यी हुन् तीन प्रदेशका १३ राष्ट्रियसभा उम्मेदवार

|

काठमाडौं : नेकपा एमालेको स्थायी कमिटि बैकठले तीन प्रदेशबाट राष्ट्रियसभा उम्मेदवारको नामावलीलाई अन्तिम रुप दिएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुर बालकोटमा बसेको स्थायी कमिटि बैठकले प्रदेश ५, ६ र ७ बाट राष्ट्रियसभामा उम्मेदवारी दिने २४ नेताको टुंगो लगाएको छ। त्यस्तै, ललितपुर १ बाट निर्वाचित सांसद नवराज सिलवाललाई पक्राउ गर्न नेपाल प्रहरीले इन्टरपोल मार्फत जारी गरेको डिफ्युजन नोटिसप्रति असन्तुष्टी जनाएको छ।

बैठकमा एमाले र माओवादी एकतामा भएका प्रगतिबारे अध्यक्ष ओलीले जानकारी गराएको एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए। ओलीलाई उल्लेख गर्दै ज्ञवालीले भने, ‘पार्टी एकीकरण प्रक्रिया सकारात्मक दिशामा अगाडि बढिरहेको कुरामा विश्वस्त हुन आग्रह गर्दै उहाँले सिङ्गो पार्टी पङ्क्तिलाई एकीकरण प्रक्रियालाई बल पुर्‍याउने गरी काम गर्न निर्देशित गर्नुभयो।‘

एमाले स्थायी कमिटि बैठकले राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश नम्बर ७ बाट यी नेतालाई उम्मेदवार बनाएको छ:

कमला ओली (महिला), कैलाली

इन्दु कडेरिया बिष्ट ( महिला), कञ्चनपुर

शेरबहादुर कुँवर (खुला), अछाम

चक्रप्रसाद स्नेही (दलित), डडेलधुरा

प्रदेश ६ बाट राष्ट्रियसभा उम्मेदवार

कविता बोगटी (महिला), हुम्ला

नन्दा शर्मा ( महिला), सुर्खेत

नरपति लोहार (दलित), कालिकोट

भैरवसुन्दर श्रेष्ठ (खुला), जाजरकोट

ठगेन्द्र पुरी (खुला) ,पश्चिम रुकुम

प्रदेश ५ बाट एमालेबाट राष्ट्रियसभा उम्मेदवारहरु

रामलखन हरिजन (दलित), पश्चिम नवलपरासी

खिमलाल भट्टराई (खुला), रुपन्देही

मीना बुढा (महिला), रोल्पा

कोमल वली (महिला), दाङ

एमाले र माओवादीले राष्ट्रियसभाका ५६ सिट बाँडफाँट गरेर उम्मेदवार बनाउने यसअघि नै निर्णय गरेका थिए। जसमा एमालेले २९ र माओवादीले १४ सिटमा उम्मेदवार बनाउने निर्णय भएको छ। बाँकी सिटमा अन्य राजनीतिक दलहरुसँग सहकार्य गरेर अगाडि बढ्ने दुई पार्टीको सहमति भएको थियो।

त्यस्तै, एमाले स्थायी कमिटि बैठकमा ललितपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद नवराज सिलवालाई पक्राउ गर्न नेपाल प्रहरीले इन्टरपोलमार्फत जारी गरेको डिफ्युजन नोटिसप्रति असन्तुष्टी जनाएको छ। ‘इन्टरपोललाई समेत अतिरञ्जित सूचना दिई भइरहेका यस्ता क्रियाकलापले जनताको अभिमतलाई अपमानित गरेको र नवनिर्वाचित जनप्रतिनिधि विरुद्ध भइरहेका यी गतिविधिहरु पूर्वाग्रह र प्रतिशोधबाट निर्देशित छन् भन्ने निष्कर्ष सहित बैठकले सरकारलाई यस्ता गतिविधि बन्द गर्न ध्यानाकर्षण गरेको छु’, बैठकपछि सचिव ज्ञवालीले भनेका छन्।

नेपाल प्रहरीका पूर्व डीआईजी सिलवाललाई सरकारी कागजात किर्ते गरेको अभियोगमा प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ। सिलवालले प्रहरी महानिरीक्षक बढुवाका लागि भन्दै गोप्य रहने कार्यसम्पादन मूल्यांकनको प्रतिलिपि सर्वोच्च अदालतमा बुझाएका थिए। उक्त कागजात किर्ते गरिएको र अदालतलाई समेत गुमराहमा पारिएको भनेर सर्वोच्चले छानविन गर्न प्रहरीलाई आदेश दिएको थियो। त्यसपछि उनी प्रहरीबाट राजीनामा दिएर नेकपा एमाले प्रवेश गरी ललितपुरबाट विजयी भएका थिए।

यो पनि पढ्नुहोस् : 

अब १९२ देशका प्रहरीले खोज्‍नेछन् सिलवाललाई

पार्टी एकताका लागि एमालेले गठन गर्‍यो दुई कार्यदल, सिलवालबारे खोल्यो मुख

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.