|

चितवन : चितवन र पर्सा कम्प्लेक्समा दुर्लभ पाटे बाघको उपस्थिति राम्रो पाइएको छ।  विगत दुई महिनादेखि नेपाल र भारतमा एकैसाथ सुरु भएको दुर्लभ पाटे बाघको गणना (अनुगमन) अन्तरगत यहाँ भने बाघको उपस्थिति राम्रो पाइएको राष्ट्रिय निकुञ्ज वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक तथा कार्यक्रम संयोजक गोपालप्रकाश भट्टराईले जानकारी दिए।

‘फिल्डमा खटिएका साथीहरुबाट सकारात्मक रिपोटिङ छ, भट्टराईले भने, बाघ राम्रो पाइएको छ, बढेको अनुमान गर्न सकिन्छ।’ उनका अनुसार चितवन–पर्सा कम्प्लेक्समा बाघको अनुगमन अन्तिम चरणतिर पुगेको छ।

बर्दियामा तेस्रो चरणको अनुगमन सुरु हुन लागेको र अब छिट्टै शुक्लाफाँटामा क्यामेरा जडान हुनेछ। गणनाकै वेला सरकारी वन क्षेत्रमा समेत क्यामेरा ट्रयापिङ विधिको प्रयोग गरिएको यहाँ पहिलो पटक हो।

पहिले पाइला हेरेर सरकारी वनमा बाघको अनुगमन गरिएको भए पनि अहिले क्यामेरा नै राखेर गणना भइरहेकाले बाघको संख्या बढ्ने अनुमान चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकृत तथा सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालको छ।

उनका अनुसार पहिले बाघ फेलापरेका ठाउँमा अहिले पनि क्यामेरामा कैद भइरहेको छ। चोरी सिकार नभएको र बासस्थान समेत राम्रो देखिएको र सामुदायिक वन क्षेत्रमा अनुगमन भइरहेकाले बाघ बढ्ने उनी बताउँछन्।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार अत्याधुनिक प्रविधि सहितको क्यामेरा ट्रयापिङ विधिबाट बाघको गणना भइरहेको छ। १४ मंसिरबाट बाघ गणना थालिएको थियो। कार्यक्रम संयोजक भट्टराईले देशभरको गणनामा करिब १५० क्यामेरा, आवश्यकताअनुसार हात्ती र करिव २०० जनशक्ति खटाइएको बताए।

उनले बाघ नदोहोरियोस् भनेर एउटै विधिमा र एकै समयमा नेपाल र भारतमा गणना भइरहेको बताए। पाटे बाघ र यसको आहारा प्रजातिको अवस्था पत्ता लगाई आवश्यक संरक्षणका योजना निर्माणका लागि बाघ गणना गर्ने गरिएको हो। यसअघि सन् २०१३ मा गणना भएको थियो।

सन् २०१३को बाघ गणनामा नेपालमा १९८ बाघ रहेको पाइएको थियो। जसमा १२० बाघ चितवन राष्ट्रिय निकुञ्जमा रहेको तथ्यांक छ। यस्तै, बर्दियामा ५०, शुक्लापाँटामा १७, पर्सामा ७ र बाँकेमा ४ वटा पाटे बाघ रहेको तथ्यांक थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.