बजार खुलेसँगै धनकुटाको जनजीवन सहज बन्दै गएको छ।

सरकारले १ नम्बर प्रदेशको अस्थायी राजधानी विराटनगर तोकेको विरोधमा धनकुटावासीले आन्दोलनलाई चर्काउँदै आमहडताल आह्वान गरेका थिए। तर, सरकारलाई ७ दिने अल्टिमेटम दिएर आन्दोलनको स्वरूप परिवर्तन गरिएको हो।

यता आमहडतालका क्रममा आन्दोलन हिंसात्मक बनेको भन्दै स्थानीय प्रशासनले गत बिहीबारदेखि जारी गरेको अनिश्चितकालीन निषेधाज्ञा सोमबार दिउँसो ३ बजेदेखि मंगलबार बिहान ७ बजेसम्म हटाएको छ।

धनकुटालाई प्रदेश राजधानीको माग गर्दै विगत ३७ दिनयता धनकुटामा निरन्तर प्रदर्शन भइरहेको छ। धनकुटालाई छोडेर अन्यत्र प्रदेश राजधानी नस्वीकार्ने अडान राख्दै आएका जिल्लावासीले धनकुटालाई प्रदेश राजधानी घोषणाका लागि जस्तोसुकै मूल्य चुकाउन पनि पछि नपर्ने चेतावनी दिँदै आएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.