|

काठमाडौं :  संघीय संसद सचिवालयले प्रदेशसभा संचालनको सुरुआती दिनमा सहजीकरणका लागि सहसचिवको नेतृत्वमा कर्मचारी खटाएको छ।

प्रदेशसभामा कर्मचारीको व्यवस्थापन नभइसकेको अवस्थामा संसदीय अभ्यास र अनुभवका आधारमा संघीय संसद सचिवालयले सात वटा प्रदेशसभाका लागि एक सहसचिवसहित चारजनाका दरले कूल २८ कर्मचारी पठाउने निर्णय भएको सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिए। ती कर्मचारी १४ माघदेखि खटिएका प्रदेशमा जानेछन्। 

मुख्य सचिव लोकदर्शन रेग्मी र महासचिव भट्टराईबीच भएको छलफलपछि सचिवालयले हाललाई ती कर्मचारी पठाए पनि प्रदेशसभामा पछि आफ्नै स्थायी सचिवालय बन्नेछ। खटिएकामध्ये सहसचिव १५ दिन र अन्य कर्मचारी एक महिनाका लागि काजमा खटाइएको सचिवालयका प्रवक्ता डा भरतराज गौतमले बताए। प्रदेशसभामा नियमित कर्मचारी व्यवस्थापनका लागि सामान्य प्रशासन मन्त्रालयले आवश्यक तयारी गरिरहेको छ। 

संघीय संसद सचिवालयले तालीम, प्रशिक्षण र विशेषज्ञ सेवा दिन सक्ने भए पनि स्थायी रुपमा कर्मचारी पठाउन नसकिने जनाएको छ।  गत मंसिर १० र २१ मा भएको निर्वाचनपछि प्रदेशसभाका सदस्यले यही माघ ७ गते सपथ लिइसकेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.