|

लामो समयदेखि म्यानचेस्टर सिटीले आँखा लगाउँदै आएका एलेक्सिज सान्चेज अन्तत चीरप्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडमा आबद्ध भएका छन्। उनले युनाइटेडमा प्रतिसाता ५ लाख पाउन्ड पाउने बताइएको छ। यसको अर्थ २९ वर्षीय सान्चेज युनाइटेडको इतिहासमै सर्वाधिक पारिश्रमिक लिने खेलाडी बन्‍नेछन्। उनले युनाइटेडको चर्चित ७ नम्बरको जर्सी समेत लगाउनेछन्। 

युनाइटेडमा ७ नम्बरको जर्सी विशेष खेलाडीले लगाउँछन्। जर्ज बेस्ट, एरिक क्यान्टोना, डेभिड बेकह्‍याम र क्रिष्ट्रियानो रोनाल्डोले कुनै समय यो जर्सी लगाएका थिए। खासमा उनलाई भित्र्याउन सिजनको सुरुवातमै म्यानचेष्टर सिटीले ठूलो जोड गरेको थियो। तर, टोलीमा अन्य वैकल्पिक खेलाडी नभएका कारण आर्सनलले बेच्‍न मानेन। तर यसपटक सिटीले प्रिमियर लिगको उपाधि दौडमा राम्रो गरिरहेकाले उनलाई भित्र्याउन खास चासो देखाएन।

आर्सनलसँग उनको सम्झौता अवधि ६ महिनामात्रै बाँकी थियो। यस्तो अवस्थामा ३५ मिलियन पाउन्डमै उनलाई बेच्‍न आर्सनल बाध्य भयो र मौकाको फाइदा युनाइटेडले उठायो। यस सिजन प्रिमियर लिगमा छिमेकी प्रतिद्वन्द्वी सिटीभन्दा पछि परेको युनाइटेडले स्टार खेलाडी भित्र्याउने मामिलामा भने उसलाई जित्यो। युनाइटेडले सकेसम्म यस सिजन नभएर अर्को सिजन लिग जित्‍ने लक्ष्य राखेको छ। 

विश्व फुटबलमा स्टार खेलाडी भित्र्याउने क्रममा क्लबहरुले अन्तिम घडीमा बाजी मारेका यस्ता थुप्रै उदाहरण चर्चामा छन् । जस्तो:

रोमिलु लुकाकु

एभर्टनका यी स्टार फुटबलरले गत सिजन प्रिमियर लिगमा २५ गोल गरेका थिए। यस सिजनको सुरुवातमै उनले च्याम्पियन्स लिग खेल्ने क्लबमा आबद्ध हुन चाहे। गत सिजनको विजेता चेल्सीले उनलाई भित्र्याउने कसरत गरिरहेको थियो। तर युनाइटेडले ७५ मिलियन पाउन्ड खर्चदै बेल्जियमका यी खेलाडीलाई क्लबमा भित्र्यायो।

पेड्रो 

चेल्सीमा आबद्ध हुनुअघि पेड्रो युनाइटेड आउने हल्ला थियो। सन २०१५ मै युनाइटेडले उनलाई भित्र्याउन प्रयास गरेको थियो। युनाइटेडका पदाधिकारीहरुले बार्सिलोना पुगेर उनका विषयमा कुराकानी समेत गरेका थिए। तर यी खेलाडीका एजेन्टले अन्तिम समयमा म्याचनेस्टरले खास चासो नदेखाएको आरोप लगाए। उनी चेल्सी आए।

डिमिटर बर्बाटोभ

सन् २००८ मा म्यानचेस्टर शहरका दुबै क्लब टोटेनह्यामका बुल्गेरियन खेलाडी बर्बाटोभलाई भित्र्याउने दाउमा थिए। टोटेनह्यामले यस विषयमा सिटीको प्रस्ताव स्विकारेको पनि थियो। तर अन्त्यमा बर्बाटोभले नै युनाइटेड जाने इच्छा देखाए। त्यसबाट प्रभावित भएका युनाइटेडका तत्कालीन प्रशिक्षक एलेक्स फर्गुसन आफैं उनलाई स्वागत गर्न विमानस्थल आएका थिए। सिटीले राखेको ठूलो मुल्यको प्रस्ताव लत्याएर कम मूल्यमै बर्बाटोभ युनाइटेड आए।

इम्यानुयल पिटिट

सन् १९९७ मा इम्यानुयल पिटिट टोटेनह्याममा आबद्ध हुनका लागि कुराकानी गर्न लण्डन आएका थिए। तर टोटेनह्यामका अध्यक्ष एलन सुगरसँग कुराकानी गरिरहदाँ उनले के बुझे भने आर्सनल पनि उनलाई भित्र्याउन चाहन्छ। सुगरले नै उनलाई आर्सेन विंगर (आर्सनलका प्रशिक्षक) ले देखाएको इच्छाबारे बताएका थिए। विंगरसँग भेटेपछि मात्रै सम्झौता गर्ने पिटिटले बताए। त्यसमा सुगर सहमत थिए।  कुराकानी गरेर होटलबाट निस्किएका पिटिटलाई  ट्याक्सीमा उनको कोठा पुर्‍याइयो। टोटेनह्यामलाई लागेको थियो, पिटिट फर्केर आउँछन्। तर, विंगरलाई भेटेपछि पिटिटले आर्सनलसँगै सम्झौता गरे।

विलियम

सन् २०१३ मा लिभरपुल र टोटेनह्यामबीच विलियमलाई भित्र्याउने होडबाजी चल्यो। यस होडमा लिभरपुल पछि पर्‍यो र टोटेनह्याम उनलाई ल्याउनेबारे ढुक्क देखियो। तर अन्त्यमा टोटेनह्यामको सपना पनि विपना हुन सकेन।  होसे माउरिन्होले अन्तिम अवस्थामा उनलाई चेल्सी ल्याए। 

क्रिस्ट्रियानो रोनाल्डो

रोनाल्डोलाई देख्‍नेबित्तिकै आर्सनलका तत्कालीन स्काउट डिमन कोमोली छक परेका थिए। उनले पोर्चुगलका रहेको आर्सनलको कार्यालयमा फोन गरेर भनेका थिए, 'थिएरी हेनरीपछि पहिलोपटक मैले यति उत्कृष्ट खेलाडी देखें।’

त्यसपछि के चाहियो । आर्सनलले उनलाई प्रशिक्षणका लागि २ पटक आफ्नो क्लबमा बोलायो। आर्सनलले उनलाई क्लबमा भित्र्याउन ढिलाई गरिरहेको थियो। यति नै बेला स्पोर्टिङ लिस्बन ( रोनाल्डको तत्कालीन क्लब )सँगको मैत्रिपूर्ण खेलमा दौरान म्यानचेस्टर युनाइटेडका खेलाडीहरुले रोनाल्डोको प्रतिभा चिने। उनी युनाइटेड आए।

रोविन्हो

सन् २००८ मा म्यानचेस्टर सिटी महंगा फुटबलरहरु भित्र्याउन लागिरहेको थियो। क्लबले जति धेरै पैसा तिरेपनि स्टार खेलाडीहरु आउन मानिरहेका थिएनन्। रियल म्याड्रिडबाट खेलिरहेका ब्राजिली स्टार रोविन्हो यतिबेला चेल्सीसँगको कुराकानीमा थिए। सिटीले धैरै पैसाको प्रलोभन देखाएपछि उनी ट्रान्सफर विन्डोको अन्तिम दिन म्यानचेस्टर आए।

रोनाल्डिन्हो

रोनाल्डिन्हो पेरिस सेन्ट जर्माइनबाट म्यानचेस्टर युनाइटेड आउनेवाला थिए। युनाइटेडले यतिबेलासम्म डेभिड बेकह्ययामले छाडेपछि रिक्त स्थानबाट उनलाई खेलाउने योजना बनाएको थियो। तर बेकह्याम रियल म्याड्रिडमा गएकाले उसको प्रतिद्वन्द्वी बार्सिलोना पनि निकै दुखी थियो। बेकह्यमलाई भित्र्याउन योजना बार्सिलोनाको थियो। आफ्नो योजना पूरा नभएपछि बार्सा रोनाल्डिन्होको पछि लाग्यो। अन्त्यमा उनलाई भित्र्याइछाड्यो। अन्तिम अवस्थामा युनाइटेड चुक्यो। रोनाल्डिन्होले बार्सलाई २ ला-लिगा र १ पटक च्याम्पियन्स लिग जिताए।

अल्फ्रेडो डि स्टेफानो

फुटबलको अहिलेसम्मको स्थानान्तरण बजारमा डि स्टेफानोको सरुवालाई सबैभन्दा महत्वका साथ हेरिएको छ। कोलम्बियाको लिगमा खेलेपछि स्पेन आउनुअघि उनी आकर्षणको केन्द्रमा थिए। बार्सिलोना र रियल म्याड्रिड दुबैले उनलाई भित्र्याउन चाहेका थिए। तर अन्त्यमा रियलले बाजी मार्‍यो। रियललाई ८ ला- लिगा उपाधि र लगातार ५ पटक युरोपेली कप जिताउन स्टेफानोले महत्वपूर्ण भूमिका खेले। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.