|

काठमाडौं :  नेकपा माओवादी केन्द्रको प्रदेश इन्चार्जहरुसहितको बैठकले राष्ट्रियसभा उम्मेदवारको छनोट गर्ने जिम्मा शीर्ष तीन नेतालाई दिएको छ।

सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले राष्ट्रियसभा उम्मेदवारहरुको नामावलीलाई अन्तिम रुप दिने जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालाई दिइएको हो।

एमालेसँग पार्टी एकता प्रक्रिया अगाडि बढाएको माओवादीले निर्वाचनमा गठबन्धन गरेको थियो। राष्ट्रियसभा निर्वाचनमा पनि यी दुई पार्टी मिलेर गएका छन्। जसमा राष्ट्रियसभाका ५६ सिटमध्ये एमालेले २९ र माओवादीले १४ सिट बाँडफाँट गरेका छन् भने बाँकी सिटमा अन्य दलसँग सहकार्य गर्ने भएका छन्।

प्रदेश इन्चार्ज र शीर्ष नेताहरुको बैठकमा एक पदका लागि तीन जनाको नाम सिफारिस भएको थियो।

तीन शीर्ष नेताहरुको बैठकले मंगलबार राष्ट्रियसभा उम्मेदवारको नामावलीलाई अन्तिम रुप दिनेछ। प्रदेशबाट सिफारिस भएका नामसहित प्रदेशको सिफारिसमा नपरेका तर पार्टीको केन्द्रीय भूमिकामा रहेका नेताहरुको नाममाथि छलफल गरेर उम्मेदवारको अन्तिम नामावली तयार गरिने बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.