|

काठमाडौं : राष्ट्रियसभा निर्वाचन र सरकार गठनमा तालमेल गरेर जानेबारेमा सहमति गर्नका लागि बसेको वाम गठबन्धन र राष्ट्रिय जनता पार्टी एवम् संघीय समाजवादी फोरमबीचको बैठक विना सहमति सकिएको छ।

राष्ट्रिय जनता पार्टी, नेपाल र संघीय समाजवादी फोरम नेपालले एमाले र माओवादीसँग राज्य पुनर्संरचना सहित संविधान संशोधन गर्नेबारेमा प्रतिवद्धता माग गरेपछि राष्ट्रियसभा निर्वाचनमा तालमेल गरेर जाने विषयमा सहमति हुन नसकेको हो।

राज्य पुनर्संरचना र संविधान संशोधन गर्नुपर्ने प्रस्तावका कारण राष्ट्रियसभा निर्वाचन र सरकार गठनमा तालमेल गरेर जाने विषयमा सहमति जुट्न सक्ने अवस्था नदेखिएको एमाले नेता सुवास नेम्वाङले बताए।

मंगलबार एमालेको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको दोस्रो बैठकमा वाम गठबन्धनले प्रदेश २ मा सरकार बनाउन समेत सहकार्य हुने गरी राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने राजपा-फोरमलाई प्रस्ताव गरेको थियो।

उक्त विषयमा मंगलबार विहान र दिउँसो गरी दुई चरणमा बसेका बैठक विना निष्कर्ष टुंगिएका हुन्। विहानको बैठकमा सकरात्मक देखिएका राजपा र फोरमले दिउँसोको बैठकमा भने राज्य पुनर्संरचना सहित संविधान संशोधनका लागि प्रतिवद्धता माग गरेका थिए।

राजपा नेता वृशेषचन्द्र लालले राज्य पुनर्संरचना आयोगको प्रतिवेदन अनुसार संविधान संशोधन गर्न वाम गठबन्धनबाट प्रतिवद्धता आउनुपर्ने प्रस्ताव गरेको जानकारी दिए। आफूहरुले मागे अनुसारको प्रतिवद्धता नआएकोले सहमति हुन नसकेको र सहकार्य गरेर जान सकिने अवस्था नआएको लालले बताए।

बैठकमा वाम गठबन्धनमा आवद्ध एमाले र माओवादी केन्द्रका नेताहरुले संविधान संशोधन आवश्यकता र औचित्यको आधारमा हुने बताएका थिए।

बैठकमा एमालेबाट नेता नेम्वाङ र अग्नी खरेल, माओवादी केन्द्रबाट रामबहादुर थापा, वर्षमान पुन र मातृका यादव सहभागी थिए। राजपाबाट सर्वेन्द्रनाथ शुक्ला, रामनरेश यादव, वृजेषचन्द्र लाल तथा संघीय समाजवादी फोरम, नेपालबाट राजेन्द्र श्रेष्ठ लगायतका नेताहरु सहभागी थिए।

बुधबार राष्ट्रियसभा निर्वाचनको उम्मेदवारी दर्ता गर्ने कार्यसूची रहेको छ।

यो पनि पढ्नुहोस् : 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.