|

धनकुटा : धनकुटामा गत बिहीबारदेखि जारी गरिएको निशेधाज्ञा मंगलबार अपराह्नबाट हटाइएको छ। जिल्ला सुरक्षा समितिको बैठकले स्थिति नियन्त्रित बनेकाले मंगलबार अपराह्न ३ बजेबाट निषेधाज्ञा खुला गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले जानकारी दिए।

‘लामो समयसम्म निषेधाज्ञाका कारण सर्वसाधारणलाई धेरै सास्ती पनि भयो’ प्रजिअ उप्रेतीले भने, ‘स्थिति पनि सामान्यकरण हुँदै गएकाले निषेधाज्ञा खुला गरिएको हो।’ निशेधाज्ञा हटाएसँगै ६ दिनदेखि अस्तव्यस्त बनेको धनकुटाको जनजीवन सामान्य बन्दै गएको छ।

धनकुटामा गत बुधबारदेखि अनिश्चितकालीन आमहडताल सहितको धनकुटावासीको आन्दोलन हिंसात्मक बनेपछि गत बिहीबार बिहान साढे ११ बजेबाट धनकुटा बजार क्षेत्रमा स्थानीय प्रशासनले  निषेधाज्ञा सुरु गरिएको थियो भने सोमबार दिउँसो ३ बजेदेखि हटाइएको निशेधाज्ञा मंगलबार बिहान ७ बजेबाट पुन लगाइएको थियो।

यता आन्दोलनकारीले भने सरकारलाई ७ दिने अल्टिमेटम दिँदै सोमबार साँझबाट ७ दिनका लागि आमहडताल स्थगित गरि दैनिक १ घण्टा चक्काजाम गर्दै आएका छन्।

७ दिनभित्र सरकारले मन्त्रीस्तर वा प्रदेश प्रमुख तथा प्रदेश सचिवले वार्तामा बोलाएर धनकुटावासीको माग सम्बोधन नगरिए पुनः आमहडताल सहित सशक्त आन्दोलन गर्ने आन्दोलन परिचालन समितिका संयोजक सुन्दरबाबु श्रेष्ठले बताए।

धनकुटालाई प्रादेशिक राजधानीको माग गर्दै विगत ३८ दिनयता धनकुटामा निरन्तर प्रदर्शन भइरहेको छ। राणाकालमा प्रशासनिक गौंडा हुँदै पछि आएर पूर्वाञ्चल विकास क्षेत्रको सदरमुकाम समेत रहेको धनकुटामा पर्याप्त भौतिक पूर्वाधार, प्रदेशको केन्द्र भाग, उपयुक्त हावापानी, मजबुत सुरक्षा व्यवस्था,

सामर्थ्य, पहिचान रहेको धनकुटालाई छोडेर अन्यत्र प्रादेशिक राजधानी नस्वीकार्ने अडान राख्दै आएका जिल्लाबासीले धनकुटालाई प्रादेशिक राजधानी घोषणाका लागि जस्तोसुकै मुल्य चुकाउन पनि पछि नपर्ने चेतावनी दिँदै आएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.