|

कपिलवस्तु : नेपाली रजतपटककी चर्चित नायिका रेखा थापा बालविवाह विरुद्धको महाअभियानमा होमिएकी छन्। महाअभियानका सामाजिक अभियन्ता नरबहादुर कार्की लगायतले थालेको छोरीको निम्ति स्वर्णिम नेपाल, महाअभियानअन्तर्गत ‘बालविवाह अन्त्य र साझा संकल्प’का लागि नायिका थापा मंगलबार कपिलवस्तु आएकी छन्।

कपिलवस्तुमा कालिका स्वावलम्बन सामाजिक केन्द्र र सेभ द चिल्ड्रेन, अक्सफामको संयोजनमा चन्द्रौटामा मंगलबार हुने ‘बालविवाह अन्त्य र साझा संकल्प’मा बालविवाह विरुद्धको महाअभियान सुरु हुने बताइएको छ। देशमै अधिक मात्रामा बालविवाह हुने गरेको कपिलवस्तुमा यो अभियान सञ्चालनपछि बालविवाहमा कमी आउने विश्वास लिइएको छ।

मंगलबार मध्यान्ह जिल्लाको सदरमुकाम तौलिहवामा गरिएको पत्रकार सम्मेलनमा नायिका थापाले देशको समृद्धिका लागि छोरीहरु सबल हुनुपर्ने धारणा व्यक्त गरिन्।

चलचित्र क्षेत्रबाट छोरी माथिको विभेद अन्त्यका लागि परिवर्तन गर्न खोजे पनि त्यसले पूर्ण नभएकोले छोरीको निम्ति स्वर्णिम नेपाल, महाअभियानमा आफू होमिएको बताइन्। ‘छोरीहरु छोराभन्दा कम छैनन्, छोराहरुले जति काम गर्न सक्छन्, छोरीहरुले पनि उत्ति नै काम गर्न सक्छन्, थापाले भनिन्, ‘अब सबै छोरीले हिम्मत गर्नुपर्छ, कमजोर हुनुहुँदैन।’

यो अभियानका जन्मदाता नरबहादुर कार्कीले देशबाटै बालविवाह र महिला हिंसा अन्त्य गर्ने भन्दै नेपाललाई छोरीहरुको स्वणिर्म देश बनाउने अठोट व्यक्त गरे।

उनले नेपालमा छोरी भएर जन्मिने अनुकूल देश नभएको तर्क गरे। उनले आर्थिक लाभविना महाअभियानमा लागिरहेको बताए। देशका ३३ लाख बालिकाको भविष्य उज्ज्वलका लागी महाअभियानमा जुटेको कार्कीले बताए।

नेपालमा अहिले ३७ प्रतिशत छोरीको विवाह १८ वर्षभन्दा पहिले नै हुने गर्दछ। १० प्रतिशत छोरीहरुको विवाह १५ वर्ष पहिले हुने गर्दछ । नेपालको कानुनले २० वर्षभन्दा मुनिको उमेरमा विवाह गर्न बन्देज गरेको छ। कपिलवस्तुमा पनि बालबिबाह अधिक हुने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.