पर्यटकले खरायोको मासु मीठो मान्ने भएकाले काठमाडौंका तारे होटलमा खपत

|

तनहुँ : खरायोको माग बढ्न थालेपछि तनहुँका कृषकहरु खरायो पालनतर्फ आकर्षित भएका छन्। तनहुँमा उत्पादन भएका खरायो काठमाडौं लगायतका पर्यटकीय क्षेत्रबाट माग हुन थालेपछि खरायो पालकहरु खरायो पालनलाई व्यावसायिक रुप दिन थालेका हुन्। 

प्रायः किसानले गाई, माछा, बाख्रा, बंगुर, कुखुरा पालन लगायत व्यवसाय गर्दै आएको भएपनि तनहुँमा खरायो पालनतर्फ कृषकहरु आकर्षित भएका छन्।

तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नम्बर ५ बेलचौताराका किसानहरुले खरायो पालन अभियान सञ्चालन गरी समूहसमेत गठन गरेर व्यवसायिक रुप दिएका हुन्। विगत केही वर्षदेखि शुक्ला खरायो पालन समूह गठन गरी बेलचौताराका कृषकहरुले पालेको खरायो काठमाडौ निर्यात गर्ने गरेका छन्। खरायोको मासुले बजार नपाएर चिन्तित भएका किसानहरु काठमाडौंमा खपत हुने भएपछि खरायो पालनतर्फ आकर्षित भएका हुन्।

खरायोको मासु मीठो हुने भएकाले विशेष गरी बाह्य पर्यटकहरुले मन पराउने हुँदा काठमाडौं लगायतका पर्यटकीय क्षेत्रमा यसको माग बढ्ने गरेको छ। काठमाडौंमा खरायोको मासुको माग भएपछि तनहुँका पशुपालकहरुले उत्पादन गरेको खरायो खपत हुँदा उनीहरु उत्साहितसमेत भएका छन्।

खरायोको माग बढ्न थालेपछि पेशालाई व्यावसायिक रुप दिन खरायो पालकहरु उत्साहित भएको समुहका अध्यक्ष धर्मराज पौडेले बताए। समूहले पालेको ३० वटा खरायो हिमालयन र्‍याविट फर्म काठमाडौंले पहिलो पटक खरिद गरेको पौडेलले जानकारी दिए। ‘समूहले उत्पादन गरेको खरायो काठमाडौमा माग भएकाले खरायो पालनमा आशा पलाएको छ,’ उनले भने।

खरायो पालकले उत्पादन गरेको खरायोले उचित मुल्य नपाउँदा कम मूल्यमै विक्री गर्न बाध्य भएको उनीहरु बताउँछन्। खरायोको माग हुन थालेपछि पशुपालकहरु त्यसतर्फ आकर्षित हुँदै गएका छन्।

गत वर्षदेखि शुक्लागण्डकी नगरपालिका वडा नम्बर ६ र ७ का केही कृषकहरुले खरायो पालन अभियान सुरु गर्दै समूह गठन गरी व्यवसायिक रुपमा अगाडि बढाएका छन्। उक्त क्षेत्रका करिव ३० खरायो पालकहरु समूहमा आबद्ध छन्।

देशका महँगा होटलहरुमा खरायोको मासुको माग बढ्दै गएकाले खरायो पालनमा किसानहरु आकर्षित भएको खरायो विज्ञ उज्वल चापागाईले बताए। उनले आफ्नो फर्ममा उत्पादित खरायोको मासु माग अनुसार पु¥याउन नसकेकोले बाहिरबाट आयात गर्नुपर्ने भएको बताए। उनले भने ‘करिव चार महिना पुगेपछि खरायोको मासु खान मिल्ने र एक महिना पुगेको खरायोको बच्चा बेच्न मिल्ने हुन्छ।’

घाँसपात, भात लगायतका खानेकुराहरुले खरायो पाल्न सकिने हुँदा अन्य पशु भन्दा खरायो पाल्न सहज हुने खरायो व्यवसायी मित्रलाल कँडेलले बताए। खरायो सफा र स्वच्छ हुनुका साथै मानिसहरुसँग पनि सहजै घुलमिल हुने हुँदा खरायो पालनमा धेरै दुःख गर्न नपर्ने उनको भनाई छ। ‘जोडीको एक हजार रुपैयाँसम्ममा विक्री गरिदै आएको छ,’ उनले भने।

वैदेशिक रोजगारबाट फर्केका तथा बेरोगारी भएर भौतारिएका युवाहरुले कृषि पेसालाई नै आम्दानीको स्रोत बनाउदै आकर्षित हुन थालेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.