|

दमक (झापा) : सहज सडक संजाल हुने हो भने दक्षिणी इलामका बासिन्दा आधा घण्टाको दूरीमा रहेको झापाको दमकमा रहेका सुविधा उपभोग गर्न सक्छन्। आफ्नै ठाउँमा तत्कालै शिक्षा, स्वास्थ्यलगायतका सुविधा पुग्ने आशा नगरेका यी क्षेत्रका बासिन्दा झापामै पुगेर भए पनि सुविधाको उपयोग गरौँला भनेर पर्खिएको अढाई दशक भयो। यसबीचमा निर्माणाधीन दमकदेखि इलामको चुलाचुली, माङ्सेबुङ हुँदै पाँचथरको रवि बजार जोड्ने सडकले गति नलिँदा उनीहरूका चाहना पूरा हुनसकेनन्। 

मुख्यगरी सडक संजालको पहुँच कमजोर भएका कारण पश्चिम दक्षिणी इलामका बासिन्दाहरूले आफूहरू विकास र समृद्धिमा पछि परेको गुनासो गरेका छन्। माङ्सेबुङ गाउँपालिकाकी उपाध्यक्ष सुनिता सुब्बा सडकको सहज पहुँच नभएकै कारण इलामको ठूलो क्षेत्र उपेक्षित बन्नुपरेको बताउँछिन्। 

वर्षौंसम्म फाल्गुनन्द मार्गको प्रतीक्षा गरे पनि निर्माणमा भएको ढिलाइले आफूहरू पछि परेको उनको भनाइ छ। उनले भनिन्, ‘बल्ल दमकदेखि घर्ती दोभानसम्म खोलाबाट गाडी कुदाउनुपर्ने बाध्यता हटेको छ, अबचाहिँ सुखका दिन आउलान् कि!’ 

दमकदेखि रवि जोड्ने फाल्गुनन्द मार्गको यात्रा जोखिमपूर्ण हुने, कृषि उपजको ढुवानी गर्न नसकिने, दैनिक उपभोग्य समानको सहज आपूर्ति नहुने, स्वास्थ्य सेवा पाउन पनि कठिन हुनेजस्ता कारणले दक्षिण पश्चिमी इलामले पछौटेपन भोग्नुपरेको उनको गुनासो छ। अढाई दशकअघि जनस्तरबाट निर्माणको प्रारम्भ गरिएको फाल्गुनन्द मार्गको यसै साता ट्र्याक खुलेको हो। ट्र्याक खुलेपछि विकासमा पछि परेको महसुस गरेका दक्षिणी इलामका बासिन्दा हर्षित बनेका हुन्। 

यो सडकको निर्माणले झापाका बासिन्दालाई भन्दा पनि पहाडी क्षेत्रका बासिन्दालाई बढी उत्साहित बनाएको छ। सडक पूर्ण रूपमा संचालनमा आएमा पश्चिम दक्षिणी इलामका बासिन्दाको जीवनशैली सहज हुनुका साथै आयमा पनि वृद्धि हुने चुलाचुली गाविसका पूर्व अध्यक्ष ओमनारायण खनाल बताउँछन्। ‘बाटो नहुँदा ढुवानी समस्याकै कारण कृषि उपजले मूल्य पनि पाउन सकेको छैन। यहाँका बासिन्दा बिरामी भए भने उपचार पाउन पनि बहुत गाह्रो छ’, उनले भने, ‘हेरौँ, अब बाटोको ट्र्याक खुलेको छ, बाह्रै महिना गाडी चल्न सक्यो भने यसबाट धेरै फाइदा लिन सकिन्छ।’ 

२०५१ सालमा स्थानीयस्तरबाट निर्माण सुरु भएको यो सडक इलामको चुलाचुली, माङ्सेबुङ र दक्षिणी इलामका बासिन्दाको महत्त्वपूर्ण सडकका रूपमा रहेको छ। यो सडकको निर्माणले झापालाई पनि धेरै फाइदा पुग्ने होटल व्यवसायी संघ दमकका अध्यक्ष राजेन्द्र दंगाल बताउँछन्। ‘दमकबाट रवि जोड्ने यात्रा सहज हुनासाथ यो करिडोर एउटा पर्यटकीय क्षेत्रको रूपमा विकास हुन्छ’, उनले भने, ‘दमकमा आन्तरिक तथा बाह्य पर्यटकहरूको ट्रान्जिट बनाएर यो भेगमै आर्थिक गतिशीलता बढाउन सकिन्छ।’ 

निर्माण समितिका अध्यक्ष रेवतराज पुरी ‘गगन’ भने यो सडक मेची अंचलकै भाग्य रेखाको रूपमा रहेको तर्क गर्छन्। उनले भने, ‘देख्दा र हेर्दा यो एउटा सडक भए पनि यसले मेची अंचलका बासिन्दाको भाग्य र भविष्यको फैसला गर्नेछ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.