|

चितवन : निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन र युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्न रहेको अभियोगमा बागमारे भनिने श्याम लामा गुम्बेलाई प्रहरीले सोमबार पक्राउ गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले मुख्य गोली हान्ने गुम्बेलाई पक्राउ गरेको सिआइबीका प्रमुख प्रहरी नायब महानिरीक्षक पुष्कर कार्कीले बताए। अभियुक्त गुम्बेलाई भरतपुर महानगरपालिका वडा नम्बर ६ गीतानगरबाट पक्राउ गरिएको हो। कार्कीले गौचन र तिवारीको दुवै घटनामा निज लामा संलग्न भएको बताए। केही दिनयता सिआइबीको टोलीले लामाको पिछा गर्दै आएको थियो। गीतानगरको भित्री बस्ती क्षेत्रबाट गुम्बेलाई पक्राउ गरिएको हो। कार्कीले अपराधीलाई सिआइबीले छाड्दैन भन्ने कुरा कामले पुष्टि गरेको बताए।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले सोमबार साँझ अबेर निजलाई पक्राउ गरी सिआइबीले राति नै लामालाई काठमाडौं लगेको बताए। देशकै मध्यभाग भएकाले आपराधिक क्रियाकलापपछि अन्यत्र जान सहज होस् भन्नका लागि अपराधी लुक्न चितवन आउने गरेको थापाले बताए।

गौचन हत्याकाण्डका प्रमुख योजनाकार समीरमानसिंह बस्नेतसहित अन्यलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ। व्यवसायी गौचनको गत असोज २३ गते काठमाडौं शान्तिनगरमा गोली हानी हत्या भएको थियो। उनलाई मोटरसाइकलमा आएका व्यक्तिले गाडीमा गोली प्रहार गरेका थिए।

तिवारीको रुपन्देही र नवलपरासीको सिमानामा पर्ने खैरहनी भन्ने स्थानमा गत वर्ष पुसमा गोली प्रहार भएको थियो। देब्रे कोखामा गोली लागेका उनको रुपन्देही देवदह मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो।

उनलाई थप अनुसन्धानका लागि काठमाडौं महानगरिय प्रहरी परिसर, टेकु काठमाडौंमा राखिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.