|

बाँके : माघ ११ देखि २२ गतेसम्म नेपालगंजमा आयोजना हुन लागेको प्रादेशिक महोत्सव– ७४ को तयारी अन्तिम चरणमा पुगेको नेपालगंज उद्योग वाणिज्य संघले जनाएको छ। 

महोत्सवको उद्घाटन पूर्व प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने कार्यक्रम तय भएको संघले जनाएको छ। उक्त समारोहमा हेलिकोप्टरबाट पुष्प वर्षा गरिने भएको छ। 

उद्योग वाणिज्य संघको विशेष आग्रहमा महोत्सव उद्घाटन गर्न प्रचण्ड नेपालगंज आउने नेपालगंज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले बताए।महोत्सवको तयारीका बारेमा जानकारी दिन मेला परिसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महोत्सव आयोजक मूल समितिका संयोजकसमेत रहेका वैश्यले महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए। 

महोत्सवमा २६० वटा व्यावसायिक स्टलका अलावा पाँच कृषि, चार जडिबुटी, १४ अटोमावाइल्स, २२ रेस्टुरेन्ट र १६ विदेशी स्टलसहित कुल ३२१ स्टल रहने आयोजकले जानकारी दिएको छ। महोत्सवमा बाल उद्यान, रोटेपिङ, जादूलगायतको समेत व्यवस्था गरिएको छ। 

संघीय संरचना कायम भएपछि पहिलो पटक नेपालगंजमा हुन लागेको प्रादेशिक महोत्सवबाट संकलन भएको रकम बहुउद्देश्यीय सभागृह तथा प्रदर्शनीस्थल निर्माणमा खर्च गरिने भएको छ। 

‘कृषि, जडिबुटी, पर्यटन, सूचना प्रविधि, उद्योग र व्यवसायको प्रवद्र्धन र रोजगारी, प्रादेशिक महोत्सव– २०७४ को चिनारी’ भन्ने मूल नाराका साथ आयोजना हुने महोत्सवका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको नेपालगंज उद्योग वाणिज्य संघका महासचिव तथा सचिवालय व्यवस्थापन समितिका संयोजक अजयकुमार टण्डनले जानकारी दिए। 

उनले महोत्सवबाट एक करोड रुपैयाँ बढी रकम बचत गर्ने लक्ष्य लिइएको बताए। पाँच लाख बढीले महोत्सवको प्रत्यक्ष अवलोकन गर्ने बताउँदै टण्डनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्पादनको प्रवद्र्धनमा महोत्सवले महत्त्वपूर्ण भूमिका खेल्ने दाबी गरे। महोत्सवलाई व्यवस्थित बनाउन र दर्शक तथा व्यापारीको सुरक्षाका लागि महोत्सव परिसरमा २४ वटा सीसी क्यामरा जडान गरिएको महासचिव टण्डनले जानकारी दिए। ‘सीसी क्यामराको सहायताबाट महोत्सवमा भइरहेका गतिविधिको अवलोकन गर्ने व्यवस्था मिलाइएको छ’, उनले भने। 

महोत्सव उद्घाटन समारोहअघि नेपालगंज नगरका विभिन्न क्षेत्रबाट सांस्कृतिक झाँकीसहितको कलश यात्रा निकालिने भएको छ। झाँकीमा हात्तीलाई समेत सहभागी गराइने भएको छ। महोत्सवमा अमेरिकी व्याण्डका कलाकारले समेत विशेष प्रस्तुति देखाउने भएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.